गेथाती

एकाङ्की : निरुत्साहित मदिरा

डी. बी. मगर ‘स्वेद’
२५ आश्विन २०८०, बिहीबार

(निम्नवर्गीय किसान चामेको भुइँतलाको घर । भान्साकोठाबाटै बनाइएको अर्को कोठाको ढोका । कोठाहरू दुबै अव्यवस्थित । भाँडाकुँडाका सामानहरू मिलाएर राखिएको भए पनि छरपष्ट देखिन्छन् । भित्तामा धुइसोले रातो माटोलाई कालो बनाएको स्पष्ट छ । त्यही भित्तामा काँटीले ठोकेर काठ र काठमा काँटी ठोकेर डाडु पन्युहरू झुन्डाउन बनाएको ठाउँमा केही भाँडाकुँडा र धुइसोले खाएका प्लाष्टिकका झोला झुन्ड्याइएको छ । भान्साकोठाको ठीक बीचमा परम्परागत चुल्हो । यो भन्दा बढी तारिफ गर्न लायकको केही देखिदैन ।)
(चामेकी स्वास्नी नौली पिँढीमा बसेर ताकु काटिरहेकी छे ।)
नौली : हा… हा… स स सस (भाले बासेको आवाज) स्यालाले पछार्न लैजाने, झुस्स्यालाई । (एकछिन पछि) त्रु. त्रु.. त्रुत्रु (थैलो छाम्दै) ए चारो पनि रहिन्छ तो ।
(भित्र जानै लाग्दा छोरा कपिल विद्यालयबाट आइपुग्छ ।)
कपिल : आमा !
नौली : ए ! आइपुगिस् बाबु ?
कपिल : अँ । (पिढीमै बस्छ, नौलीभित्र गएर आउँछिन् ।) आमा भोक लाग्यो, के खाने ?
नौली : जा, पै’ला लुगा फेर अनि भारमा खाजा राख्देको छ, खा ।
कपिल : केको खाजा आमा ?
नौली : के को हुनु, मकैको । अनि के के लेख्न दिएछन् लेख्नुपर्छ है । छिटो गर ।
कपिल : हस् । (उठेर ढोकाभित्र जाँदै) आज बाबा खोई त ?
आमा : तेरो बाबाको त के कुरा (कपिल खाजा लिएर आउँछ ।) तेरो बा त फेरि जाँर ढुक्न त मुन्टे होलान् नि । ब्या’नै गा’का अहिलेसम्म आ’छैनन् ।
कपिल : (रिसाएको मुद्रामा) फेरि गन्गन् गर्नलाई ? मलाई भने कै’लै नयाँ लुगा किनिदिने होइन । अझै कपी पनि सिद्धिएको छ । (ऊ मुर्मुरिन्छ ।)
नौली : (लामो सास फेर्दै) के गर्छस् बाबु । तेरो बाबाले कै’लै भनेको सुन्ने होइन । हिजा एउटा माउ बेचेको पैसा सिरानीमुनि राखेथें, त्यै लिएर गएछन् । (कपिलको कपाल मुसार्दै) तर तैंले राम्रोसँग पढ्नुपर्छ बाबु । तेरो बाबाजस्तो हुनुहुन्न ।
कपिल : (मसिनो स्वरमा) हाम्रो बाबा के भा’को होला है आमा ?
नौली : (धैर्यताका साथ) छोड्दे यो सब ! (काँधमा हात राख्देर) तँलाई था’छ आज मैले के किन्देको छ । (कपिल नजानेको मुद्रामा मुन्टो हल्लाउँछ) मैले तँलाई नयाँ लुगाका किन्देको छु, कमिज र पाइन्ट सिलाउन ।
कपिल : (खुसी हुँदै) साँच्चै हो ? काँ किन्नुभयो अनि पैसा नि ?
नौली : ब्या’न धागा जोख्ने मान्छे आथे, मेरो भा’को तीन डल्ला धागो बेचेको अनि त्यै पैसाले किनेको । तेरो बाले देखेको भए त्यो रन्नथ्यो बाबु ।
कपिल : अनि दोकान जानुभा’को हो र ?
नौली : काँ दोकान जान पाउनु । दिउँसो तालाबाङी बेपारीहरू पनि कपडा बेच्न आथे ।
कपिल : (मख्ख पर्दै) कति प¥यो आमा ?
नौली : (ममतामय हाँसोसँग) हेर न त्यो । खुसीले केके सोध्छ । तेरो कपी किन्ने जति पैसा पनि बचेको छ । अब खुरूखुरू पढ्ने । (गम्भीर हुँदै) तँ ठूलो मान्छे बन्नुपर्छ ।
जागिर खानुपर्छ । मर्दको छोराले कि गरी खानु कि मरी जानु भन्छन् । तेरो बुवाजस्तो भए’नि म तँलाई गरेर खाने बनाएरै छोड्छु । म पनि तेरी आमा हुँ । (कपिल लेख्न थाल्छ । आमा पुनः ताकु कात्न थाल्छिन् । त्यतिकैमा चामे ढङ्मङिदै आइपुग्छ ।)
चामे : (लत्पतिएको स्वरमा) नौली … ए नौली …. नौली … कहाँ गइछे यो । (गाउँदै) चामेले नौलीलाई लग्यो भीरको बाटो लाल्टिनै बालेर । (आफैसँग हाँस्छ) ए बड्डी ! नौली (आमाछोरा दुबैले घुरेर हेरिरहेका हुन्छ । देख्छ ।) यै रै’छन् त आमाचल्ला किन नबोलेको हँ ? हई भन्न सकिनस् । नतेरेको तिमेर्ले मलाई ? (झोक्किदै) के सोचेछौं हँ मलाई ? (पाखुरा सुर्कन्छ)
नौली : (रिसैसँग जुरूक्क उठ्छे) फेरि जाँर ढुकेर आयौ होइन ? लोग्ने मान्छे भएर घरको कामको सुर्ताबिर्ता छैन । दिनभरि हल्लेर अझै घरमा ठूलो डाका लाउन आउँछौ ?
चामे : (चोर औंलामा राखेर चुप भन्ने सङ्केत गर्छ) नौली नरिसा न, आज त मैले एक थोपा पनि खा’को छैन । मैले रक्सी खाकै छैन । कान्छीको भट्टीमा गएर एक गिलास च्या खा’को राँडले नसा पो मिसाइदिएछ कि क्या हो । हेर्दै नशालु छे ।
नौली : त्यसो भए माउ बेचेको पैसा खोई ? देखाऊ ।
चामे : हेर, नौली गोजी त टाँट छ । (गोजीको भित्री पल्टाउँछ) हेर ! पैसा भनेको हातको मैलो हो मैलोलाई पखाल्नु नै वेश हुन्छ क्या । (थोरै हाँस्छ)
नौली : (निधारमा हात राख्दै) हे भगवान् ! छोराले के के छैन भन्छ । बुवाको हाल यस्तो छ ।
चामे : (झोक्किदै) के चाइया छ रे यसलाई ? खान लाउन पुग्या छैन रे ? (कपिल घुरेर हेरिरहेको हुन्छ ।) अझै घुरेर हेर्छस् ? काम गर्नु पर्दैन तैले । के काम गर्छ यो ? कलम समातेर खान पुग्छ । देखिनस् कति पढेकाहरू पनि बाहिर देश गा’का ? (कलम खोस्दिन्छ) तैले त हलो जुवा समाउनुपर्छ बुझिस् ? (कपि कपि भुइँमा फ्याकेर उठेर जान्छ) अझै रिसाउँछस् गधा ?
नौली : (बोलाउँछ) कपिल … बाबु… ए बाबु (ऊ गइसकेको हुन्छ) एउटै भा’को छोरालाई पनि राम्रो गर्न सकेनौ होइन ? विचरा कति सहन्छ अझै !
चामे : यो तिमो छोराले गरिखाँदैन नौली । बरू याँ मलाई खानुपरो । (फकाएको स्वरमा) जा त नौली एक बुत्का निगार ल्या त । कस्तो तिर्खा लाग्यो ।
नौली : भुसै नपाउनेले खान्छौ निगार । (लोपार्दै) ईस खाउला मात्तेो बुढा । (भित्र जान्छे)
चामे : (झोक्किन्छ) मलाई लोपर्ने तँ । (कोटको गोजीबाट बोतल झिक्छ) तैंले नदिएर के भो त मेरो सामा छैन र ? (बोतल खोल्छ) सक… सक.. (बोतलैसँग घुट्काउँछ र पिढीमै लम्पसार ढल्छ । कुन्नि के के बर्बराइरहन्छ ।)
नौली : (एकछिनपछि) हेर हेर यै ढलेको । (उठाउँछे) हिँड, भित्र सुत ।
चामे : (लत्पतिदै) म सुत्छु नौली म सुत्छु । (भित्र जान्छन् । नौली बाहिर आउँछे कपिलका किताब मिलाइदिएर खान पकाउन सुरू गर्छे ।)
नौली : (आँगनबाट) कपिल… कपिल…. ए बाबु, खाना खान आइज । तेरो बा सुतिसकें । (फर्केर आएर बस्छे) कहाँ गइछ ।
०००
कपिल बाटोमा घोसेमुन्टो लाएर हिँडिरहेको हुन्छ । ढुङ्गालाई खुत्ताले हुत्याउँदै । परबाट एउटा रक्सीको बोटल उचालेर ढङ्मङिदै आइरहेको हुन्छ । कपिल रोकिन्छ । ऊ नजिक आइपुग्छ ।)
कपिल : ए कुलखा के गरेको यो तैंले । कैलेदेखि खान थालिस् ह रक्सी ?
कुलखा : केही दिन भयो यार । तैंले खान्छस् । (बोतल लिँदै) ल खा । मजा आउँछ क्या ।
कपिल : (एक हातले नाक थुन्दै अर्को हातले रोक्दै) ह्या खान्नँ म । तँ पढ्ने मान्छेले किन खोको भन त । कसले सिकायो यस्तो खान ?
कुलखा : (चर्को स्वरमा) बाउले । हो बाउले, मैले था’पाएदेखि बाउ सधैं जाँड खान्छन् । बाउले खा’को चिज मैले खान नहुने त कुरै भएन । मैले नखाँदासम्म बाउकै हुकुम चल्थाये आजभोलि बाउ मदेखि थुरूरू … । ह्या मुला त यस्तो कुरा बुझ्दैनस् । खै छोड । (धकेलेर जान्छ ।) (कपिल हातले खै के भन्ने संकेत गर्छ ।)
अलिक पर दुईचार जना ठिटाहरूजस्तै ढङ्मङिदै निस्कन्छन् । कराउँदै हल्ला गर्दै । तिनीहरू कान्छीको भट्टीतिर जान्छन् । कपिल नजिकै घरको भित्तामा अडेस लाएर एकटकसँग हेरिरहन्छ ।
प.ठि. : (गाउँदै) सधैं तल् तल् लाग्ने यै भट्टीको
बुझ कान्छी माया छ कत्तिको
बिसौनी भो वरैको छायाँले
फर्की आएँ म तिम्रै मायाले (अरू ठिटाहरू हा मा हा मिलाउँदै हल्ला गर्छन्)
भट्टीवाली : तोरी लाउेर आउँछ कि भनेर
भीरको बाटो सम्मै छ खनेर
बिसौनी भो वरैको छायाँले
फर्की आयौ खै के को मायाले । (हल्ला दोब्बर हुन्छ)
सबै जना मेचमा बस्छन् । भट्टीवाली टेविल अर्कोपट्टिको मेचमा बस्छे ।
दो.ठि. : (हात रगड्दै) आछुछु… कस्तो जाडो भा’को । खै ल्या त कान्छी के छ आज तात्तातो ।
भट्टीवाली : (शान्तसँग) केही छैन जाँड मात्र बाँकी छ । खान्छौ त ?
प.ठि. : खाऊ न त जाडोमा जाँडै खाइदिऊँ । (सबै हाँस्छन्) तासमा जितको पैसा छ नि । बिचरा चामे भुत्तिएर गा’छ । (हाँस्छन् । कपिल झस्कन्छ ।)
भट्टीवाली : (नोकर्नीलाई) जा त त्यो अर्को घैँटोको जाँड बनाएर ल्याइदे ।
नोकर्नी : कुन बीचको घैँटोको ?
भट्टीवाली : अँ हो ।
प.ठि. : हैन आजभोलि के भा’को गाउँमा जति खाए नि याँ आएर चिरिप्प नलाउँदासम्म मनै शान्त हुँदैन । (जिस्काउँदै) के नशा छ हँ कान्छी तिम्रो भट्टीमा ?
ते.ठि. : नशा भट्टीमा भन्दा पनि कान्छीमा छ नि ।
भट्टीवाली : (ठूलो स्वरले) क्या रे ? (ठिटो चुप लाग्छ ।)
(नोकर्नीले जाँड लिएर राखिदिन्छे । ठिटाहरू मस्तसँग पिउँछन् । थपीथपी पिउँछन् । सबैको जिब्रो लठ्ठिइसकेको हुन्छ । हल्ला गर्छन् ।)
दो.ठि. : (लत्पतिएको स्वरमा) जति खाए’नि जाडो हटेन ओ कान्छी, के गर्ने होला ? म त कठ्याङ्ग्रिसकेँ ओ … ।
प.ठि. : (उस्तै स्वर) अब कान्छीसँग दोहोरी पो खेल्ने हो कि क्या हो ? (भट्टीवालीलाई) खेल्ने हो ?
भट्टीवाली : (मुस्कुराउँदै) सक्छौ ?
प.ठि. : (जोस्सिदै) किन नसक्नू । (साथीसँग) खेलौ न त केटा हो । हामी पनि के कम होइन ? दिनभरि तास खेलेर बिताइयो । अब कान्छीसँग दोहोरी खेलेर बिताउन मरी के लानु छ र ओ… ।
अरू ठिटाहरू : हो हो ल ल सुरु गरौं न त ।
प.ठि. : ल मैले सुरु गर्छु है त ।
दो.ठि. : (भट्टीवालीसँग लोभिदै) हैन म सुरु गर्छु नि कान्छीसँग ।
प.ठि. : होइन म सुरु गर्छु ।
दो.ठि. : हुत् हुन्न म सुरु गर्छु ।
प.ठि. : त बढ्ता न हो त । गीत गाउँछु ।
दो.ठि. : तँ पनि कम छस् ? म गाउँछु भनेको किन सुन्दैनस् हँ ?
ते.ठि. : ए तिमीहरू चुप लाग त । (कान्छीलाई छुँदै) कान्छीसँग म गाउँछु दोहोरी ।
भट्टीवाली : (हात झटार्दिन्छे) खै छोड । (उठेर लोपर्दै) इस् खेल्छौ दोहोरी, अब जुहारी खेलेर बस् । (नोकर्नीलाई) ए, यिनीहरूलाई ढोका बन्द गर्दे ।
नोकर्नी : हस् (ढोका बन्द गर्छे ।)
प.ठि. : देखिस्, तिमीहरूले गर्दा कान्छीले गीत गाउन मानिन । गधाहरू ।
दो.ठि. : कसलाई गधा भनिस् (झोक्किँदै उठ्छ)
प.ठि. : तँलाई भनेको के गर्छस् ? (झगडा गर्छन् । गालीका शब्दहरू प्रयोग गर्छन् । समातासमात गर्छन् ।)
ते.ठि. : जे हुनु भैगो । चुप लाग तिमीहरू ।
प.ठि. : तँ उता जा । (धकेल्छ । उस्तै हाता हालाहाल कपिल छुटाउन जान्छ । ऊ पनि उसैगरी धकेलिन्छ र केही सोचेजस्तो गरी बाहिर निस्कन्छ ।)
प.ठि. : तैलें किन निहुँ खोज्छस् हँ ?
दो.ठि. : निहुँ तैले खोज्या कि मैले ? म तेरो गधा हो ?
प.ठि. : किन जबरजस्ती गरेको त । झन् रमाइलो गरौं भनेको ।
ते.ठि. : गरिस् रमाइलो । कुकुर बिरालोजस्तो झगडा गर्छस् अनि ।
दो.ठि. : कसलाई कुकुर बिरालो भन्छस् हँ तँ ? (फेरि ते.ठि.सँग तम्सन्छ । फेरि समातासमात ।)
एकछिनपछि दुईचार जना जवानहरू आइपुग्छन् । तिनीहरू स्थानीय समूहका मानिसहरू हुन्छन् । एक जना अभिभावकजस्ता देखिने मान्छे अगाडि आएर बोल्छ ः ए जवान हो समातौं यिनीहरूलाई । (अरू जवातहरू ठिटाहरूलाई समाउन जान्छन् ।)
प.ठि. : ए तिमीहरू बीचमा नआइज न । छोड्दे मलाई । (फुत्किन कोसिस गर्छ) हैन हामीलाई काँ लैजान लाग्या हँ ? (सबै ठिटाहरू छोड, छोड् भनिरहेका हुन्छन् । र लठ्ठिएर सिधा उभिनै सक्तैनन् । मुस्किलले लगिरहेका हुन्छन् ।)
०००
(कपिलको विद्यालयको दृश्य)
विद्याथीहरू मेचमा बसिरहेका हुन्छन् । कोही पढ्दै, कोही लेख्दै । शिक्षकको प्रवेश
विद्यार्थीहरू : (एक साथ) गुड मर्निङ सर ।
शिक्षक : गुड मर्निङ एभ्रिबडी, सिट डाउन् ।
विद्यार्थीहरू : थ्याङ्क्यू सर ।
शिक्षक : वेलकम, ल अब हाजिरी गरौं है ?
विद्यार्थीहरू : हुन्छ सर ।
शिक्षक : ल सुन । रोल नम्बर वान ।
विद्यार्थी : प्रिजेन्ट सर ।
शिक्षक : रोल नम्बर टु ।
विद्यार्थी : प्रिजेन्ट सर ।
शिक्षक : रोल नम्बर थ्री । (आवाज आउँदैन) रोल नम्बर थ्री कुलखा, नआ’को हो ?
कपिल : हजुर सर, कुलखा त हिजो गाउँमा रक्सी खाएर हिडिराख्याथ्यो । मैले किन यस्तो गरेको भनेको त सुन्दै नसुनेर गयो ।
शिक्षक : अहो ! त्यसलाई राम्रोसँग सम्झाएनौ ?
कपिल : मलाई टेर्दै टेरेन सर, उल्टै मलाई पो खा भन्दै थियो ।
शिक्षक : भैगो छोड । रोल नम्बर फोः ।
कपिल : प्रिजेन्ट सर । (यसैगरी हाजिरी गरेर सकिन्छ)
शिक्षक : ल भन त हामीले हिजो कुन पाठ पढेका थियौ ?
विद्यार्थीहरू : (एक साथ) ‘मदिरा सेवनका असर र त्यसको रोकथाम’ भन्ने पाठ सर ।
शिक्षक : हो हामीले हिजो मदिरा सेवन गर्दा हुने असरहरू र मदिराको रोकथाम कसरी गर्ने भन्ने बारेमा पढेका थियौं । मैले गृहकार्य पनि दिएको थिएँ होइन ? गरेका छौं ?
विद्यार्थीहरू : गरेका छौं सर ।
शिक्षक : ल देखाऊ त । (पहिलो वि.ले देखाउँछ) ऊ, ठीक छ है । (दोस्रो देखाउँछ) बाबु यहाँ हेर त, मदिरा सेवनजस्तो कुलतमा फसेका युवालाई सिधैं प्रहरी चौकी होइन तिनीहरूलाई सुधार केन्द्रमा लैजानुपर्छ । बुझ्यौं ।
विद्यार्थी : किन सर ?
शिक्षक : किन कि व्यक्तिलाई यातना होइन सजाय दिनुपर्छ । सजाय दिँदा पनि अति गर्न लागेपछि मात्र कानुनको प्रयोग गर्नुपर्छ । हिजो हामीले पढेको बिस्यौं ? (कपिललाई) कपिल तिम्रो गृहकार्य खोई ?
कपिल : (निहुँरिदै) सरी, सर । हिजो लेख्ने वातावरण नै मिलेन ।
शिक्षक : के भयो र कपिल ?
कपिल : (उस्तै निहुरिँदै) सर हिजो मेरो बाबाले …..
शिक्षक : (उत्सुकताका साथ) हँ के गर्नुभयो बाबाले ?
कपिल : बाबा गाउँदेखि मात्तिएर आएर किचकिच गर्न थाल्नुभयो । अनि बाहिर निस्किएँ । फेरि कान्छीको भट्टीमा केही ठिटाहरू जाँड खाएर झगडा गर्न लागे अनि …
शिक्षक : अनि तिमी चुपचाप हेर बस्यौ त ?
कपिल : होइन सर । छुटाउने प्रयास गरें । मानेनन् अनि दौडेर इन्द्रेणी युवा समूहका दाइहरूलाई खबर गर्न गएँ । उहाँहरूको सहयोगमा उनीहरूलाई अहिले सुधार केन्द्रमा लगिएको छ सर ।
शिक्षक : (हर्ष विभोर हुँदै) स्याबास् कपिल । तिमीले एकदम राम्रो ग¥यौ । वास्तवमा पढेको कुरालाई यसरी नै व्यवहारमा उतार्नुपर्छ । धन्यवाद धेरै धेरै धन्यवाद । (सम्हालिँदै) अँ सुन । आज तिमीहरूले गर्ने अर्को क्रियाकलाप पनि छ । हेर त ५ नम्बरमा के छ ?
विद्यार्थीहरू : ‘आफ्नो समुदायमा मदिरालाई नि?त्साहित गर्न स्थानीय समूहसँग सहकार्य गर ।’ भन्ने छ सर ।
शिक्षक : हो, सबै कुरा हामी एक्लैले गर्न सक्दैनौ । त्यस्ता कार्यमा स्थानीय क्लव, आमा समूह, युवा समूह जस्ता संघसंस्थाको धेरै ठूलो भूमिका रहन सक्छ । भोलि बिदा पनि छ । गाउँमा गएर तिमीहरूले यो क्रियाकलाप गर्ने है ? (घण्टी बज्छ) लौ त आज यति गरौं । बाई ।
विद्यार्थीहरू : बाई, बाई सर ।
०००
इन्द्रेणी युवा समूहको अध्यक्षको घर । उहाँकी आमा आगनमा बसिरहनुभएको छ । कपिलको प्रवेश ।
कपिल : नमस्ते ठूलीआमा ।
ठूलीआमा : नमस्ते बाबु । कहिल्यै गाउँ नडुल्ने मान्छे कहाँबाट आयौ आज ?
कपिल : अध्यक्ष दाइलाई भेट्न आ’को । काँ घरमै हुनुहुन्छ ? (पिढीमा गएर बस्छ ।)
ठूलीआमा : अँ घरमै छ बाबु । (भित्रतिर बोलाउँदै) गौरव, ए गौरव (नेपथ्यमा) (हजुर आमा ) बाहिर आ त कपिल भेट्न आएको छ । (बाहिर कतैतिर जान्छिन् । गोरब ढोकामा आइपुग्छ ।)
कपिल : दाइ नमस्ते ।
गौरव : नमस्ते, नमस्ते आइपुग्यौ कपिल ?
कपिल : अँ अरू कोही आइपुगेनन् कि क्या हो ?
गौरब : अँ भाइ, आउँदै होलान । (एकछिन पछि) गाउँमा जाँड र रक्सीले त बर्बादै बनायो नि भाइ ।
कपिल : हो त । स्कुलमा सरले मदिरा निरुत्साहित गर्न आमा समूहलेले पनि विशेष भूमिका खेल्न सक्छन् भन्नुभाथ्यो । खबर गर्न पाए राम्रै हुन्थ्यो होइन दाइ ।
गौरव : (मुस्कुराउँदै) खबर गरेका छौं सबैलाई । तिम्रो शिक्षकलाई पनि बोलाएका छौं ।
कपिल : (उत्तेजित हुँदै) ए । हो र ? (पुरूष र महिला गरी आठ दश जनाको समूह आइपुग्छन्)
गौरव र कपिल : नमस्कार सबै जनालाई ।
सबैले : नमस्कार । नमस्कार ः (कोही एक जना) आउन अलि ढिला भयो है अध्यक्षज्यू ।
गौरव : केही छैन (गुन्द्री विछ्याइदिन्छ) बसौं, बसौं यतै बसौं । (सबै जना बस्छन्)
भित्तल : (जुंगा मुसार्दै) लौ त साथी हो पछि आउनेहरू आउँदै गर्लान् । हामीले छलफल सुरु गर्दै गरौं कि कसो ?
अरूले : हो हो गरिहालौं ।
आमा समूहकी अध्यक्ष : हो त समय किन खेर फाल्नु । बरू के छ छलफलको विषय ?
गौरव : (गम्भिरताका साथ) हजुरहरूलाई त थाहै छ । जाँड रक्सीले समाजलाई कसरी बिगारिहेको छ । कसरी पछाडि पारिरहेको छ भन्ने कुरा त्यति मात्र होइन पारिवारिक सम्बन्ध र सामाजिक वातावरण खल्बलिरहेको तथ्य हामीले भोगेकै कुरा हो । अस्ति मात्रै ३/४ जना युवाहरूलाई सुधार केन्द्रमा लगिएको छ । अझै पनि कति जनालाई लैजानुपर्ने हो । त्योभन्दा मदिरालाई निरुत्साहित गरे यस्तो समस्या आउँदैनथ्यो कि भन्ने हो । यसमा के छ तपाईहरूको विचार ?
भित्तल : (औंला उठाएर) ठीक हो । हाम्रो गाउँको समस्या हामी आफैले समाधान गर्नुपर्छ । र अर्को कुरा युवाहरूलाई कुलतबाट बचाउन अभिभावक स्वयम् सचेत रहनुपर्छ । उनीहरूको अगाडि मदिरा सेवन गरे उनीहरू त्यसैको सिको गर्छन् । यो हामीबाटै बदलिनुपर्छ ।
हस्तदल : हो त त्यसमाथि पनि आजकालका केटाकेटीहरू नक्कल गर्न कति जानेका नि ।
गौरव : काकाहरूले ठीक भन्नुभयो । फेरि मदिरा सेवनले घाटा हुने त आफैलाई त हो नि । आफूलाई मात्र होइन घरपरिवार र समाजमा पनि प्रत्यक्ष असर पर्नेछ ।
कपिल : आफ्नै स्वास्थ्यमा पनि त नराम्रो असर पर्छ । यदि हामी सबैले यस्तै कुरा बुझिदियौ भने समाज त त्यसै पनि राम्रो हुन्छ नि ।
बालाराम : तर रक्सी नभई कामै चल्दैन ।
दीपक : होइन काका । रक्सीविना कामै चल्दैन भन्ने हाम्रो मानसिकता हामीबाटै हटाउनुपर्छ । फेरि तपाईले त झन् टन्नै भैसी पाल्नु भा’छ । जाँडको सट्टामा दूध दही खानोस् । आफ्नै भएकोले पैसा पनि नपर्ने, स्वास्थ्यलाई पनि राम्रो ।
गौरव : हामीले मदिरा सेवनमा मात्र होइन मदिरा बनाउनमा पनि रोक लगाउनुपर्छ । र मदिराको विकल्पमा दीपकजीले भन्या जस्तै दही, दूधलाई प्रयोग गर्न सक्छौं नि, होइन र ? के छ आमा समूहकी अध्यक्ष काकीको राय ?
आ.स.अ. : ठीकै छ नि हामीले बनाएको चिजले हामीलाई नै असर गर्छ भन्ने थाहा हुँदाहुँदै हरेक आमाहरूले जाँड बनाउन रोकिदिनु पर्‍यो ।
प्याउली : घरकाले मान्लान् र दिदी ?
गौरव : (मुस्कुराउँदै) एकैचोटी नमान्लान् तर विस्तारै मान्छन् । तर गाउँको नियम सबैले मान्नुपर्छ भाउजू ।
भित्तल : ल बाबु बरू निर्णय लेखिहाल । (सबै जना उत्साहित देखिन्छन् ।)
गौरव : (बैठक पुस्तिका दिँदै) दीपकजी, तपाईले लेख्नोस् त । (दीपक लेख्न थाल्छ ।)
हस्तदल : (गर्व गर्दै) अब मेरो लफङ्गो पनि सुध्रिने भयो ।
बालाराम : मेरो कुलखा पनि बिग्रिसकेथ्यो । अब म पनि खान्नँ हेरौंला त्यसले पनि कसरी खाँदोरै’छ ।
नौली : अब त मलाई पनि घरको काममा सहयोग गर्छन् कि ? (शिक्षकको प्रवेश)
शिक्षक : नमस्कार है सबै जनालाई । (सबैले नमस्कार फर्काउँछन् ।)
कपिल : नमस्कार सर ।
शिक्षक : नमस्ते । के छ कपिल ? (कपिलकी आमा मुस्कुराउँछिन् ।)
गौरव : सर हामीले त निर्णय पनि लेखिसक्यौं ।
शिक्षक : ठीक छ नि । यो सप्तरंगी युवा समूहबाट जुन कामको अपेक्षा गरेको थिएँ त्यो आज पूरा गर्नुभयो । बधाई छ तपाईहरूलाई ।
दीपक : (उठेर) लौ है त सबै जनाले अब निर्णय सुनौं है त । (सबै जना उठ्छन् ।) यस सप्तरंगी युवा समूह मिरूल–३, माखोलाको विशेष पहलमा यस ३ नम्बर वडामा पूर्ण रूपले जाँड रक्सी बन्द गरिएको व्यहोरा जानकारी गराइन्छ । अटेरी गरी कुनै पनि व्यक्तिले मदिरा सेवन, उत्पादन तथा बिक्री वितरण गर्ने गरेको पाइएमा कानुनबमोजिम कारवाही गरिनेछ भनी सबैको सहमतिबाट निर्णय पारित गरियो । (सबैले ताली बजाउँछन् । भट्टीवालीको प्रवेश)
भट्टीवाली : (झोक्क्दिै) पर्ख । (अगाडि सर्दै) भन त कसले बनायो यो नियम ? (ठूलो अवाजमा) कसले बनायो यो नियम ? म मान्दिनँ । म मान्दिनँ । (सबै जना चुपचाप हेरिरहेका हुन्छन् ।) बुझ्यौ ? (शान्त हुँदै) अब म पनि जाँड रक्सी बेच्दिनँ बरू कपडा सिलाउन सिक्छु भनेर सियो किन्न गा’थें । (सबै जना खुसी)
कपिल : (हतारिँदै) दिदी आमाले ड्रेस किन्दिनुभा’छ, ल्याइदिन जान्छु है ?
(सबैजना हाँस्छन् । ताली पिट्छन् ।)
पर्दा खस्छ ।

०००

TAGS: एकाङ्की