गेथाती

कथा : सग्लो जूनमा देख्छु उनको रूप


१९ फाल्गुन २०८०, शनिबार

हिउँदकोको जाडो मौसम थियो । घाम अस्ताउनै लागेको उदास-उदास सन्ध्या । घाम प्यारो हुँदाहुँदै पनि पश्चिमतिरका अग्ला-अग्ला लेकहरूसँग बूढो घामले बिदा मागिरहेको थियो । मानौँ कि कसैको जीवनबाट कोही गइरहेको छ । जलजला पहाडमा सेताम्य हिउँ फुलेको थियो । उत्तरबाट मुटु छुनेगरी चिसो बतास चलिरहेको थियो । मानौँ कि झिसमिसे साँझमा कसैको मीठो सम्झना लिएर आइरहेको छ । नाङ्खार[1]मा गाउँलेहरूको चहलपहल खासै थिएन । मकै अन्न भित्र्याएपछि बारीमा गहुँ, जौ छरेर वस्तुभाउसँग माथि खर्कतिर उक्लिसकेका थिए ।  घरको आँगनमा माउका चल्लाहरू च्यु… च्यु… च्यु… च्यु… गर्दै पिरुङ्गो माथि उफ्रिँदै खस्दै गरेका थिए । घरछेउको निगालो झ्याङमा जुरेली चरी कटक्कै मन खाने आवाजमा बेस्सरी कराउँदै थियो । यस्तो लाग्ने कि उसको प्रिय जोडी सिकारीको पासोमा अल्झिएर छुट्यो कतै । खासैबाङ्गी माइला पागो[2] घरको कौसीमा बसेर सुल्पा तान्दै एकोहोरो टोलाएर बस्नुभएको थियो । मनले कसैलाई पर्खिरहेजस्तो । नयनले कसैलाई खोजिरहेजस्तो । पख्नुस् है पागो किन टोलाउनुभएको हो म तपाईंलाई एकैछिन पछि सुनाउँछु ल !

गाउँ उस्तै छ, ठाउँ उस्तै छ । गुराँस फुल्ने पाखापखेरीहरू उस्तै छन् । हाङवै फूल्ने भीरहरू उस्तै छन् र उस्तै छन्, जिला र गन्ध फुल्ने धुरीहरू । तर आफ्नै गाउँ पनि नौलो-नौलोझैँ लाग्ने, आफ्नै घरमा आफै पाहुना गइरहेझैँ लाग्ने, एक वर्षपछि पोखराबाट म बल्ल घर फर्किँदै थिएँ । प्रिय मनहरूसँग केही समय सुखदुःखका कुरा बाँड्ने जम्बो सपना बोकेर । दाङबाट सहिदमार्ग हुँदै रोल्पाको कुरेली, मिरुल र थबाङ पुग्न पनि दिनभरि लाग्ने गाँठे ! कहिले पो पक्की बाटो बन्छ र सजिलो हुन्छ ।

नेपालमा सरकारी कम्पनीहरू खासै छैनन् ।  ठूला-ठूला कम्पनीहरू सबै प्राइभेट छन् ।  पोखराको एउटा प्राइभेट कम्पनीमा काम गर्छु, मजदुर हुँ ।  समयमा छुट्टी कहिल्यै मिल्दैन । न तलब समयमा पाइन्छ । नेपालमा श्रमिकहरूको सम्मान छैन । कुनैकुनै प्राइभेट कम्पनीहरूले त झन् नेपाल सरकारले टोकेको न्यूनतम पारश्रमिक पनि नदिएर एकदम कम तलबमा काम लगाउने गर्छन् । श्रम कार्यालयका कतिपय हाकिम र कर्मचारीहरू कानमा तेल हालेर बस्छन् । महङ्गीले आकाश छोइसक्यो तर मजदुरहरूलाई सीपअनुसारको पारश्रमिक दिँदैनन् । हाम्रो देशमा व्यवस्था फेरिएको छ तर विडम्बना भन्नुपर्छ अवस्था अझै फेरिएको छैन । आम नागरिकहरूको समस्या उस्तै छ । मजदुरहरूको दैनिकी र जिन्दगी साह्रै कष्टकर छ । गरिबका कयौं सपनाहरू हत्या हुन्छन् । फूलजस्तै चुडिन्छन्, सिसाजस्तै टुक्रिन्छन् । चाडपर्वको समय आँगनमा बच्चाहरू पुतलीझैँ खुशीले नाच्न पाउँदैनन् । उफ्… कहिलेकाहीँ सम्झेर ल्याउँदा एक्लै रुन मन लाग्छ । हत्तेरिका म पनि कस्तो मान्छे है आफ्नै कुराहरूमा पो भुल्दै रहेछु क्यारे । सुन्नेहरूले फेरि यो त बौलाएछ भन्लान् ।

अँ साँच्चै मैले खासैबाङ्गी माइला पागोको कुरा गर्दै थिएँ नि है ? माइला पागोको खास नाम त ‘युङचाउ पुनमगर’ हो तर उहाँको गाउँको नाम खासैबाङ भएको कारण सबैले खासैबाङ्गी माइला भनेर चिन्छन् । उहाँको गाउँ मिरुल ठूलो गाउँदेखि अलि तल पर्छ । खासैबाङ मगर खाम भाषा हो । खासैबाङको अर्थ ‘ओखरचौर’ हुन्छ । पागोको जीवनसङ्गिनी माइली मागो[3] यो संसारमा हुनुहुन्न । गत बर्खामै महाप्रस्थान गरिसक्नुभयो । टाइफाइड र दमको रोगी हुनुहुन्थ्यो । बर्खा यामको मनसुनले गर्दा ठाउँ ठाउँमा पहिरो खसेर एक महिनासम्म मोटर बाटो बन्द भएछ । बोकेर सदरमुकाम लिबाङमा रहेको जिल्ला अस्पतालतिर लैजाँदै गर्दा आधी बाटोमै मागोको परान गएछ । मागो बित्दा म पनि आउन पाएन । नजिकमा राम्रो अस्पताल छैन । गाडी चल्ने बैकल्पिक मोटर बाटो पनि छैन । दुर्गम बस्तीका थुप्रै जनताहरूले अकालको मृत्यु स्वीकार्नुपर्छ । मौसमको आँसु जमेका सडकहरूमा दीनदु:खीहरूले आँसु मिसाउँदै हिँड्नुपर्ने विवशता छ ।

कौसीमा बसेर टोलाइरहेको माइला पागोलाई आगँनको डिलमा उभिएर बोलाएँ, “पागो ए पागो ।”[4] आधी रातको ऐठनबाट ब्युँझे जसरी हिक्क गर्दै झस्किनुभयो र मतिर हेर्दै भन्नुभयो, “ए… त आज बल्ल आइपुगिस् ?”

“अँ आज आइपुगेँ पागो । ‘जेदो है पागो’[5] ।”, पागोको खुट्टा छोएर धोग दिँदै भनेँ, “फूलबारीलेकको निधारबाट घामको टीका हराइगयो । गोसाङभीरको जङ्गलबाट आउने चराचुरुङ्गीहरूको चिर्बिराहट बन्द भइगयो । दयाथाम र राँपाथामका खर्कहरूमा भेडा बाख्रा फर्किसके । अब एकैछिनपछि आकाशमा जून, तारा उदाउने छन् । यतिबेलासम्म तपाईं किन बाहिर बसिरहनुभएको छ ? चिसो बढिरहेको छ । अब त भित्र जानुस् न ।”

पागोले मतिर पुलुक्क हेर्दै भन्नुभयो, “थैके छोर्‍या[6], अचेल घरभित्र पनि जानै मन लाग्दैन । मेरो लागि यो खासैबाङ र जीवनको उज्यालो जून तेरो मागो नै थिइन् तर उनी मेरो जीवनबाट चाँडै अस्ताइसकिन् । अचेल उनीविना यो धर्ती अन्धकारझैँ लाग्छ । यो घर घरजस्तै लाग्दैन । ऊबेलाको जमानामा म तँजस्तो धापा[7] हुनेबेला बूढापाकाले भनेको सुन्याथेँ, ‘लोग्ने मान्छे त केवल आइमाईको छेकबार मात्रै हो, घर चलाउने र घरको सोभा बढाउने त आइमाई नै हुन् ।’ साँच्चै जीवनको उत्तरार्धमा आइपुगेर बूढापाकाले भनेको यो भनाइ आज घाँटीमा आएको छ । एउटा पुरुषको जीवनमा एउटा असल महिलाको भूमिका महत्त्वपूर्ण हुँदोरहेछ । हेर् न केटा तेरो मागो गएदेखि मेरो हृदयको आकाशमा खुशीको दीयो निभेको छ । घरको शोभा हराएको छ । आँगनले कुचो पाएको छैन । चिसिएको चुलामा आगो बलेको छैन । घर शून्य लाग्छ केवल शून्य । मसँग दुखुमसुखुमको बात मार्ने मान्छे छैन । हिजो तेरो मागोको एक मुस्कानले हजार दु:खहरूलाई जितेको थिएँ । आज आफैसँग हारिरहेको छु । कहिलेकाहीँ मध्यरातको सपनीबाट ब्युँझेर सिरानीलाई भन्छु, ‘तँ पनि कति अभागी रहेछस् है’ । सधैँ यो अभागीको आँसु पिउनुपर्ने ।”

बहकिँदाबहकिँदै पागोको आँखाबाट आँसुको बर्षा आफ्नो अगाडि राखेको बासामाथि बरर…बर्षियो…। गालाको नहर हुँदै बगिरहेको आँसुको नदीलाई हातका औँलाहरूले बाटो छेकिदिनुभयो, र बासाबाट कक्कर निकालेर सुल्पा भर्दै फेरि कुरा थप्नुभयो, “यो बासा पनि तिम्रै मागोले सिएकी हुन् । एउटा उनको चिहानमाथि राखी छाडिदिएँ । यो एउटा उनको चिनो राखेको छु । पहिले तेरो मागो कतै टाढा काममा गई भने साँझ घर नफर्किँञ्जे सम्म यही कौँसीमा बसेर बाटो हेरिरहन्थेँ । घरमा आएर खुब कराउँथिन् । भित्र पसेर आगो त बाल्दै गर्नुपर्छ । मेरो बाटो हेरेर किन बसिरहनु ? म नहुने हो भने तिमी त हराउँछौ बो भन्थिन् । आज आफूसँग आफै हराएको छु । आफ्नै मनसँग हराएको छु । आफ्नै आँगनमा हराएको छु । साउन महिनामा हो । बिरामीले च्याप्दै लगेपछि पारि गाउँको माझघरे साइँला दाइका छोराहरूलाई भनेर डोकोमा बोकेर लैजाँदै थियौँ । बर्खाको समय सिमसिम पानी परिरहेको थियो । माथि तिलाधुरीमा पुगेपछि मलाई एकछिन यहीँ बसाल भनिन् । बाटो माथिको धुपी सल्लाको ओटमा बसाल्यौँ । बूढी बिहान खाना पनि खाएनौ लौ थोरै पानी पिउ है भनेर पानी दिएँ । उनले टाउको हल्लाएर पानी नपिउने अस्वीकार गरिन् । सायद उनको ज्यानले हार मानेर होला कतै टाढातिर केही प्रिय चिज नियाले झैँ केही बेर आँखा डुलाइन् र मतिर हेर्दै भनिन्, ‘बूढो म त अस्पतालसम्म पनि पुग्छु कि पुग्दैन । अब गएँ भने जान्छु नभनेर जाने छु । कौसीमा बसेर अबेरसम्म नकुर्नु मलाई म फर्कि आउने छैन । तिम्रो आँखाबाट म छुट्ने छु । मेरो आँखाबाट तिमी छुट्ने छौ । यदि मैले भनेको मान्छौ भने मेरो मृत्युमा धेरै नरुनु । तिमी सम्हालिन सकेनौ भने मलाई सतिगति कसले गर्ला र । गाउँका सबै इष्ट मित्रहरूलाई सम्झना छोडी गयो भन्दिनु । हाम्रो छोरो छैन । भतिजोहरूले यहाँसम्म बोकेर ल्याए । यो भार तिमीले नै तिरिदिनु । अर्को जुनी लिइन्छ भन्छन् । साँच्चिकै अर्को जुनी हुन्छ भने र त्यस जुनीमा पनि मान्छेकै जुनी लियौँ भने फेरि हाम्रो मिलन हुनेछ  । छोरीलाई…छोरी….’ छोरीको बारेमा केही कुरा भन्न खोज्दाखोज्दै मेरो काखमै उनको परान गयो । उनलाई काखमा राखेर बेस्सरी रोएँ । साउन महिनाको भेलभन्दा पनि बेसी बग्यो होला आँसु । रुँदारुँदै फेरि सम्झिएँ केही पल अघि उनले भनेका शब्दहरू ‘मेरो मृत्युमा तिमी धेरै नरुनु । तिमी सम्हालिन सकेनौ भने मलाई सतिगति कसले गर्ला’ । म सम्हालिने प्रयास गरेँ । फर्काएर घर लगे पनि आखिर लानुपर्ने वनैमा हो, भौतिक रुपले त हामी छुट्टिसक्यौँ । अन्तिम बिदा मागेर गइसकिन् उनी । अब मैले मृत्यु संस्कारबाट बिदाई गर्ने काम बाँकी रह्यो । केटाहरूलाई  गाउँका सबैलाई यतै बोलाउनु भनेर फोन गर्न लगाएँ । दिन ढल्किने बेला सबै गाउँलेहरू, माइती पक्षका इष्टमित्रहरू मृत्यु संस्कारमा चाहिने सामानहरू लगेर गइपुगे र उतै विसर्जन गरेर फर्कियौँ, मेरो आधा मुटु । तिलाधुरीको उतापट्टी ह्वामातिर सानो पाखा छ नि? केटा हो त्यहीँ ठाउँमै छ तेरो मागोको चिहान । आजभोलि उतै फर्केर भन्छु । ओई… बूढी तिमीलाई मेरो माया पनि लाग्दैन ? छिटो लिन आउन मलाई पनि, तर ‘पोहन’[8] टुटि आए पो लिन आउला । पहिले कहिलेकाहीँ ठट्टैठट्टामा कुरा गर्दा मैले भन्ने गर्थेँ । तिमीभन्दा पहिले म मर्नुपर्ला । उनले भन्थिन्, होइन तिमीभन्दा पहिले म पो मर्नुपर्ला किनकि ममा तिम्रो मृत्यु हेर्नसक्ने हिम्मत हुनेछैन । आज कालले उनको कुरा सुन्यो । मेरो कुरा सुनेन । उनले जितिन् । मैले हारेँ ।”

कुनै महान् साहित्यकारले लेखेको बहुचर्चित वियोगान्त उपन्यास कुनै रेडियोको लोकप्रिय साहित्यिक कार्यक्रममा कुनै प्रस्तोताको कोमल आवाजमा सुनिरहेझैँ पागोको वास्तविक जीवन कहानी सुनिरहेँ परेलीहरू भिजाउँदै…। पागो अहिले घरमा एक्लै हुनुहुन्छ । उहाँका दुई सन्तान हुन् । एक छोरा र एक छोरी । उमेरले दुबैजना मभन्दा जेठो हुन् । दिदीको पूर्वी रुकुमको महत गाउँमा बिहे भएको छ । दाइ बेपत्ता छन् । त्यसबेला म सानै थिएँ । २०५३ साल चैत्र महिनाको अन्तिमतिर हो अरे । रानागाउँ प्रहरी चौकीबाट आएका पुलिसहरूले लगेका हुन् अरे । 

पागो भन्नुहुन्छ, “तेरो दाइ भएको भए यतिबेला नातिनातिना खेलाउँदै बस्थेँ । के गर्ने पापीहरूले लगिहाले । साँझ अँध्यारो भइसकेको थियो । हामीले भर्खर खाना खादैँ थियौँ । त्यसैबेला पुलिसहरू यो घरमा को छ ? भनेर कराउँदै भित्र पसे । मैले कोही पनि छैन हजुर हाम्रो परिवार मात्रै छौँ भने तर उनीहरूले कहाँ पत्याउँछन् र । सा…ला  माओवादीहरू लुकाएर अझ कोही छैन भन्छस् भन्दै घर खानतलासी गर्न थाले । तेरो दाइले  लिबाङ सदरमुकाम नुन बोक्न जानेबेला एउटा सुर्के झोला लिएर आएको थियो । त्यही सुर्के झोलाको निहुँ पारेर तेरो छोरा माओवादी रहेछ । यस्तो झोला त माओवादीहरूले पो बोक्छन् भनेर खाना खाँदाखाँदै छोरालाई हातबाट तान्न थाले । छोराले म माओवादी होइन सर । यो झोला त गाउँघरतिर बेठबाहुर गर्दा, गोठालो बस्दा खाजा र नाम्लो बोक्न सजिलो हुन्छ भनेर लिएको हुँ भन्दा पनि अझ झुट बोल्छस् भन्दै जबर्जस्ती घिसार्न थाले । उसको आमाले पनि दुई  हात जोडेर मेरो छोरा माओवादी होइन हजुर नलगिदिनुस् न भनेर अनुनय विनय गरे तर निर्दयीहरूको हृदय कहाँ पग्लियो र । घरबाट घिसार्दै-घिसार्दै बाहिर निकाले । छोरी सानै थिइन् । डरले कुनामा बसेर थुरथुर काँप्दै थिइन् । बुढी छोरा…मेरो छोरा… भनेर रुँदारुँदै भित्रै मुर्छा परिन् । म तिनीहरूको पछिपछि मेरो छोरालाई छोडिदिनुस् हजुर भन्दै चिच्याउँदै पर घरको कुहिनोसम्म पुगेँ । तर राक्षसहरू मेरो कुरा पनि कहाँ सुने र । उल्टो एकजना पुलिसले मेरो छातीमा ड्याम्म बन्दुको कुन्दाले हिर्काउँदै भन्यो अ… बूढो मान्छे फर्केर जा नत्र तँलाई पनि लिएर जान्छौं । त्यसपछि म दुखेको छातीमा हातले समाउँदै फर्किएँ । छोरालाई झुठो हातसँगै लटार्दै लगे । त्यसदिनदेखि तेरो दाइ बेपत्ता छ । न लास भेटेको खबर आयो न सास भेटेको खबर ।

कहिलेकाहीँ छोरी आएर ‘मेरो घरमा जाम्’ बाबा भन्छे । म पाल्छु भन्छे । मलाई भने उनी बसेको घर, उनी बसेको भूगोल छोडेर जान पटक्कै मन लाग्दैन अनि तेरो दिदीलाई भन्छु, तेरी आमालाई एक्लै छोडेर म कसरी जान सक्छु र छोरी ? तेरी आमाका सारा सम्झनाहरू यतै छन् । जब जाँतोको हतासो समाउँछु तब उनका मुलायम हातहरू सम्झन्छु । जब भारको धैसो टाउकोमा खस्छ तब मायालु पाराले प्याट्ट हानेझैँ लाग्छ । जब डोको र नाम्लो देख्छु तब आँखाको पर्दामा सुस्केरा तान्दै आँगनमा झुल्केको देख्छु । जब रिगैखोला सुसाउँछ तब उनको मधुर गुञ्जन कानमा टुपुलुक्क आइपुग्छ । उनी साथमा नभए पनि यादमा त छिन् । म त्यही यादहरूसँग बाँचिरहेको छु । पागोको ओठमा अलिकति बनावटी मुस्कान झलक्क झुल्कियो ।

अहो…. भतिजो झमक्क रात परिसकेछ । मेरो कुरामा तँ अल्झिएर बसिस् कि मैले अल्झाई बसाएँ…? तर तँसँग पोखिएर मेरो मन हलुँगो भयो । हेर् न केटा ऊ… माथि सग्लो जून पनि उदाइसकेछ । तेरो मागोलाई त्यही जूनमा हेर्नेगर्छु । अब फेरि मलाई कराउँछ । छिटो खाना पकाएर खान छोडि भतिजोसँग गफिएर किन बसेको लाटा भनेर । यतिबेला घरमा तेरो बाआमाले बाटो हेर्दै होलान् । आज त म पनि तेरो ‘खङतिन’[9] अलिकति खाना पो जान्छु ।”

त्यसपछि पागो र म लाइट बालेर मेरो घरतिर लाग्यौँ । मनमनै सम्झी हिँडे साँच्चै मानिसहरू त्यसै भनेका होइनरहेछन्, ‘ढुङ्गाको भर माटो, माटोको भर ढुङ्गा’ ।

०००


[1] गाउँ

[2] ठूलोबुवा

[3] ठूलीआमा

[4] ठूलोबुवा ए ठूलोबुवा

[5] धोग गरेँ है ठूलोबुवा

[6] सुन् केटा

[7] तन्नेरी

[8] सास/प्राण

[9] लामो समयपछि टाढाबाट आउने घरको कुनै सदस्यको नाममा बनाइएको जाँडरक्सी

TAGS: कथा नेपाली कथा