तिमी आउँछौ नै यस्तै बेला
जतिखेर भत्किँदै हुन्छ– भोकको निधार
देख्दै हुन्छ आँखाहरूले– उज्यालो क्षितिज
सल्बलाउँदै हुन्छ– चौतारी र चोकहरू
कुर्दै हुन्छ घरआँगन– देश छोडेर गएका चराहरू
मुस्कुराउँदै हुन्छ– आँसुहरूको रित्तो बाटो ।
यसरी आइदिन्छौ कि
सम्झिएर नि अटाउन नसक्ने दुःखहरू
रोकेर नि नरोकिने छ्टपटाहट
हेरेर नि नसकिने शोकका दृश्यहरू
मेताएर नि बल्झिरहने अशान्त यादहरू
र देशले माग्दै नमागेको नि आपतविपत लिएर ।
सम्झिनू
खोसिए पनि सपनाहरू
पलाउँछन् चिहानबाट
गुमाए पनि केही थान हाँसोहरू
जोगाउनेछन् एउटा जिजीविषा
ढले पनि मुलखाबाहरू
सम्हाल्नेछन् आखिरी जीवनको लय
डुबाए पनि रहरहरू
बाँच्नेछन् बिस्तारै फर्किएका हाँसोहरू
आज तिम्रै निम्ति
मान्छे चढाइरहेछ फूल, पूजा र, धुपबत्ती
आखिर आइदिन्छौ यसरी बेखबर
सल्काएर भयानक दृश्य ।
०००
