गेथाती

लोक, प्रेम र पहिचानको संगम “जाम माया तकसेरा”


१५ पुष २०८२, मंगलवार

मगर समुदायको मौलिक संस्कृति र पहिचान झल्काउने म्युजिक भिडियो ‘जाम माया तकसेरा’ पुष १४ गते तकसेरा समाज नेपालद्वारा काठमाडौँको नागार्जुन–५ स्थित कार्यालयमा औपचारिक रूपमा विमोचन गरिएको छ।संस्थाका अध्यक्ष चन्द्रबहादुर बुढा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भूमे पर्व संरक्षण केन्द्र नेपालका अध्यक्ष बागलाल बुढा मगर प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रममा विभिन्न मगर संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

रुकुमपूर्व जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका–१०, तकसेरा निवासी मगर सङ्घ जापानका पूर्व अध्यक्ष कौडा बुढा मगरको शब्द सिर्जनामा तयार भएको ‘जाम माया तकसेरा’ गीत प्रवास र मातृभूमिलाई जोड्ने सांस्कृतिक सेतुका रूपमा प्रस्तुत भएको छ।हिकमत घर्ती मगरको Gharti Magar CVE Entertainment -Norway को बहुमुखी प्रस्तुति र बिजय पुनद्धोरा निर्देशित यो भिडियो, बिजय पुन र आरुशी मगर को हृदयस्पर्शी अभिनयले सजिएको छ।

जसमा प्रेमीहरू बीचको प्रेम र समर्पणलाई प्रस्तुत गरिएको छ। यस गीतमा मुख्य पात्रहरूले तकसेरा र बुर्तिबाङ जस्ता स्थानीय ठाउँहरूको यात्रा गर्ने र आफ्नो जीवन सँगै बिताउने इच्छा व्यक्त गरेका छन्। गीतको लयमा मायाको सागर, चोखो प्रेम, र देवीदेउतालाई साक्षी राखेर कसम खाने जस्ता सांस्कृतिक पक्षहरू समेटिएका छन्। ‘रुमाल फरर’ जस्ता विम्वात्मक शब्दहरूको प्रयोगले यात्राको उत्साह र रोमान्टिक भावलाई झल्काएको छ। समग्रमा, यो गीतले ग्रामीण जीवनको सुन्दरता र दुई मन बीचको भावनात्मक मिलनलाई सङ्गीतमय ढङ्गले व्याख्या गर्दछ।

गीतलाई जीवन दिएका छन् बिबेश बुढा मगर र शान्ति श्रीस मगर को भावपूर्ण स्वरले। श्रीकृष्ण बाम मल्ला को सङ्गीतले लोक र आधुनिकताको सुन्दर सामञ्जस्य बनाएको छ। बुद्ध थापा को टिमको छायाङ्कनले तकसेराको प्राकृतिक सुन्दरतालाई फ्रेम बनाएको छ।भने राजकुमार मगर को सम्पादनले यसलाई चाकचौय बनाएको छ।

समग्रमा, “जाम माया तकसेरा”नेपाली ग्रामीण परिवेश, प्रेम र पहिचानको सुगन्ध बोकेको प्रवासबाट उठेको मगर संस्कृतिको बुलन्द सांगीतिक आवाज बनेको छ।

https://youtu.be/2UlQ4Wc-Bhk?si=BNcXISK5CiNjbL8l