गेथाती

कविता : आधा आकृति

दिपा मेवाहाङ राई
२२ भाद्र २०८३, सोमबार

भर्खरै मृत्यु भएको
चित्रकारको क्यानभासमा
उत्रिँदै गरेको आधा आकृति
जसको पूर्णता कहिल्यै हुनेछैन ।

जस्तो कि बतासको झोक्का
कहिले यता बहन्छ
कहिले उता बहन्छ
जसको कुनै स्थिर गन्तव्य छैन ।

जस्तो कि
आकाशमा देखिने जून
जो आधा महिना टहलिरहन्छ
आधा महिना कता भाग्छ ?
जसको निश्चित स्थान छैन ।

मान म त्यही आधा आकृति हुँ
मान म त्यही बतासको झोक्का हुँ
मान म त्यही जून हुँ
आधा बाँच्ने ।

हो, म त्यही क्यानभासको आधा आकृति हुँ
आधामै सन्तुष्ट रहने बानी परेको छ
कहिले यता बहन मन पर्छ
कहिले उता बहन मन पर्छ
र तिमी चाहिँ त्यो समुन्द्र हौ
जसको अँगालोमा म हुनेछैन ।
०००

TAGS: कविता दिपा मेवाहाङ राई नेपाली कविता