गेथाती

किस्मत बुढामगरका मुक्तकहरू

किस्मत बुढामगर
१३ जेष्ठ २०८३, बुधबार
  • उर्लेका खुशीको भेललाई बार्नेछु अब
    मनभित्रका ती चाहलाई मार्नेछु अब
    आफै भित्रभित्रै गुम्सिएका रहरलाई
    झुठो आश्वासन दिई अब टार्नेछु अब !
  • हर्ष बिभोर भएछु सधैँ साथ दिन्छु भन्यौ सानु
    आँखा रसाइदियो पीडा सबै लिन्छु भन्यौ सानु
    आजसम्मका मेरा तपस्या सफल भो सायद
    लुटिएका ति मेरा खुशीहरू छिन्छु भन्यौ सानु !
  • देउताको आँखा आँसुले भराउनुपर्ने भयो
    आफ्नो अधिकारको लागि कराउनुपर्ने भयो
    किन हुन सक्दैन आफूले चाहेको जस्तो यहाँ
    भविष्यको कल्पनासित डराउनुपर्ने भयो !
  • झन् झन् बढ्दै जाने अभिलाषा भयो
    कहिले नि पूरा नहुने एक आशा भयो
    समयको खेलसँग नै रूमलिँदै जाने
    बुझाएर बुझ्न नसक्ने परिभाषा भयो ।
  • विश्वास गर्ने गाह्रो हुने बनावटी कहानीको
    पर्खाइमै बस्नुपर्ने रात कुर्दै बिहानीको
    अतीत यो बल्झिदिन्छ नचाहेरै घरिघरि
    भमराझैँ रस चुस्दै छाड्दै हिँड्ने बेइमानीको ।
  • तिमीभित्रै यो मनले डेरा, कसेपछि थाहा पाएँ
    छुटाउन गाह्रो रैछ माया, बसेपछि थाहा पाएँ
    तिम्रै दिलको फूलबारीमा, खोजें माली बन्न
    फुल्दा फुल्दै मझेरीमा, खसेपछि थाहा पाएँ ।
  • एक्लै थिएँ जिन्दगीमा हात दियौ तिमीले
    नजिकिँदै गयो दूरि साथ दियौ तिमीले
    मनको पर्दा उघारेर तिमीलाई हेर्दाखेरि
    शीतल शीतल चाँदनीको रात दियौ तिमीले ।
  • सधैँ आँसुमा डुब्थें हाँस्न सिकायौ तिमीले
    मरेतुल्य थिएँ बाँच्न सिकायौ तिमीले
    रङ्गमञ्च के हो थाहै थिएन मलाई
    आफ्नै दिलमा नाच्न सिकायौ तिमीले ।
  • मागेकी छु तिमीलाई तिम्रो जवानी होइन
    हृदयदेखि नै माया गर्नु मेरो बेइमानी होइन
    तिम्रै कल्पनामा डुब्छन् मेरा पलहरू अचेल
    तिमी पनि छौ बराबरी मेरो मात्र कहानी होइन ।
  • घाइते थिएँ मुटुलाई सिउन बाध्य भएँ
    टाढा हुँदा आफन्त नै जिउन बाध्य भएँ
    जिन्दगीका चोटहरू बल्झिदिँदा आजभोलि
    नचाहेरै अतीत सम्झी पिउन बध्य भएँ ।
  • वर्षासरि झर्ने आँसु आँखामा नै थुन्छु अचेल
    एक्लै हुँदा जिन्दगीमा अतीत सम्झी रून्छु अचेल
    बिर्सु भन्छु बल्झिदिन्छ सम्झनाका छालहरू,
    सपनीमा सधैँजसो तिम्रै काखमा हुन्छु अचेल ।
  • मनको कुनामा अलिकति रहर पोको पारेर
    घाम, पानी केही नभनी जिन्दगीलाई खारेर
    आज रोए पनि भोलि हाँस्ने अभिलाषा बोकी
    मेहनतको फसल उब्जाउँदैछु मरभूमि बारेर ।
  • जुन खोलाको तिमीले पानी खायौ बैरी
    त्यहीँ खोलामा तिमीले विष लायौ बैरी
    गर्ने नगर्ने कर्म गरिसकेपछि
    के माग्न मन्दिर मस्जित धायौ बैरी ?
  • आज मलाई किन किन मरे जस्तै लाग्यो
    मेरो नाममा खरानी छरे जस्तै लाग्यो
    अन्याय र अत्याचारले सीमारेखा नाघ्दा
    सुन्दर सृष्टिमै खडेरी परे जस्तै लाग्यो ।
  • दुई मनको दूरी घटाउने दिन हो प्रेमदिवस
    माया नै माया झन् बढाउने दिन हो प्रेमदिवस
    छन् भने कोही मन परेका मान्छे, भन्न नडराऊनुस्
    माया गर्छु भनी बताउने दिन हो प्रेमदिवस ।
  • मायाको रङ भरेर बिताऔँ प्रेमदिवस
    प्रेमको सुगन्ध छरेर बिताऔँ प्रेमदिवस
    ओ,.. प्रेमिल मनहरू छालसँग नडराऊनोस्
    मायाको सागर तरेर बिताऔँ प्रेमदिवस ।
  • सधैँ एउटै कुरा मात्र कति कति सम्झनु
    देशमा भइरहेको यो दुर्गति कति सम्झनु
    आउँछ पीडा दिन्छ अनि टिपेर लान्छ
    हर दिन यो मानवीय क्षति कति सम्झनु ।
  • विषालु शहर नशामा पट्टियौ कि कतै
    मन्द विषमा बिस्तारै लठ्ठियौ कि कतै
    त्यो शहरले धेरै कहानी निलेको छ साथी
    तिमी पनि उतैतिर सट्टियौ कि कतै ?
  • जति कोसिस गर्दा पनि जरूर हुन सकिनँ
    भए पनि प्रेममा पागलै एकसुर हुन सकिनँ
    तिमीलाई त खै के लाग्छ बुझ्नै सकिन मैले
    मलाई त लाग्छ मात्र तिम्रो सिन्दुर हुन सकिनँ ।
  • म यता, उनी उता बेकारमा मन दुखेको छ !
    मनभित्रका कुरा लक डाउनमै लुकेको छ !
    संसारमा हावा बहँदा जीवनमा त्रास पर्दा
    उनलाई भेट्ने चाह दुई दिनमै सुकेको छ !
  • मायामा कुनै वर्ग हुँदैन कुनै जात हुँदैन
    एक अर्कामा लुकाउनुपर्ने बात हुँदैन
    भन्ने गर्थ्यो हर शुभ तिम्रो हाल सोध्छु
    बिर्सियौ कि तिम्रो शहरमा रात हुँदैन ।
  • समयले कहिले बाँच भन्छ कहिले मर भन्छ
    मलाई पानी माथि दौडिएर सागर तर भन्छ
    आफू फूलैफूल बिछ्याइएको बाटो हिँडेर मलाई
    नाङ्गै खुट्टाले काडाको सफर गर भन्छ ।
  • खै किन हो भित्रभित्रै दिल दुखिरहन्छ !
    प्यासले हो या सुगरले घाँटी सुकि रहन्छ !
    कति नरमाइलो रात जताततै सुनशान;
    रातैभरि नराम्रो स्वरले कुकुर भुकिरहन्छ !
  • सबै बुझेँ मैले तर यो संसार कसरी बुझ्नु
    मान्छे मार्ने ईश्वरको विचार कसरी बुझ्नु
    जन्मदिने उनीले नै मार्ने पनि उनी नै हुन
    भने यो उनको दया अत्याचार कसरी बुझ्नु ।
  • जिन्दगीमा बहार कम दूरी धेरै हुँदोरहेछ
    खै किन ! खुशी भन्दा मजबुरी धेरै हुँदोरहेछ
    मनभित्र त हर्ष आउनु नै हुन्न कदापि पनि
    खुशी अलिकति दुःखको हुरी धेरै हुँदोरहेछ ।
  • आफ्नैले दिएको जहर पिएर फर्कदै छु
    जहर दिनेलाई आभार दिएर फर्कदै छु
    आफ्नै माया वापस लिन गएको थिएँ म
    अपमान थोरै उनीबाट लिएर फर्कदै छु ।
  • दुःख बिसाएर तिमीसँग रून खोज्नु भुल भएछ !
    धेरै टाढा थिएँ म नजिक हुन खोज्नु भुल भएछ !
    म त एक अस्तित्व हुँ यहीँ धर्तिको थाहा मलाई
    आकाशको तारा तिमी छुन खोज्नु भुल भएछ !
  • मनपर्ने मान्छेलाई समाउन नपाउँदा दुःख लाग्छ
    अङ्कमाल गर्दै माया लाउन नपाउँदा दुःख लाग्छ
    खै कुन उद्देश्य लिएर आयौ कोरोनाको नाममा
    म आफ्नै अनुहार देखाउन नपाउँदा दुःख लाग्छ ।
  • धेरै कुरा गर्नु थियो तर भेट्न सकिनँ !
    तिमी मेरो नभए नि याद मेट्न सकिनँ !
    मर्छु भनी हातमा छुरा लिइ सोचिहेरेँ;
    तिम्रो माया सम्झी, घाँटी रेट्न सकिनँ !
  • कसरी बोलाउँ हेर तिमीलाई म हारेको मान्छे
    के साइनो लगाउँ तिमीलाई म टुटेको मान्छे
    पाइलापाइलामा ठोकर खाएर बाँच्दैछु भने !
    कसरी स्विकारे तिमीलाई म भत्किएको मान्छे ।
  • सानी थियो उसको नाम, मैले सानू भन्दिएँ !
    छुट्टीएर जान्छु भन्थी ऊ मैले जानू भन्दिएँ !
    बिदाइमा के दिन्छौ उपहार भनिरहन्थी ऊ
    उपहारमा मेरा सबै खुशी पनि लानु भन्दिएँ !
  • जब यी ठुला शहरले मृत्यु छेक्न सक्दैन
    मान्नुहोस् कलमले जीवन लेख्न सक्दैन
    जता टेके नि धर्ती फाटेझैँ लाग्दछ हजुर
    बुझौँ विज्ञले पनि भविष्य देख्न सक्दैन ।
  • तिमीलाई सम्झी डाँको छोडी रुन मन लाग्छ !
    दिनरात सधैँ आँसुले यो मुहार धुन मन लाग्छ !
    न त निद्रा लाग्छ रातमा न त दिनमा भोक नै
    नबोले पनि तिम्रा ती तस्वीर छुन मन लाग्छ !
  • संस्कृतिमा हामी निकै धनी छौँ
    हृदयको सफा, ज्ञानी र गुनी छौँ
    आज्ञाकारी लम्पसारवादी भएर
    त्यसैले आजसम्म निरोगी छौँ !
  • खै किन हो भित्रभित्रै दिल दुखिरहन्छ !
    प्यासले हो या सुगरले घाँटी सुकिरहन्छ !
    कति नरमाइलो रात जताततै सुनशान;
    रातैभरि नराम्रो स्वरले कुकुर भुकिरहन्छ !
  • कोही पानी हुँ भनी सुनामी बनेर आउँछन् !
    कोही हरियाली वसन्त हुँ म भनेर आउँछन् !
    जालझेल षडयन्त्र नि कति गर्न सक्या हुन्;
    कोही आफ्नै लागि खाल्डो खनेर आउँछन् !
  • त्यसरी दिल नजलाऊ मेरो नाउमा
    बनाएर आँसुको तलाउ मेरो नाउमा
    अनमोल रत्न जस्ती तिमी तेस्तै रहनू
    नघटाऊ आफ्नै भाउ मेरो नाउमा ।
  • दुईपाटा फरक फरक, क्वाइनसँग डर लाग्छ
    नशारूपि पानी जस्तै वाइनसँग डर लाग्छ
    अफवाह फैलाउँछन्, कोरोनाले लग्यो भन्दै..
    लाने हुन् कि ? कतै क्वारेन-टाइनसँग डर लाग्छ ।
  • आकाश छुने सपना देख्न पनि छाडिदिएँ
    अधुरै छ कहानी लेख्न पनि छाडिदिएँ
    दुनियाँ नै हामी दुईको, विपक्षमा उत्रेपछि,
    उसको घरमा पाइला टेक्न पनि छाडिदिएँ ।
  • कोरोनाको डर त्रास र भय धेरै नलिनुहोला
    सबैलाई नमस्कार गर्नु तर हात नदिनुहोला
    कतै जाँदा माक्स लगाएर मात्र हिँड्ने गर्नूं
    तर ज्यान सङ्कटमा छ भीडभाडमा नजानुहोला ।

    ०००

TAGS: नेपाली मुक्तक