रोल्पाको साहित्यिक इतिहासलाई समकालीन नेपाली साहित्यको इतिहाससँग तुलना गर्दा नेपाली साहित्यको प्राथमिक काल (प्रारम्भदेखि वि.सं.१९४०) र माध्यमिक काल (वि.सं.१९४१–१९७४)सम्म हालको रोल्पाली भूमिमा कुनै पनि साहित्यिक गतिविधिहरू सञ्चालन भएको देखिँदैन । नेपाली साहित्यको आधुनिक काल (वि.सं.१९७५ देखि यता)मा आएर मात्र रोल्पा जिल्लामा लेख्य साहित्यको परम्परा थालनी भएको प्रमाण फेला परेको छ । हालसम्मको आधिकारिक अध्ययनले देखाए अनुसार नारायण छेत्री नै पहिलो रोल्पाली साहित्यकार मानिन्छन्, जसलाई ‘स्वर्गद्वारी महाप्रभु’ भनेर चिनिन्छ । रोल्पा जिल्लाको सखी गा.वि.स.अन्तर्गत रुन्टी गाउँमा जन्मिएका नारायण छेत्री अर्थात् स्वर्गद्वारी महाप्रभुलाई रोल्पाको साहित्यिक विजारोपण गर्ने प्रथम स्रष्टा मानिएको छ । उनको जीवनकाल वि.सं.१९१६ देखि १९९७ मानिएकाले त्यो कविता लगभग वि.सं.१९९५ तिर नै रचिएको हुनुपर्छ भन्ने अनुमान छ । यसर्थ स्वर्गद्वारी महाप्रभुका नामले परिचित नारायण छेत्री नै रोल्पा जिल्लामा साहित्यिक बिजारोपण गर्ने पहिलो रचनाकार हुन् । कमलमणि दीक्षितको सत्प्रयासले वि.सं.२०२७ मा ‘नेपाली’ नामक पत्रिकाको पूर्णाङ्क ४६ मा प्रकाशित ‘ककारादिकीर्तन’ नामक कविता नै उनको एक मात्र कविता हो ।
यस हिसाबले रोल्पाको साहित्यिक बिजारोपण वि.सं.२००० पूर्व नै भएको भए पनि वि.सं.२००७ को राजनैतिक परिवर्तनपछि मात्र केही साहित्यिक गतिविधिहरू भएको, लेखेको र प्रकाशन भएको पाइन्छ । यद्यपि व्यक्तिगत रूपमा वि.सं.२००७ पूर्व पनि साहित्यिक लेख रचनाहरू रचिएको हुनसक्छ, तर नारायण छेत्रीबाहेक अरूको प्रकाशित भएको कतै देखिँदैन । त्यसैले वि.सं.२००७ पूर्वको समयलाई पृष्ठभूमिका रूपमा लिई २००७ सालपछिको समयलाई नै रोल्पाली साहित्यिक धरातलको आधार समय मान्न सकिन्छ ।
रोल्पाको साहित्यिक इतिहासमा गजुलका स्व.खडानन्द सुवेदीको साहित्यिक योगदान महŒवपूर्ण मानिन्छ । वि.सं.२००७ को परिवर्तनपछि साहित्यिक गतिविधिमा सक्रिय देखिनुको साथै रोल्पाली साहित्यिक धरातलमा पहिलो पुस्तकाकार कृति प्रकाशन गर्ने स्रष्टाको रूपमा सुवेदीलाई मानिन्छ । उनको ‘विजयनगरको कथा’ नामक गीतिकविता वि.सं.२०१२ मा प्रकाशित भएको थियो ।
नारायण छेत्रीद्वारा बिजारोपण भएको रोल्पा जिल्लाको साहित्यिक परम्परामा वि.सं.२००७ पूर्वको समयावधिलाई पृष्ठभूमिको रूपमा हेर्ने हो भने हाम्रो लेख्यसाहित्यका इतिहास त्यति लामो छैन । संरचनाको हिसाबले वि.सं.२०१८ मा मात्रै स्थापित यस रोल्पा जिल्ला भौगोलिक, राजनैतिक, सामाजिक एवम् शैक्षिक दृष्टिले पनि पिछडिएको जिल्ला भएकोले यहाँको साहित्यिक विकास पनि निकै पछि परेको देखिन्छ । समय परिवर्तनसँगै राजनैतिक परिवर्तनहरू हुँदै गए र साथसाथमा भौतिक विकास एवम् शैक्षिक विकासले विस्तारै चेतना अभिवृद्धि हुँदै जाँदा साहित्यिक विकासले पनि गति प्राप्त गर्दै गएको पाइन्छ ।
यसरी रोल्पाको साहित्यिक विकास कालक्रमिक रूपमा उर्वर एवम् समृद्घि बन्दै जाने क्रममा रोल्पास्थित विभिन्न सञ्चार माध्यमहरूको भूमिका पनि निकै मह¥त्वपूर्ण छ । पछिल्लो समयमा रोल्पामा थुप्रै समाचारमूलक पत्रपत्रिकाहरू प्रकाशित भइरहेका छन् भने करिब १ दर्जन एफ.एम. रेडियोहरू सञ्चालन घइरहेका छन् । यी सञ्चार माध्यमहरूले पनि रोल्पाको साहित्यिक विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका छन् । साहित्यिक पत्रपत्रिकाबाहेक विभिन्न समाचारमूलक पत्रपत्रिकाहरू र एफ.एम. रेडियोहरूले पनि साहित्यिक स्तम्भ एवम् कार्यक्रमहरू खडा गरी स्थापित स्रष्टा तथा नवप्रतिभाहरूको लेखरचना प्रकाशन तथा प्रसारण गरी साहित्यिक माहोलको विकास गर्दै साहित्यको संरक्षण, संवद्र्घन एवम् उन्नयनमा योगदान पु¥याउँदै आएका छन् ।
यसरी विभिन्न समाचारमूलक पत्रपत्रिकाहरूमार्फत साहित्यको संरक्षण, संवद्र्घन एवम् उन्नयनमा तपसिलका पत्रपत्रिकाहरूको योगदान महत्वपूर्ण रहेको छ–
१) ‘रोल्पा आवाज’ पाक्षिक (२०६३)
रोल्पा जिल्लाको पहिलो समाचार–पत्रको रूपमा स्थापित ‘रोल्पा आवाज’ पाक्षिक (२०६३) एक महत्वपूर्ण समाचार–पत्र हो । काशीराम डाँगी प्रकाशक तथा सम्पादक रहेको यस पत्रिकाको कार्यकारी सम्पादक खेम बुढामगर थिए । यस पत्रिकाले समाचारको अलावा साहित्यिक स्तम्भमार्फत स्रष्टाहरूका कविता, गीत, गजल, निबन्ध, लेख, विचार आदि प्रकाशन गरेको पाइन्छ । यो समाचार–पत्र वि.सं. २०६५ मा रोकिएको भए पनि बिचमा केही अङ्क प्रकाशन भएको पनि हो, तर हाल यो पत्रिकाको प्रकाशन रोकिएको छ ।
२) ‘रोल्पा समाचार’ साप्ताहिक (२०६३)
विपिन कुवरको प्रकाशन र प्रकाशकुमार गिरीको सम्पादनमा सुरु भएको यो पत्रिका हाल मानसिंह वि.क.को प्रकाशन तथा सम्पादनमा प्रकाशन भइरहेको छ । जिल्लाबाट प्रकाशित भई समाचारका साथै विभिन्न साहित्यिक स्तम्भमार्फत स्रष्टाहरूलाई परिचित एवम् स्थापित गराउने काम गर्दै आएका समाचार–पत्रहरूमध्ये ‘रोल्पा समाचार’ साप्ताहिक (२०६३) पनि एक हो । यस समाचार पत्रले साहित्य, कला, संस्कृतिसम्बन्धी स्तम्भ खडा गरी अग्रज तथा नव प्रतिभाहरूका कविता, गीत, गजल, मुक्तक, लेख, निबन्ध आदि रचनाहरू प्रकाशित गर्दै आएको छ ।
३) ‘जलजला पोष्ट’ साप्ताहिक (२०६८)
रोल्पा जिल्लाको पूर्व क्षेत्र सुलिचौरबाट प्रकाशन भइरहेको जलजला पोष्ट साप्ताहिक(२०६८) अर्को महत्वपूर्ण समाचारमूलक पत्रिका हो । दीपेश पराइ विष्ट प्रकाशक तथा जीवराज घर्तीमगर सम्पादक रहेको यस पत्रिकाले पनि समाचारको साथसाथमा साहित्यिक स्तम्भहरू खडा गरी स्थापित तथा नव प्रतिभाहरूका कविता, गीत, गजल, निबन्ध, लेख, विचार आदि प्रकाशन गरिरहेको भए पनि हाल यसको प्रकाशन रोकिएको छ ।
४) ‘जूनकीरी सञ्चार’ साप्ताहिक (२०६८)
कविता उपाध्यायको प्रकाशन एवम् सम्पादनमा ‘जूनकीरी सञ्चार’ साप्ताहिक पत्रिका पनि २०६८ सालबाटै प्रकाशन हुन थालेको हो । ‘मेरो माटो’ स्तम्भमार्फत् छन्द कविता विशेष र अन्य विधाहरू गीत, गजल, निबन्ध, लेख, विचार आदिलाई समेत प्रकाशन गरी साहित्यिक अभियानमा अनवरत रूपमा योगदान पु¥याइरहेको छ ।
५) ‘रोल्पा टाइम्स’ दैनिक (२०६९)
एल.बी. मगरद्वारा प्रकाशित ‘रोल्पा टाइम्स’ रोल्पाको पहिलो दैनिक पत्रिका हो । हरेक हप्ता शुक्रबारको अङ्कमा साहित्य विशेषाङ्कको रूपमा प्रकाशन गरी स्रष्टाहरूलाई उत्साहित बनाउँदै आएको सो पत्रिकाले २०६९ सालमा प्रकाशन आरम्भ गरी लगातार १ वर्ष प्रकाशित भई २०७० सालमा आएर बन्द भएको छ ।
६) ‘सनस्टार’ साप्ताहिक (२०६९)
सनस्टार युवा क्लवका लागि पुरण क्षेत्रीको प्रकाशन एवम् नवीन लोचन मगरको कार्यकारी सम्पादनमा २०६९ सालबाटै अर्को समाचारमूलक पत्रिका प्रकाशन हुन थाल्यो, ‘सनस्टार’ साप्ताहिक । यस पत्रिकाले प्रत्येक अङ्कमा एक पृष्ठलाई साहित्य विशेष पृष्ठको रूपमा छुट्याई स्रष्टा र सिर्जनाको सम्मान गरेको छ । यस पत्रिकाले कृति समीक्षा, कविता, गीत, गजल, कथा, निबन्ध, लेख, विचार आदि प्रकाशन गर्दै आएको छ ।
७) ‘रोल्पा खबर’ साप्ताहिक (२०७०)
एल.बी. मगरद्वारा प्रकाशित ‘रोल्पा टाइम्स’ दैनिक पत्रिका २०७० सालमा बन्द भएलगत्तै त्यही समूहले ‘रोल्पा खबर’ साप्ताहिक पत्रिका प्रकाशन गर्दै आएको छ । पत्रिकाले साहित्यिक स्तम्भमार्फत स्रष्टाहरूका कविता, गीत, गजल, मुक्तक, निबन्ध, लेख, विचार आदि प्रकाशन गरेको पाइन्छ । हाल यो पत्रिकाको प्रकाशन रोकिएको छ ।
८) ‘जन्मभूमि’ साप्ताहिक (२०७१)
कृष्ण डी.सी.को प्रकाशनमा २०७१ सालको श्रावण महिनाबाट साप्ताहिक पत्रिका ‘जन्मभूमि’ले आफ्नो प्रकाशन सुरु गरेको हो । जिल्लाको दक्षिणी क्षेत्रबाट समेत प्रकाशित हुने लक्ष्य राखेको यस पत्रिकाले साहित्यका विभिन्न विधाहरू जस्तै कविता, गीत, गजल, मुक्तक, निबन्ध, लेख, विचार आदि प्रकाशन गर्दै आएको पाइन्छ । हाल यो पत्रिकाको प्रकाशन पनि रोकिएको छ ।
९) ‘सुनछहरी’ साप्ताहिक (२०७१)
महेश न्यौपानेको प्रकाशन एवम् आशीष क्षेत्रीको कार्यकारी सम्पादनमा २०७१ सालको श्रावण महिनाबाटै ‘सुनछहरी’ साप्ताहिक पत्रिकाले पनि आफ्नो प्रकाशन कार्य सुरु गरेको छ । अन्य पत्रिकाहरूले जस्तै यस पत्रिकाले पनि साहित्यिक स्तम्भमार्फत स्रष्टाहरूका कविता, गीत, गजल, मुक्तक, निबन्ध, लेख, विचार आदि प्रकाशन गर्दै आएको छ ।
१०) ‘जनआकांक्षा’ साप्ताहिक (२०७१)
त्यस्तै ईश्वरी जी.एम.को प्रकाशन एवम् हस्तमाली बाँठामगरको सम्पादनमा २०७१ सालको श्रावण महिनाबाटै अर्को साप्ताहिक पत्रिका ‘जनआकांक्षा’ले पनि आफ्नो प्रकाशन कार्य सुरु गरेको छ । आफ्नो स्थापनाकालदेखि नै यस पत्रिकाले पनि साहित्यिक स्तम्भमार्फत स्रष्टाहरूका कविता, गीत, गजल, मुक्तक, निबन्ध, लेख, विचार आदि प्रकाशन गर्दै आएको छ ।
११) ‘जनअपेक्षा’ साप्ताहिक (२०७२)
२०७२ सालको जेष्ठ महिनाबाट साप्ताहिक पत्रिका ‘जनअपेक्षा’ प्रकाशन हुन थालेको छ । रोशन समीपको सम्पादनमा प्रकाशन भइरहेको यस पत्रिकाले साहित्यका विविध विधाहरू कविता, गीत, गजल, मुक्तक, निबन्ध, लेख, विचार आदि प्रकाशन गर्दै आएको छ । जन्मभूमि साप्ताहिकजस्तै यो पत्रिकाको प्रकाशन पनि रोकिएको छ ।
१२) ‘होलेरी’ साप्ताहिक (२०७३)
२०७३ सालको वैशाख महिनाबाट साप्ताहिक पत्रिका ‘होलेरी’ प्रकाशन हुन थालेको हो । सन्तोष शर्माको प्रकाशन र नरेन्द्रध्वज डी.सी.को प्रधान सम्पादकत्वमा प्रकाशन भइरहेको यस पत्रिकाले साहित्यका विविध विधाहरू कविता, गीत, गजल, मुक्तक, निबन्ध, लेख, विचार आदि प्रकाशन गर्दै आएको छ । हाल यो पत्रिका पनि रोकिएको छ ।
१३) ‘चतुर्भूज’ साप्ताहिक (२०७३)
यस्तै २०७३ सालको असोज महिनाबाट साप्ताहिक पत्रिका ‘चतुभूज’ले पनि आफ्नो प्रकाशन सुरु गरेको छ । माधवकुमार वली प्रकाशक र भरत नेपाली सम्पादकत्वमा प्रकाशन भइरहेको यस पत्रिकाले साहित्यका विविध विधाहरू कविता, गीत, गजल, मुक्तक, निबन्ध, लेख, विचार आदि प्रकाशन गर्दै आएको छ । हाल यो पत्रिका पनि प्रकाशनमा छैन ।
१४) ‘अखण्ड’ साप्ताहिक (२०७४)
यसैगरी २०७४ सालको वैशाख महिनाबाट साप्ताहिक पत्रिका ‘अखण्ड’ले पनि आफ्नो प्रकाशन सुरु गरेको छ । प्रतिभा सुनार प्रकाशक र गणेश के.सी.को सम्पादकत्वमा प्रकाशन भइरहेको यस पत्रिकाले पनि साहित्यका विविध विधाहरू कविता, गीत, गजल, मुक्तक, निबन्ध, लेख, विचार आदि प्रकाशन गर्दै आएको छ । हाल यो पत्रिकाको प्रकाशन पनि रोकिएको अवस्था छ ।
समाजको विकाससँगै प्रविधिमा पनि विकास भइरहेको छ । यो युग प्रविधिको युग हो । प्रविधिको विकासले सञ्चार क्षेत्रलाई निकै सहज, सरल र सुलभ बनाइसकेको छ । यसले गर्दा ग्रामीण क्षेत्रमा पनि सञ्चारका माध्यमहरू विस्तार हुँदै गएका छन् । यसै सिलसिलामा रोल्पा जिल्लामा एफ.एम. रेडियोहरू सञ्चालनमा आएका छन् । यी एफ.एम. रेडियोहरूले पनि जिल्लाको साहित्यिक गतिविधिहरूलाई सम्वद्र्धन र प्रवद्र्धन गर्ने खालका साहित्यिक कार्यक्रमहरूको उत्पादन तथा प्रसारण गरिरहेका छन् । यी एफ.एम. रेडियोहरूको छोटो जानकारी निम्न रहेको छ–
१) रेडियो रोल्पा (२०६५)
हुरेक रोल्पाद्वारा सञ्चालित ‘सामुदायिक रेडियो, रेडियो रोल्पा एफ.एम.९३.८ मेगाहर्ज’ रोल्पाको पहिलो एफ.एम. रेडियो हो । यो रेडियो रोल्पाको सदरमुकाम लिबाङमा रहेको छ । वि.सं.२०६५ असारदेखि आफ्नो प्रसारण सुरु गरेको रेडियो रोल्पाले ‘मधुमाला’, ‘नफक्रेका फूल’, ‘अतीतका छाल’, ‘गजलकुञ्ज’ जस्ता साहित्यिक कार्यक्रमहरूको उत्पादन तथा सञ्चालन गरेर स्रष्टाहरूको सम्मान गर्नुका साथै साहित्यको उन्नयनमा टेवा पु¥याउँदै आएको छ ।
२) रेडियो जलजला (२०६५)
वि.सं.२०६५ मै माण्डवी बहुउद्देशीय समाज विकास केन्द्र रोल्पाद्वारा स्थापित यो रेडियो रोल्पाको सदरमुकाम लिबाङमा रहेको छ । ‘सामुदायिक रेडियो जलजला एफ.एम. ९६.४ मेगाहर्ज’ अर्को एफ.एम. रेडियो हो । यस रेडियोले पनि ‘साहित्य–बाटिका’, ‘गजलमय रातहरू’ र ‘मुक्तक सङ्गीत’ जस्ता साहित्यिक कार्यक्रमहरूको उत्पादन तथा सञ्चालन गरेर स्रष्टाहरूलाई पाठक तथा स्रोतासामु परिचित गराउँदै आएको छ ।
३) रेडियो सुनछहरी (२०६८)
२०६८ साल असोज ५ गतेदेखि आफ्नो प्रसारण सुरुवात गरेको यो रेडियो रोल्पाको दक्षिणी क्षेत्र होलरीमा रहेको छ । सामुदायिक रेडियो ‘रेडियो सुनछहरी’ १०५.१ मेगाहर्जले जिल्लामा हुने साहित्यिक कार्यक्रमहरूको प्रसारण गरेर स्रष्टाहरूलाई परिचित गराउने प्रशंसनीय कार्य गर्दै आएको छ भने विभिन्न साहित्यिक कार्यक्रमहरू उत्पादन तथा सञ्चालन गरेर साहित्यिक माहोल सिर्जना गर्दै आएको छ ।
४) रेडियो मालश्री (२०७२)
त्यस्तै ओजस्वी सविता इन्दू क्लव घर्तीगाउँ, रोल्पाद्वारा सञ्चालित २०७२ साल फागुन ७ गतेदेखि आफ्नो प्रसारण प्रारम्भ गरेको यो रेडियो रोल्पाको सदरमुकाम लिबाङमा रहेको छ । सामुदायिक रेडियो ‘रेडियो मालश्री’ १००.५ मेगाहर्जले पनि विभिन्न साहित्यिक कार्यक्रमहरू जस्तै ‘स्रष्टा र सिर्जना’, ‘गजल साँझ’, ‘मुक्तक छहारी’जस्ता कार्यक्रमहरूको उत्पादन एवम् प्रसारण गरेर जिल्लामा साहित्यिक माहोल सिर्जना गर्दै आएको छ ।
५) रेडियो माडी आवाज (२०७४)
२०६८ साल असोज १० गतेदेखि आफ्नो प्रसारण सुरुवात गरेको यो रेडियो रोल्पाको पश्चिमी क्षेत्र घर्तीगाउँमा रहेको छ । सामुदायिक रेडियो ‘रेडियो सुनछहरी’ ९८.६ मेगाहर्जले जिल्लामा हुने साहित्यिक कार्यक्रमहरूको प्रसारण गरेर स्रष्टाहरूलाई परिचित गराउने प्रशंसनीय कार्य गर्दै आएको छ भने विभिन्न साहित्यिक कार्यक्रमहरू उत्पादन तथा सञ्चालन गरेर साहित्यिक माहोल सिर्जना गर्दै आएको छ ।
६) रेडियो होलेरी (२०७४)
२०७४ साल असोज १ गतेदेखि आफ्नो प्रसारण सुरुवात गरेकोे यो रेडियो रोल्पाको दक्षिणी क्षेत्र होलरीमा रहेको छ । ‘रेडियो होलेरी’ १०२.५ मेगाहर्जले जिल्लामा हुने साहित्यिक कार्यक्रमहरूको प्रसारण गरेर स्रष्टाहरूलाई परिचित गराउने प्रशंसनीय कार्य गर्दै आएको छ भने विभिन्न साहित्यिक कार्यक्रमहरू उत्पादन तथा सञ्चालन गरेर साहित्यिक माहोल सिर्जना गर्दै आएको छ ।
७) रेडियो पल्लवी (२०७४)
२०७४ साल फागुन १४ गतेदेखि आफ्नो प्रसारण सुरुवात गरेको यो रेडियो सुरुमा गैरीगाउँ तिलामा स्थापना भए पनि हाल जुगार नेर्पा बजारमा सञ्चालन भइरहेको छ । सामुदायिक रेडियो ‘रेडियो पल्लवी’ ९५.२ मेगाहर्जले जिल्लामा हुने साहित्यिक कार्यक्रमहरूको प्रसारण गरेर स्रष्टाहरूलाई परिचित गराउने प्रशंसनीय कार्य गर्दै आएको छ भने विभिन्न साहित्यिक कार्यक्रमहरू उत्पादन तथा सञ्चालन गरेर साहित्यिक माहोल सिर्जना गर्दै आएको छ ।
८) रेडियो सभ्यता (२०७८)
रोल्पाको पूर्वी क्षेत्र सुलिचौर बजारमा २०७८ साल फागुन १ गतेदेखि आफ्नो प्रसारण सुरुवात गरेको ‘रेडियो सभ्यता’ ९९.५ मेगाहर्जले जिल्लामा हुने साहित्यिक कार्यक्रमहरूको प्रसारण गरेर स्रष्टाहरूलाई परिचित गराउने प्रशंसनीय कार्य गर्दै आएको छ भने विभिन्न साहित्यिक कार्यक्रमहरू प्रसारण गरेर साहित्यिक माहोल सिर्जना गर्दै आएको छ ।
९) रेडियो सूर्यमुखी (२०७८)
२०७८ साल माघ ७ गतेदेखि आफ्नो प्रसारण सुरुवात गरेको यो रेडियो रोल्पाको दक्षिणी क्षेत्र होलरीमा रहेको छ । सामुदायिक रेडियो ‘रेडियो सूर्यमुखी’ ८८.८ मेगाहर्जले जिल्लामा हुने साहित्यिक कार्यक्रमहरूको प्रसारण गरेर स्रष्टाहरूलाई परिचित गराउने प्रशंसनीय कार्य गर्दै आएको छ भने विभिन्न साहित्यिक कार्यक्रमहरू उत्पादन तथा सञ्चालन गरेर साहित्यिक माहोल सिर्जना गर्दै आएको छ ।
यसरी अध्ययन गर्दा प्युठान र सल्यान जिल्लाका केही भू–भागहरू काटी २०१८ सालमा स्थापना भएको रोल्पा जिल्लाको शैक्षिक अवस्थाको सुधार विस्तारै भइरहेको देखिन्छ । यसकारणले पनि यहाँको साहित्यिक गतिविधि निकै ढिलो गरी सुरु भएको पाइन्छ । झन्डै १९९५ सालतिर लेखिएको भनी अनुमान गरिएको नारायण छेत्रीको ‘ककारादिकीर्तन’ शीर्षकको कविता नै हालसम्म प्राप्त रोल्पाको जिल्लाको पुरानो लेख्य–साहित्य हो । त्यसपछि खडानन्द सुवेदीको ‘विजयनगरको कथा’ नामक गीतिका २०१२ सालमा प्रकाशित पहिलो कृति हो । क्रमशः सामाजिक, शैक्षिक, राजनैतिक विकाससँगै चेतना स्तरमा वृद्धि हुँदै जाँदा साहित्यिक गतिविधिहरू पनि बढ्दै गएको पाइन्छ । यस्ता साहित्यिक गतिविधिहरूलाई प्रचारप्रसार गर्नुका साथै नयाँ तथा पुराना स्रष्टाहरूलाई मञ्च प्रदान गर्ने कार्यमा समग्र रोल्पाली सञ्चार क्षेत्र सदैव दत्तचित्त भई लागिरहेको छ । रोल्पा साहित्यमैत्री सञ्चार भएको जिल्लाको रूपमा स्थापित छ, जसले गर्दा यहाँका साहित्यिक सङ्घ–संस्थाहरू, स्रष्टाहरू र साहित्यिक कार्यक्रम तथा गतिविधिहरूको दायरा अझ फराकिलो बन्दै गइरहेको छ ।
०००
नेपाल पत्रकार महासङ्घ, जिल्ला शाखा, रोल्पाद्वारा प्रकाशित ‘दुई दशक- २०८२’ बाट
