दिलिप बुढामगर साहित्य क्षेत्रमा डी.बी. मगर ‘स्वेद’का नामले परिचित छन् । उनको मगर खाम भाषाको ‘मासन्सिउ छकाल्न्य’ कविता नेपाल प्रज्ञा-प्रतिष्ठानको ६७ औँ वार्षिकोत्सवका अवसरमा आयोजित राष्ट्रिय कविता महोत्सव–२०८१ मा सर्वोत्कृष्ट १० मा छनोट भएर पुरस्कृत भएको थियो । पुरस्कृत ‘मासन्सिउ छकाल्न्य’ र नेपाली अनुवाद ‘नव्यूझिएको बिहान’ कविता ‘गेथाती’का पाठकहरूका लागि पस्केका छौँ । – सम्पा.
मासन्सिउ छकाल्न्य (मगर खाम भाषा)
मीँ सैदे घामयउमि
रिलै ओखङ सुघुर्दे ओस्यावकाई
रैथाने छकाल्य
चुमचुमो सेसिदे बादेले
ङामि मनि सभ्यताय ओतरओरल
रासिदे ओबाक चुमचुमो
थोरैसिनाज्यार रन्न्य रो:र
दवल…दवल…स
थोरैसिनाज्यार
सिमेभूमेंयउमि सिलुक सनि होला मिँर
बजुबराहरयामिँ हलाक जैन्य चोलाता रो:र
कुलामीरयामिँ बराङए सिर्जैसिउ मासिन्य रो:र
होकाई थोरैसिनाज्यार
पित्तररै भारतर्त रादे याख्यानैओ आसिकबाक्केर
च्याँसिदे आउ ओइपाय अक्करे यमल
ङाराचिभैज्या रन्न्य रो:र
दवल…दवल…स
थोरैसिनाज्यार
बजुरै
यापस्यूय मुसी सिम्दे
गमल सर्दे याख्यानैओ चोलाय सिलुकर
आमैरै
गोङभैला गोथो-जिम यालिरिक यालिरिक
यामासन्देज खेम्दे बाओ यापालता तिथकोमोर्नो रन्न्य रो: र
नानारै
याचोलास्याउका गिओ रातै यासेल्क यासेल्क
तुनुजा तावान् बाओ यारहरय ओपोहोन
होकाई थोरैसिनाज्यार
भान्जीरै
भूम्हेँ स्यावान् यादुक यासुरल मोदे
मामारालै यादे यार्ख्यानैओ जाले रुमालय ज्याओ रेएइ
थोरैसिवान् याबाक पार पार
कतादेज माथैसिर
ओकर भुतभुत थरैसिदे भाक्वैय
नाङ्खार ओस्वोचैन्य ङादे स्वोदे
रातैस थूसिन्य बैराग्या युङला बह:र
माथैसिर
छि,सिङ होकाइ सला दुप्नान्य रनवनजिल
ख्यारयामिँ दोहोरी
माथैसिर
कतादे अछतङ्ङ होमनि युङ रेङ्न्य जलाकीजिल
थकान चुसिउ धापाधामिरयामिँ माह्वाङ्ओ उतरा सनि साइलाबरै
न थैसिज्याज छापोजिल
साइला दाजुए ओतप्न्य
धापा मुरलीय ओगा:
अज्याल के युङ ओनासिन्य रोदी मनि
नाङ्खारला खला रादे सहर उपसिनाउ चि
आधुनिकता खिम्न्य
थोरैसिनाज्यार
रङ्न्य खिम्सु पार रन्न्य रो:र
होकाइ थैओ पान्सु पार गा: र
बुरु मी छ्योक हुज्यार
पतिलै होङ्ङज ख्यानैदे
ङामौलिकतालै उँखी हैदान्य वैरनपैरनर
रङ्क रङ्क तोसिदे बान्य मीर
पाङ्क पाङ्क तोसिदे बान्य से: र
होकाइ हुज्यार
पार ङामीँरालै गाल्ने आलाजाल ताउ धेङर मनि
ङामीँरस्याउज रन्दे
ओइपाय आउ अक्करे ओल्न्य पोकिनी
रङ्दे आला पार पार, चेम्दे ङाले ङा
होकाइ चङ चङ ङाताज्या होपाइना होपाइना
कतायाल ङासातो चि ओबाउ सै
देसा ए झाङ्करी बाजु
भाक्कीदे सिमेंभूमेंला चार दिशा
दैदेउता, कुलकुलामी, असानमसान, सेउरेबेउरे पार भाक्कीदे
वीर मुँइदाउ ताके
होकाइ रैदाउ ताके साता उकासिदे ङासातो
कि ङा, आउ ङल्व छकाल्न्यलै स्वोचैन्य घाम ताउ ङाधूँ
०००

_________________________________________________
नेपाली अनुवाद
नव्यूझिएको बिहान
आँखा निभाएर घामको
रातलाई खुत्ता बोकाएर निदाएपछि
आदिवासी बिहान
अँध्यारो पोतिँदै गएको हो
मेरो पनि सभ्यताको आभामा
फैलिँदै जाँदा अँध्यारो
ओझेल पर्दैछन् दृश्यहरू
सुस्त…सुस्त…
ओझेलिँदैछन्
सिमेभूमेका आफ्नै मौलिक कथा र पात्रहरू
बजुबराहका चमत्कारिक जीवन दर्शनहरू
कुलामीहरूको पौरखले रचेका अमरगाथाहरू
र ओझेलिँदैछन्
पितृहरूले भारमाथि छाडिगएका आसिकवाक्यहरू
उभिएर यो समयको अक्करे मोडमा
नियाल्दैछु दृश्यहरू
सुस्त…सुस्त…
ओझेलिँदैछन्
बजुहरूले
पसिनाको मसी भरेर
माटोमा लेखिछाडेको जीवनको इतिहास
आमैहरूले
लेकवेंसीको गोठ-घर गर्दैगर्दा
थाहै नपाई सकिगएको लालीजोवनको कारुणिक दृश्य
नानाहरूले
आफ्नो जिण्दगीजस्तै गह्रौँ जाँतो तान्दातान्दै
छोटिँदै गएको रहरहरूको आयु
र ओझेलिँदैछन्
भान्जीहरूले
भूम्हेँ नाच्दै गर्दा गादोमा लुकाएर
मामाहरूलाई दिई छाडेको जाले रुमालको प्रेमिल गीत
ओझेलिँदै जाँदा सबैसबै
कहींकतै सुनिन्नन्
पखेटा फट्फटाएर भालेले
गाउँ व्यूँझाउनु पहिले व्यूँझेर
जाँतोसँगै पोखिने विरही मनका बहहरू
सुनिन्नन्
घाँस, दाउरा र सोत्तर बटुल्ने पखेरीहरूमा
पातहरूको दोहोरी
सुनिन्नन्
कतै एकान्त तर मनोरम देउरालीतिर
थकाने जोडिहरूको अतृप्त उतरा र साइलाबरै
न सुनिन्छ नै खर्कमा
साइला दाइले बजाउने
तन्नेरी बाँसुरीको धुन
अचेल त मन बिसाउने रोधी पनि
गाउँको आँगन छोडेर शहर पसिसकेछ
आधुनिकता खोज्न
ओझेलिँदै गएका छन्
देख्न खोजेका जम्मै दृश्यहरू
र सुन्न चाहेका जम्मै आवाजहरू
बरु आँखै छेउ आउँछन्
लाजलाई उतै छोडेर
मेरो मौलिकतालाई जिस्काउने पहिरनहरू
हेर्दाहेर्दै बदलिजाने आँखाहरू
बोल्दाबोल्दै बदलिजाने जिब्राहरू
र आउँछन्
जम्मै आफ्नोपनलाई निल्न आतुर घाँटीहरू पनि
आफ्नोपनकै भेषमा
समयको यो अक्करे मोडबाट
देखेर यी सबैसबै, मुर्च्छित छु म
र झस्किरहन्छु बेलाबेला
कतै मेरो सातो पो गयो कि ?
लौ न ए झाँक्री बा
भाकेर सिमेभूमेको चारैदिशा
दैदेउता, कुल कलामी, असानमसान, सेउरेबेउरे जम्मै भाकेर
विर जाप्दिन पर्यो
र ल्याइदिन पर्यो साता उकासेर मेरो सातो
कि म, यो निदाएको बिहानलाई व्यूझाउने घाम बन्नसकूँ ।
०००

