गेथाती

बाह्रभदौ किन र कसरी मानिन्छ?

तिलक रोकामगर
१२ भाद्र २०८१, बुधबार

बाह्रभदौ मनाउने प्रथा

बाह्रभदौ दुई मास उभेली र उधेलीअन्तर्गत उभेलीमा मनाइने भदौको बाह्र गते मनाइन्छ ।

मानव जीवनको उत्पत्तिसँगै आफू बाँच्न, भोक तार्न, जङ्गलमा कण्डमुल र अन्य जडिबुटीका साथै घनाजङ्गलहरूमा शिकार गरेर आफ्नो जीविकोपार्जन गर्ने क्रममा विभिन्न जडिबुटीहरू खान मिल्ने र खान नमिल्ने च्याउ, वनस्पति र फलफुल खानलाई परीक्षण गरे । परीक्षणको क्रममा कसैले ज्यान पनि गुमाए । जो पुर्खाको योगदानको कारण हामी आफ्नो शरीरलाई कुनै क्षति नगरी जङ्गलमा पाइने सबै चीज प्रयोग गर्न पाएका छौँ ।

बाह्रभदौ

जब मानवको विस्तार हुँदै गयो; मानव त्रासका कारण वन्यजन्तु टाढा भागे । मानवबस्ती पनि जङ्गलभन्दा उब्जनी हुने ठाउँतिर बसाइँ सरे । अन्नजन्य र फलफुलले मात्र उनीहरूको आहारा पूरा भएन । मासुजन्य खाना खानको लागि शिकार गर्न जानुपर्ने भएकोले शिकार गर्न एक महिनालाई पुग्ने खाना बोकी बुकी जङ्गल र पाटन पुग्छन् । श्रावणको महिना श्रवणे सकाराति मानेर निस्किएका शिकारीहरू एक महिनासम्म शिकार गर्छन् । शिकार गर्न धनुष र वाणको सहायता लिएर गएका शिकारी विभिन्न वन्यजन्तु मारेर भदौमा घर फर्किन्थे । कुनै समय एक शिकारी बुकीमा एक महिना शिकार गर्दा पनि कुनै पनि शिकार उसको आहारामा आउँदैनन् अर्थात् मार्न सक्दैन । ऊ निराश भएर घर फर्कन्छ, घर पुग्दा उसको श्रीमती बाहिर धोकामा निस्कन्छ, आफ्नो श्रीमान्‌लाई नियाल्दाबित्तिकै शिकारी श्रीमान्‌को मुखबाट आगाको मुस्लो निस्कन्छ¸ श्रीमती बेहोस भएर ढल्छ र उठ्न नसकी त्यही उसको मृत्यु हुन्छ । यसरी गाउँका जान्ने मान्ने जम्मा भएर नियाल्छन्, श्रीमान् एकहोरिएको हुन्छ । गाउँका जान्ने मान्नेले ऊ एक महिनासम्म शिकार गर्‍यो; शिकार गरेर कुनै शिकार आफ्नो आहारामा नपरेपछि घरमा आउँदा आफ्नो श्रीमतीको पुरुष खाइदियो भनेर अन्य शिकार गरेर आउने शिकारीहरूलाई शिकार लिएर आओस् या नलिएर आओस् उसलाई एउटा घरपालुवा कुखरा, सुङ्गुर आउँदाबित्तिकै उसलाई खान दिएपछि यो अनिष्ट हुँदैन भनी कुखुरा, सुङ्गुर या बोके कुनैमा एक बाह्रभदौको दिनमा खाएर बाह्रभदौ मनाउने प्रचलन शुरुवात् भएको कुरा बताउनुहुन्छ जानकारहरू ।

जब बाह्रभदौ आउँछ; लेक, चुकी गएका पुरुषहरू घर आई कसैले कुखुरा कसैले सुङ्गुर कसैले र कसैले बोके घरभित्र नपस्दै बाहिरे घरका गृहिणीहरू ढोकाको सङ्घारमै शिरमा पगरी र बट्कोमा रक्सी लिई हंसपुरष या आहारा मेटाउन मार बाहिरै मारेर भित्र प्रवेश गर्छन् । यसरी घरपालुवा कुखुरा, सुङ्गुर खाएपछि घरमा कुनै पनि अनिष्ट नभएको र शिकारी खुशी भएको मानिन्छ । यसरी आजभोलि पनि यदि बुकी गएको छैन भने पनि बाह्रभदौ मान्ने व्यक्तिलाई एकछिनको लागि बाहिर पठाएर ऊ आउने बेलामा मार तमतयार गरी माथिकै जस्तै कुखुरा खाएर बाह्रभदौ मनाउँछन् । यसरी बाह्रभदौ मान्ने प्रचलन कलान्तरदेखि नै मान्दै आएको बुझिन्छ । बाह्रभदौ प्रायःजसो एक घरमा एक जनाले मात्र मार खान्छन् तर आजभोलि घरमा कति जना पुरुष छन्, त्यति जनाले नै मानेको पनि कतै कतै पाइन्छ । एकपटक बाह्रभदौ मानेपछि अर्कोपटक पनि मान्नैपर्ने चनल छ । किनभने उसको पुरषले एक वर्षको बाह्रभदौ कुरिरहेको हुन्छ । यदि उसले बाह्रभदौ मानेन भने बिरामी हुन्छ भन्ने चलन छ ।

शिकारसँगै भदौ महिनामा ल्याउने जडिबुटीहरू

जब शिकार गर्न श्रवणको महिना बुकीतिर लाग्छन्; त्यहीबाट विभिन्न किसिमका जडिबुटी भदौ महिनामा खने वा टिपे मन्त्र लाग्ने हुन्छ । भदौमा लिएका जरमुधा सर, चमेली, निङ आदि मन्त्रतन्त्रलगायत औषधीको रूपमा प्रयोग गरिन्छ । अझै पनि निडको प्रयोग गरेको पाइन्छ । चुकीबाट लिएका जडीबुटी र बगरमा हुने बाह्रभदौका दिन टिपेको बाह्र बोटको टिमुर औषधीको प्रयोग गरेको पाइन्छ । लेकबाट पुरुषले जडिबुटी ल्याउँछ भने बगरमा महिलाले टिमुर टिपेको पाइन्छ । यसको केही कथा माघीमा गाउने स्याम्बो गीतमा पनि गाएको पाइन्छ ।

०००

रुकुम (पूर्वी भाग)