गेथाती

पोखरामा ‘साहीमासा’ परिचर्चा


३१ श्रावण २०८३, आईतवार

यही २०८३ साउन ३० गते शनिवार पोखरामा कवि समीप बैरागीको कवितासङ्ग्रह साहीमासाको परिचर्चा गरिएको छ । न्यूरोडमा रहेको हिमालयन रिडर्स कर्नरको सभाहलमा साहीमासाको परिचर्चा गरिएको थियो ।
र्‍यान्डम रिडर्स सोसाइटी नेपालको आयोजनामा भएको उक्त परिचर्चा कार्यक्रमको स्वागत मन्तव्यमा बोल्दै र्‍यान्डम रिडर्स सोसाइटी नेपालका उपाध्यक्ष नेपाल प्रकाश अधिकारीले हरेक महिनाको अन्तिम शनिवार नियमित रुपमा हुँदै आएको १२९ औँ शृङ्खलामा रोल्पाली स्रष्टा कवि समीप बैरागीको सुन्दर कविता कृतिको परिचर्चा गर्ने शुभअवसर संस्थालाई प्राप्त भएकोमा खुशी व्यक्त गरेका थिए ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य दीपक समीपको विशेष आतिथ्यमा भएको परिचर्चा कार्यक्रममा साहित्यकार विपिन आचार्यले ‘साहीमासा : क्रान्ति, सपना र श्रमको गीत’ शीर्षकको अवधारणापत्र प्रस्तुत गरेका थिए । श्रम र वर्गीय चेतनाको स्वर, प्रेम प्रकृति र मानवीय संवेदनाको आयाम, जनयुद्ध राजनीति चेतना र परिवर्तनको आकाङ्क्षा, मगर संस्कृति स्थानीय जीवन र साँस्कृतिक क्षय, वैदेशिक पलायन र नेपाली युवाहरूको जीवन सङ्घर्ष, परिवर्तनपछि पनि अपेक्षित नबदलिएको जनजीवन, प्रकृति पर्यावरण र पूँजीवादी दोहन, साहीमासाको समग्र काव्यिक अवधारणा, गरी ८ वटा खण्डमा अवधारणापत्र तयार बनाएका थिए । परिचर्चाकारले अवधारणापत्रमा उल्लेख गरेका छन्, ‘सङ्ग्रहको भौगोलिक आधार रोल्पा, रुकुम तथा मगर समुदायको जनजीवन भए पनि यसको विषयगत दायरा त्यसभन्दा धेरै व्यापक छ । यहाँको स्थानीयता क्रमशः राष्ट्रिय यथार्थमा बिस्तार हुन्छ । मगर संस्कृतिको साहीमासाबाट सुरु भएको कविताको यात्रा अन्ततः सम्पूर्ण नेपाली युवाहरूको प्रेम, श्रम, पीडा, विस्थापन, सङ्घर्ष र परिवर्तनको आकाङ्क्षासम्म पुगेको छ । यस कृतिले नेपाली साहित्य जगतमा श्रीवृद्धिको इँटा थपेको छ । एतिहास र वर्तमानको सङ्गममा उभिएर सिर्जना भएको यस कृतिले भविष्यका सकल मनहरुलाई उज्ज्वल मार्गको खाका कोर्न सफल पाठ हुनेछ ।’
साहीमासा कवितासङ्ग्रहमा आधारित अवधारणापत्र प्रस्तुतपछि अवधारणापत्र र कवितासङ्ग्रह माथि कवि, लेखकहरू बीच वृहत् रुपमा बहस भएको थियो । उक्त बहसमा स्रष्टाहरू कमल, गौरी तमु, एस.बी. थापा मगरलगायतले आफ्ना जिज्ञासा र प्रश्नहरू राखेका थिए । बहसमा उठेका प्रश्नहरूको जवाफ दिँदै कवि समीप बैरागीले साहीमासामा सङ्गृहित कविताहरू उनको जीवनदेखि टाढा नभएको बताएका थिए । कविले देखेको समाजको यथार्थ घटनाहरूको साक्षी र उनले छिचोल्दै आएका कहालीलाग्दा समयहरूलाई नै कवितामा उतारेको सुनाएका थिए । कविले साहीमासाको अर्थ विशेषगरी १८ मगरात क्षेत्र रोल्पा, रुकुमलगायतका मगर समुदायमा विवाह गर्नुभन्दा पहिले केटाले केटीलाई दिने रकमलाई नै साहीमासा लाउने दिने भन्ने गरिएको बताएका छन् ।
सोही कार्यक्रममा लामो समयदेखि पोखरालाई कर्मथलो बनाएर बसिरहेका रोल्पालीहरूको साझा संस्था ‘रोल्पा पोखरा सम्पर्क समाज’ले कवि समीप बैरागीलाई सम्मान गरेको थियो ।
थबाङ गाउँपालिका ३, मिरुल, दाइपो, रोल्पा निवासी कवि समीप बैरागी वि.सं. २०४५ सालमा बुवा गोविन्द झाँक्री मगर र आमा सुनमाया झाँक्री मगरको जेठो सन्तानको रूपमा जन्मिएका थिए । साहित्य क्षेत्रमा समीप बैरागी नामले परिचित बैरागीको वास्तविक नाम भने टङ्कबहादुर झाँक्री मगर हो । उनी लामो समयदेखि कवितामा साधना गरिरहेका छन् ।
समीप बैरागीले मगर आदिकवि स्वर्गीय जितबहादुर सिंजाली मगरको नाममा स्थापित जितबहादुर सिंजाली मगर प्रतिष्ठानले वितरण गर्दै आइरहेको जिबसिम नव प्रतिभा साहित्य पुरस्कार २०७१, तत्कालीन सम्माननीय सभामुख ओनसरी घर्तीमगरको हातबाट ग्रहण गरेका थिए, भने बर्दघाट प्रज्ञा–प्रतिष्ठानले २०८० मा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय कविता प्रतियोगितामा प्रथम भएर पुरस्कृत भएका थिए । सोही वर्षमै नेपाल प्रज्ञा–प्रतिष्ठान काठमाडौँले आयोजना गरेको राष्ट्रिय कविता महोत्सव २०८० मा सर्वोत्कृष्ट १० मा छनोट भएर सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सम्मानित भएका थिए । साहित्यपोस्टमा २०८० सालभरि प्रकाशित भएका पर्या कविताहरूमध्ये उनको कवितालाई दोस्रो स्थानमा छनोट गरेर नवौँ वातावरण साहित्य गोष्ठीमा तत्कालीन सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीको हातबाट पुरस्कार र प्रमाणपत्र दिइएको थियो । त्यसका साथै २०८२ मा नेपाल आदिवासी जनजाति महासङ्घ, गणतन्त्र कोरियाले आयोजना गरेको विश्वव्यापी खुल्ला आदिवासी कविता प्रतियोगितालगायतका थुप्रै प्रतियोगिताहरूमा सहभागी भई विभिन्न स्थानहरू हासिल गरेर पुरस्कृत भएका छन् भने विभिन्न सङ्घसंस्थाहरूद्वारा सम्मानितसमेत भएका छन् ।
कवि समीप बैरागी दशवर्षे सशस्त्र जनयुद्धमा जलजला साँस्कृतिक परिवार रोल्पामा आबद्ध भएर लामो समयसम्म साँस्कृतिक मोर्चामा काम गरेका थिए । शान्ति सम्झौतापछि उनले रेडियो जलजलामा कार्यक्रम प्रस्तोताको रूपमा पनि काम गरेका थिए ।
यसअघि बैरागीका मगर खाम भाषा र खस् नेपाली भाषा गरी आधा दर्जनभन्दा बढी कृतिहरू बजारमा आएका छन् । पछिल्लो समय प्रकाशन भएको उनको कवितासङ्ग्रह साहीमासा नेपाली भाषाबाट एकलसङ्ग्रह हो । यस कवितासङ्ग्रहलाई रोल्पा कला साहित्य प्रतिष्ठानले प्रकाशन गरेको छ भने दोबिल्ला बुक्स प्रा.लि. काठमाडौँले वितरण गरेको छ ।
लेखक, कवि, कलकार, पत्रकार, राजनीतिज्ञ र समाजसेवीहरूको बाक्लो उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रमको सभाअध्यक्ष संस्थाका उपाध्यक्ष नेपाल प्रकाश अधिकारीले गरेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव ध्रुव केसीले गरेका थिए ।

TAGS: समाचार