जाडो बढ्दै थियो । पुस महिना सुरु भएपछि लिबाङमा जाडो पनि हृवात्तै बढ्न थाल्छ । यसपालि पनि चिसो बढेको छ ।
म डेराबाट निक्लेपछि पहिलोपटक एउटी चिया पसल्नीको चिया पसल भेटिन्छ । त्यो पसलमा एउटी अधबैंसे महिला बस्छिन् । चिया पसल उनले केही महिना अघि मात्रै खोलेकी हुन् ।
०००
चिया पसलमा बिहानै पुगेर चिया पिउनु मेरो दैनिकी हो । पसल खुलेको पहिलो दिनदेखि हालसम्म नियमित रुपमा मैले चिया पिउँदै आएको छु । ती महिला अलि गफाडी छिन् । पसलमा आएका ग्राहकहरूसँग जिस्किन्छिन् । पसलमा आएकाहरूले पनि उनलाई जिस्काउँछन् । सायद उनी आफ्नो व्यापार बृद्धिका लागि जिस्किन्थिन् कि के हो कुन्नि मैले अझैसम्म बुझ्न सकेको छैन ।
सधैँझैँ त्यसदिन पनि म उनकै चिया पसलमा चिया पिउन पुगेँ । ठीक त्यसै समयमा एउटा मोटरसाइकल आएर चिया पसल अगाडि घ्याच्च रोकियो । लामा लामा कपाल पालेका दई जना युवाहरू झरे मोटरसाइकलबाट । पसल पस्दा तिनीहरूले मलाई कुच्लान्झैं गरे र मेरो नजिकैका कर्सीमा आएर बसे ।
०००
ती केटाहरू चिया पसल्नीसँग घरिघरि जिस्किन्थे । पछि ती महिला पनि जिस्कन थालिन् चिया पकाउँदै । दुईमध्ये एउटा केटा भने खासै बोलिरहेको थिएन । चलाख देखिने अर्को चाहिँ निकै गफाडी जस्तो लाग्थ्यो ।
“सपना, म त तिमीलाई माया गर्छु नि ।” चलाख खालको त्यो केटो बोल्यो । चिया पसल्नीको नाम सपना रहेछ भन्ने भेउ पाएँ मैले । मैले उनको नाम थाहा पाएको त्यतिबेलै हो पहिलोपटक ।
“म पनि त गर्छु नि ।”, मस्किदै चिया पसल्नी महिलाले तत्कालै जवाफ फर्काइन् ।
“तिमीले चिया पसल गरेर राम्रो पैसा कमाएकी हौली । तिमी हिरोइन, म हिरो भएर एउटा फिलिम बनाम् । तिम्रो लगानी, मेरो निर्देशन । हुन्छ है – हा हा हा ।,” केटाले आफ्नो योजना सुनाइहाल्यो ।
म भने चुपचाप चिया पिउँदैछु । खासमा म बडो शान्त स्वभावको देखिएको हुनसक्छु । तिनै जनातिर नजर लगाउँदै मैले केटा र महिला बीचको वार्ता सुनिरहेँ ।
“हाम्ले बनाएको फिलिम पनि चल्ला र – हिहिहि,” पसल्नी पनि जिस्किइन् ।
“तिमी यति राम्री छौ । म पनि केमा कम छु र – हामीले बनाएको फिलिमले ५१ दिन हैन, ५१ हप्ता मात्र हैन, ५१ वर्षपनि मनाउन सफल हुन्छ होला ।” केटाले गफ दिइरहेकै छ ।
“हिहिहि ५१ वर्षम्म – कस्तो फिलिम हो त्यो ?” – पसल्नीले आश्चर्य पोखिन् ।
“मैले फिलिमको कथा बनाइसकेको छु । फिलिममा द्वन्द्व र पटकथा रमेशले (अर्को केटोतिर इशारा गर्दै) लेख्छ । अनि फिलिम पूरा भइहाल्छ ।” कमलले उसको साथी रमेशतिर हेर्दै भन्यो ।
“खै मैले लेखेको फिलिमको द्वन्द्व र पटकथा पनि कस्तो होला – कहिल्यै फिलिम नहेरेको मान्छीलाई के थाहा । यो कमल पनि के के भन्छ । १/२ वर्षसहर बसेर फर्केपछि खुब फुर्ती लगाउँछ ।” पहिलो पटक रमेशले मुख खोल्यो ।
गफाडी केटा र उसको साथीको नाम पनि मैले जानेँ ।
लिबाङबजारमा ती दुई दुवैलाई मैले पहिलेदेखि देख्दै आएको थिएँ । बाटोमा, चिया पसलमा र केही होटेलहरूमा म उनीहरूलगायत अन्य केटाहरूलाई देख्छु । तर कहिल्यै परिचय भएको छैन । न त ती चिया पसल्नीसँग नै परिचय गरेको छु ।
एकैछिनमा उनीहरूले पसल्नीलाई चिया पकाउन लगाए । चिया पाक्दै गरेको ग्याँसको आगोबाट सल्काएर एउटाले चुरोट तान्यो । चुरोटको सर्को तानेपछि ती केटाहरू पसल्नीसँग झन जिस्कन थाले । उनीहरूले घरिघरि चुरोटको धुँवा हावामा उडाउँथे र अनेक थरिका गफ सुनाउँथे । मानौँ चुरोटको धुँवा र उनका गफ बराबर हावामा उडिरहन्थे ।
“कथा कस्तो छ भने नि, मैले सपनालाई माया गरेको हुन्छु । तर सपनाले रमेशलाई माया गरेको हुन्छ । रमेशले पनि सपनालाई माया गर्छ ।” चुरोटको धुँवा फ्याँक्दै कमलले फेरि फिलिमकै प्रसङ्ग जोड्यो । “मैले तिमीहरू दुईले एक अर्कालाई माया गरेको थाहा पाउँछु ।” उसले थप्यो ।
“अनि के हुन्छ ?”- सपनाले चाख देखाइन् ।
“अनि मैले तिमीहरूको मायालाई टुटाइदिन्छु क्या ।” एक्कासी कमल बोल्यो ।
“हामी दुईको मायालाई पनि कसरी टुटाइदिनुहुन्छ – असम्भव ।” सपनाको जवाफ चाँडै सुनियो ।
“हा हा हा फिलिममा जे पनि हुन्छ नि यार । यो के साँचो माया हो र” लामो हाँसो हाँस्दै कमल बोल्यो, एक साँझ रमेश र म तिम्रो पसलमा रक्सी खान आउँछौँ । मातिएपछि मैले तिमीलाई बलात्कार गर्छु । मैले बलात्कार गरेको रमेशले देख्छ । उसले सहनै सक्दैन । अनि मलाई धोकेवाज भनी तिमीमाथि आक्रमण गर्छ । तिमीलाई मार्छ । म भाग्छु । रमेश पनि भाग्छ । अनि कथा सकिन्छ ।”
“हा हा हा ।” फेरि कमलले लामो हाँसो हाँस्दै भन्छ, “अनि यो फिलिम चल्दैन त ?”
“कथाको नाम के राख्ने नि थाहा छ ?” एकोहोरो कमल बोलेकै छ, “चिया पसल्नी !”
“हा हा हा ।”
“खै के के भन्छन् मोराहरू । यस्ता गफ नगरी खा’को पनि पच्दैन पापीहरूलाई ।” सपना यत्ति चाहिँ बोल्छिन् ।
पसलमा अरू पनि ग्राहक थपिन्छन् यसैबेला । सपनाले फेरि अरू ग्राहकका लागि चिया पकाएर ख्वाउने आफ्नै काममा लाग्छिन् ।
चियाको पैसा तिरेर म बाहिरिन्छु पसल्नीको पसलबाट ।
बाटोमा पुग्दा मैले सोचेँ, ‘केटाहरू लफङ्गा भए पनि सिर्जनशील जस्ता छन् है ! कथा त राम्रै होला जस्तो छ । कलात्मक तरिकाले मैले पो यस विषयमा कथा लेख्नुपर्छ कि !’
मनमनै कथाको ढाँचा तयार पारेर म मेरो कोठाभित्र पसेँ ।
०००
केही दिनपछि !
चियापसलमा रमेशले भनेको त्यो कथा सुनेको केही दिनपछि पहिले जस्तै म सपना साहुनीको चिया पसलमा गएँ । सधैँझैँ म चिया पसलतिर त्यसदिन पनि बिहानै गएँ । तर पसल बन्द थियो । पसल आसपासमा मान्छेहरूले कानेखुशी गरेको देखेँ । मैले अर्को चिया पसलमा पुगेर चिया पिउने जमर्को गरेँ । त्यस चियापसलमा मेरो साथी श्याम अघि नै पुगेर चिया पिउँदै रहेछ ।
“थाहा पाइस् ? सपना त आज रातिदेखि कता हराइछे नि” श्यामले कुरा सुरु गर्यो । घटनाबारे विवरण थप्दै उसले भन्यो, “केटी खुब मस्किन्थी । पोइल गइहोली ।”
आनीबानी हेर्दा मलाई पनि उस्तै लाग्यो । श्यामको कुरामा मैले पनि सहमति जनाएँ । “अब त तेरो चिया पसल पनि फेरिने भयो नि ?” श्यामले जिस्काउने पाराले बोल्यो ।
श्याम र म चिया पिउँदै थियौं । एक हुल प्रहरीहरू धाङ्सीखोलातर्फ लागे । “सपनालाई खोज्न गएका हुन् कि क्या हो ?” श्याम प्वाक्क बोल्यो । हामी दुवैले प्रहरीलाई हेरिरहृयौँ । प्रहरीहरू लस्करै तुलसी बोर्डिङको आडैबाट महिला विकासतिर जाने बाटोतिर लागे ।
“पोइल गएकीलाई पनि प्रहरीले किन खोज्न जाला । अरु कुनै काम होला ।” मैले अनुमानको भरमा बोलेँ ।
हामीले चिया खाइसक्दाखेरि टुँडिखेलमा घाम पसिसकेको थियो । चिया पसलबाट निक्लियौँ । अनि घाम ताप्न टुँडिखेलतिर लाग्यौँ । अरू उभिए जसरी हामी दुई पनि पूर्व, उत्तर र पश्चिमतिर अनुहार घुमाउँदै उभियौँ । अरु मानिसहरू पनि थपिए ।
टुँडिखेलका मान्छेहरू सबैले एकापसमा मुखामुख गरिरहेका छन् ।
“पर चोककी चिया पसल्नी तल धाङ्सीखोलामाथि खरबारीमा मृत अवस्थामा भेटिएकी छे रे ।” एउटाले कुरा सुनायो । अरू धेरैले पनि त्यो कुरामा थप्दै भने, “हो हो मैले पनि त्यही सुनेँ ।”
सबैका मुखबाट एउटै प्रकारको कुरा सुनियो ।
उतिखेरै प्रहरीहरूले सपनाको शव टुँडिखेलमा ल्याइपुर्यायो । शववाहन पनि तत्कालै टुँडिखेलमै ल्याइयो । वाहनले झिलिमिली झिलीमिली गर्दै बत्ती चम्कायो । मानिसहरू एकै ठाउमा झुम्मिए ।
‘के भो, के भो ?’ भन्दै सबैले अनुहार निन्याउरो पारेको देखियो । शववाहनमा राखेर सपनाको शवलाई पोष्टमार्टम गर्नका लागि रेउघाको अस्पतालतिर पठाइयो ।
पत्रकारसँग कुरा गर्दै घटनाबारे प्रहरीका अनुसन्धान अधिकारीले भने, “सपनालाई बलात्कार गरी हत्या गरिएको आशङ्का छ । यसबारे थप अनुसन्धान भइरहेको छ ।”
घटनास्थलनजिकै पुरुषको पर्स भेटिएको प्रहरीले सूचना बताए । “पर्सभित्रको कागजमा कमल मगर लेखिएको मोटरसाइकल चलाउने लाइसेन्स पनि भेटिएको छ ।” ती प्रहरी अधिकारीले फेरि सूचना बाँडे ।
सपनाको शव टँडिखेल ल्याएर अस्पताल पुर्याउँदासम्म मैले अस्ति नै देखेका कमल र रमेश नाम गरेका दुई केटालाई देखिनँ । यताउता हेरेँ । तर तिनीहरूको अनुहार कतै देखिनँ ।
त्यस यता मैले लिबाङबजारमा हुँइकिने तिनीहरूको त्यो पल्सर बाइक र तिनीहरूलाई देखेको छैन । त्यो घटना भएपछि तिनीहरू टुँडिखेलमा आएका छैनन् ।
०००
