तिम्रो आँगनीमा
सपनाका फूलहरू फुलाउँछु भन्दै
मौसमी हुरी आउँदैछ भोटबहादुर,
यसलाई केवल आउन र जानदेऊ
कथमकडाचित उसैसित आफूलाई उडायो भने
यो फर्किँदासम्म –
तिम्रा रैथाने बाह्रमासे फूलहरू
भाँचिएका, ओइलिएका हुनेछन् भोटबहादुर
किनकि तिमी हुरी होइनौ
उसैसँग उडरे जानसक्ने,
सक्छौ त केवल हुरीसँगै उजाडिन ।
भोटबहादुर,
तिम्रो बासस्थानमा
आश्वासनको पुलिन्दा लिएर
एउटा गुलियो कारिन्दा आउँदैछ, भोटबहादुर ।
पुलिन्दा पुलिन्दैमा रहनदिनू
पुलिन्दा पुलिन्दैमा रहनदिनू
तिम्रो चुल्हो र मझेरीमा पाइला टेक्न नदिनू
नत्र यो फर्किँदासम्म –
बस्नलाई जेल र लगाउनलाई नेल आइसक्नेछ;
किनकि तिमी सरकारी कारिन्दा होइनौ भोटबहादुर ।
भोटबहादुर,
तिम्रो किनारमा समुद्रको सपना लिएर
उर्लिदै कुर्लिदै एउटा भेल हामफाल्दै नजिकिदैछ,
यसलाई उसगैरी बग्नदिनू
जसरी पहोरपरारको भेलापहिरो बहुलिएर बग्थे;
भोटबहादुर तिमी पनि उसैसँगै
नौका र लौरी भई बौलियो भने
तिम्रा सुन्दर किनाराहरू
कुरूप बगर हुनेछन्
किनकि तिमी बहुलिने भेल नभएर
तिर्खा मेट्ने तिरतिरे धारो हौ, भोटबहादुर
तिर्खा मेट्ने तिरतिरे धारो हौ, भोटबहादुर ।
भोटबहादुर,
सम्बन्ध नाममा
गोरु बेचेको साइनो लगाउँदै
नोटबहादुरका झुण्डहरू
राता, हरिया, सेता, नौरङ्गी मुखुण्डोमा
दूधेभाइहरूलाई रङ्ग्याउँदै
रङको आधारमा
रसालु नसालु चिप्लेसी लगाउनेछ्न् भोटबहादुर;
होसियार भोटबहादुर
जिउँदाका जन्ती
मर्दाका मलामीमा चाहिने सबन्ध जोगाउँदै
होलीपर्वका बिहान लगाई साँझ पखालिने रङझैँ सम्झनू
यी रङहरूलाई जन्मजात पुस्तेनी खुनीरङमा
कहिल्यै नरङ्ग्याउनू भोटबहादुर
यी रङहरूलाई जन्मजात पुस्तेनी खुनीरङमा
कहिल्यै नरङ्ग्याउनू भोटबहादुर
तिम्रै आफ्नै भाइचाराको
कमलो हृदयको रङ
सबैभन्दा महान रङ हो भोटबहादुर;
सबैभन्दा महान रङ हो भोटबहादुर ।
०००
