चालिस कटेको छैन
लाग्छ तर, जीवनको उत्तरार्धमा छु
सायद असिनाले पनि
पहिले फूलबारीकै फूल झार्छ ।
समयको केही प्रहरमै
पौन छुटेर जान्छ देहसँग
जसरी छुटेर जान्छ– पत्र वृक्षसँग ।
भेटिनु–छुटिनु
आउनु–जानु
उडाउनु–अस्ताउनु
थाहा छ साश्वत सत्य हो
निभाउनैपर्छ– रीत हो ।
अन्तिम पथ त्यो
अन्तिम गन्तव्य त्यो
हिँड्नैपर्छ, जसरी हिँडे पूर्वजहरू
पुग्नैपर्छ, जसरी पुगे पितृहरू ।
म, कसैको मित्र,
म, कसैको शत्रु
भार–सहारा, चेला–गुरु.. डट डट
निर्मम छ समयको प्रथा
ढोकाको चेपमा ढुकेर बसेको मृत्यु
लान्छ जब हरेर प्राण
हाँस्ने छन् घृणा गर्ने ओठहरू
रूने छन्, माया गर्ने आँखाहरू ।
जब म मर्छु,
जिवित छँदा बैरी ठान्नेहरू
मेरो लासमाथि फूल चढाउने छन्
म बाँचुन्जेल गाली गर्दै फिर्नेहरू
तारिफको वर्षा गर्ने छन्,
एक घुट्को पानी नदिने सन्तानले पनि
खिरको मिठो पिण्ड दिनेछन् ।
म चाहन्छु, मेरो मृत्यु
स्वाभिमानी होस्, बलिदानी होस्
ओजस्वी होस्, पहाडझैँ गह्रुङ्गो होस्
मलाई मन पराउने
ओ ! प्रिय,
म अन्तिम इच्छा राख्छु,
मेरो लासमाथि फूल होइन
देशको झण्डा होस्
र मेरो शवयात्रामा देशले रोओस् ।
०००
