गेथाती

कथा : ऊसँगको भेट

लोक आलोक
२७ आश्विन २०८०, शनिबार

आज बिहानै ऊ अनायासै भेटियो । मैले सोचेकी थिइन, यति बिहानै ऊ भेटिएला भन्ने । वास्तवमा ऊ नभेटियोस् भनेर नै मैले एकाबिहानै मेरो बाटो तताएकी थिएँ र पुग्नु पनि टाढै थियो । अकस्मात् ऊ भेटियो । भेट भएपछि मनभित्र जेजस्तो भए पनि अभिवादनको आदानप्रदान त गर्नैप¥यो । ऊ नभेटियोस् भन्ने सोचाइ राख्नुको पनि एउटा कारण त अवश्य छ । खासमा के भने विगतका समयमा हामी भेटघाट हुने गथ्र्यौं, ऊसँग भेट हुन मन लागिरहन्थ्यो । उसलाई पनि त्यस्तै हुँदो हो र त उसले पनि भेट्ने प्रयास गर्दो हो । दुबै जनाको प्रयास भएपछि भेट नहुने कुरै भएन, भेट भइरहन्थ्यो । कहिले म आफै उसलाई भेट्न जान्थें, कहिले ऊ आफै मलाई भेटन आउँथ्यो । भेट हुँदा भेटको औचित्य नखुल्ने तर भेट हुन मनचाहिँ लागिरहने हुन्थ्यो, यद्यपि हामी त्यस्तो उमेरका होइनौं । उसको आफ्नै परिवार छ, मेरो आफ्नै परिवार छ । यसको अर्थ ऊ कसैको श्रीमान् हुनु र म कसैकी श्रीमती हुनु हो ।

सात आठ वर्ष अघि कुनै काम परेको हुँदो हो उसलाई भेटनुपर्ने । गएँ, भेटें । तर यो नै पहिलो भेटघाट भने होइन । त्यो भेटका लागि जाँदा मेरो कपाल अलि अस्तव्यस्त भएको रहेछ । उसले अनायासै मेरो टाउकोबाट छितरिएको कपालका लट्टाहरू तह लगाइदियो । हाम्रो भेटको औपचारिकता समापन भएपछि हामी छुट्टियौं । उसले मेरो कपालका लट्टा तह लगाइदिएको नभएर मेरो मनमा कुनै प्रकारको द्वन्द्व घुसाइदिएछ क्यारे । मलाई उसको त्यो हरकतको झझल्को लागिरह्यो । एउटा अनौठो सोचाइ बनिरह्यो किन छोएको होला, मेरो कपाल उसले ? के उसले सबैको कपाल यसैगरी छुने प्रयास गर्छ ? कि मेरो मात्र कपाल छोएको होला ? यस्तै यावत कुराहरू सोंचेँ । फेरि भेट्न मन लाग्यो, भेट्न गएँ फेरि कपालको अवस्था उस्तै रहेछ, भलाकुसारीमा नै नजानिदो तरिकाले फेरि उसले मेरो कपाल तह लगाइदियो । पछि ऊ झस्क्यो, ‘‘आबुइ ! मैले के गरेँ ?” भनेर ऊ आफैले अप्ठ्यारो महसुस गर्‍यो । मलाई थाहा भयो, उसले थाहा नपाएरै मेरो टाउकोमा हात खेलाउन पुग्दोरहेछ तर उसको स्पर्श मलाई ननिको लागेको होइन ।

यसपटक मैले उसको फोन नम्बर माग्न भ्याएँ र डायल गरेँ । उसकोमा मेरो फोन नम्बर गयो । अब हामी फोनबाट कुरा गर्ने पनि भइसकेका थियौं । फोनमा कुरा हुने क्रममा ऊ घर गएको समयमा मैले फोन गरिछु, उसले फोन उठायो, फोन उठाउनासाथ मैले अनायासै सोधेछु “कहाँ हुनुहुन्छ ?” भनेर । यो त सामान्य नै भयो नि हैन र ? उसले आफू घरमा पुगेको कुरा बताउने बित्तिकै मेरो मुखबाट फेरि पनि फुत्केछ, “किन गएको घर ?” यो त सोध्न हुन्न थियो नि मैले । उसले अलि गम्भीर भएर भन्यो, “हैन घर त आउनै पर्‍यो नि ।”

“ए.. घर पुगेको मान्छेसँग फोनमा के कुरा गर्नु” भनेर मैले पो फोन काटेछु । खै मलाई के भएथ्यो है अहिले सम्झदा लाज लाग्छ । फोन नगरेर त कहाँ सक्थेँ र मैले उसलाई ? फोन त गरिहाल्थेँ, उसले पनि मेरो फोन भनेपछि पहिलो रिङ वा दोस्रो रिङमै उठाइहाल्थ्यो ।

जब ऊ उसको घरबाट टाढा र म पनि मेरो घरबाट टाढा हुन्थ्यौँ, भेट हुने स्थिति निर्माण भइहाल्थ्यो । एकदिन गर्मीको समयमा म उसलाई भेट्न गएँ । एक्लै भेट्न गएको थिएँ, उसकै कोठामा । गर्मीका कारणले मेरो शरीरबाट साह्रै पसिना आएर आउटर विएर समेत पसिनाले भिजेको थियो । आउटर विएर खोलेर उसको खाटमा हुइक्याएर म धारामा गएँ, हातमुख धोएर फर्कदा उसले मेरो आउटर विएरलाई ओल्टाइपल्टाई सुँघ्दै थियो । “ए, ए, त्यो के गरेको ? त्यो के सुघेको ?” भन्दै म ढोकाभित्र छिर्दा ऊ अलि लज्जित भए जस्तै गरी भन्यो, “तपाईको शरीरमा पसिनाले कस्तो गन्ध निर्माण गर्दोरहेछ भनेर जाँचेको मात्र नि ।” सोधेँ, “कस्तो गन्ध छ त ?” भन्यो, “कुनै गन्ध नै छैन यो पसिनाले भिजेकै होइन जस्तो छ । कति राम्रो स्वस्थ शरीर ।” उसले फेहरिस्त सुरु ग¥यो, उसकी श्रीमतीको त यसरी पसिनाले कपडा भिजेपछि अलि अनौठो र नमिठो खालको गन्ध आउँछ रे । उसले एकजना नानीलाई पढाउन र सहयोग लिनको लागि आफ्नो कोठामा राखेको थियो रे, त्यो नानी स्कूलबाट कोठामा आएपछि ऊचाहिँ कोठामा पस्नै सक्दैन थियो रे । ‘जा धारामा गएर नुहाएर आ’ भनेर नुहाउन लगाएपछि मात्र कोठामा बस्न सक्थ्यो रे । एकचोटि ऊ एसएलसी परीक्षाको निरीक्षक भएको रे, परीक्षा हलमा अलि ढिलो गरी आइपुगेकी एकजना छात्रा परीक्षार्थीको पसिनाको गन्धले परीक्षा हलभित्रै झन्डै बान्ता गरेको रे, उसले । म भने मख्ख भएँ, उसले मेरो पसिनामा गन्ध छैन भनेपछि । हो, उसले यो कुरा साँचो भनेको हो । मेरो शरीरमा कुनै गन्ध छैन भनेर मेरो श्रीमान्ले पनि भन्ने गर्छ ।

सूचना प्रविधिको जमानाले हामीलाई पनि अछुतो राख्न कहाँ सक्यो र ? उसले त ल्याप्टप नै किनेछ, मैले पनि फेसबुक एकाउन्ट खोलेँ । उसको त कुरै नगरौँ । एकजना विदेशमा काम गर्ने मेरो भतिजो भयो पहिलोपटक उसको र मेरो साझा साथी । त्यही साझा साथीकोमा उसको नाम देखेँ प्रोफायल खोलेर हेरेको ऊ नै रहेछ । साथीत्वको अनुरोध पठाइहालेँ तत्कालै । ऊ पनि अनलाइमा नै रहेछ, स्वीकार गरिहाल्यो उत्नीखेरै, बस् अब के थियो र । सुरुसुरुमा नमस्कार आदानप्रदान सामान्य कुराकानी भलाकुसारी बार्तालाप हुँदै पछिपछि गएर अलि गम्भीर प्रकृतिका च्याट हुन थालेका हुन् । एकदिन मैले फेसबुक खोलेँ, ऊ त झन अघि नै अनलाइनमा रहेछ । मलाई ऊसँग जिस्किन मन लाग्यो अनि लेखेँ,
“अरू काम छैन ? ”
उसले पनि लेखी पठायो, “के घरकी श्रीमतीलेझैँ हकारेकी ?”
लेखेँ, “घरैकी नभए पनि नजिकको त हुँ नि ।”
ऊ जिस्क्यो, “कति नजिकको महसुस गर्नुहुन्छ ?”
मैले जिस्काएँ, “नाप्नलाई स्केल नै दिनुभाको छैन नि त ।” अलि असरल्लिदै उसले लेख्यो, “स्केल त किन्नुप¥यो नि ?” यति भनेर ऊ अनलाइनबाट छिप्यो ।

अर्को कुनै दिन म अनलाइनमा थिएँ, केहीबेरपछि ऊ पनि अनलाइमा आएछ, देखियो । बोलाउने काम त मेरै, भनेँ “नमस्कार सर ।” ऊ पनि कहाँ कम हिजो आज प्रत्युत्तर गर्न निकै सिपालु भाको छ । भन्यो “नमस्कार म्याडम ।” मलाई यो खासै मीठो लागेन ।
मैले भनेँ, “के हो साइनो नभएको जस्तो ?” उसले लेख्यो, “साइनो छ भने आफूले नि साइनोसँग बोल्नु नि, नभएको साहिनो के खुट्याऊँ यतिखेरै मैले ।” यतिखेर मैले बाइ लेख्दै फेसबुक बन्द गरेँ ।

एकदिन मोबाइलमा घन्टी आयो हेरेँ, उसैको कल रहेछ उठाएँ । कहाँ हुनुहुन्छ ? भनेर सोध्यो । म पायल्स भएर बिरामी भएकी थिएँ र अस्पतालमा थिएँ त्यसैले भनेँ, “म अस्पतालमा छु ।” उसले अत्तालिएर सोध्यो, “किन के भएको हो र ?” मैले मसिनो आवाजमा फेहरिस्त बताएँ, “मलाई पायल्स भएको रहेछ । ब्लिडिङ भएर रगत जति सबै समाप्त भएको छ । अप्रेशन गर्नुपर्छ रे । पैसा छैन, कसरी उपचार गर्ने ?” उसले भन्यो, “उपचार गराउनैपर्छ, पैसाको चिन्ता नगर्नुस्, म पठाइदिन्छु पैसा ।” तर विशेष कारणले हाल औषधि मात्र खाने र पछि अप्रेशन गर्नुपर्ने भयो । म अस्पतालबाट डिस्चार्ज भएँ । उसले फोन गर्दैरह्यो, “कस्तो छ उपचार ? अप्रेशन के हो, कैले हो ?” नजानिँदो तरिकाले हामी निकटताको बिन्दुतिर तानिँदै रहेछौँ जस्तो मलाई लाग्यो ।
सहरमा म बस्ने ठाउँमा धेरै मानिसहरू हुने भएकोले ऊ मलाई भेट्न कम आउने गथ्र्यो । म नै उसको शान्त र एक्लो कोठामा बढी जान थालेकी थिएँ । एकदिन दिउँसोको नास्ता खाने समयमा पुगेकी थिएँ । चिउरा, दालमोट, काजु, बिस्कुटको नास्ता खानलाई एउटा थालीमा राख्यो । पानी खाने गिलास पनि एउटा मात्र रहेछ, त्यसैमा पानी राख्यो । विविध कुराकानी गर्दै नास्ता खायौँ । मैले पानी खाएँ तर त्यही पानी मैले ए..ए.. भन्दाभन्दै उसले पनि खाइहाल्यो, मैले रोक्दारोक्दै । भन्यो, “हेर्नुस् यो पनि एउटा परीक्षण हो । मलाई धेरै मानिसको जुठोले फिट खाएको पाएको छैन । तत्कालै एलर्जी हुनेगर्छ, तर खै त तपाईको जुठोमा त केही फरक परेन नि । बरू तपाईलाई कुनै अप्ठ्यारो ?” यति कुरा हुँदै गर्दा उसले कताबाट मेरो कुर्ताको तुरपाइ फुत्केकोमा आँखा लगाएछ । भन्यो, “हिजोआज तपाई निकै व्यस्त हुनुहुन्छ जस्तो छ, यो तुरपाइ फुत्केको पनि नबनाएरै यत्तिकै लगाएर हिड्नुभाको छ । फेर्नलाई अर्काे छ भने यो यही छोडनुस्, म बनाइदिउँला ।” तर मसँग ठिक त्यतिखेर अर्को कपडा थिएन । भनेँ, “ल्याएकी छैन ।” फेरि कपालको एक झुप्पा गालामाथि फुस्केछ । उसको छिप्पिएको हातले तह लगाइदियो । हेर्दा छिप्पिएको देखिने उसका हातको स्पर्श भने किनकिन नरम र मुलायम महसुस हुन्थ्यो ।

हामी यसरी भावनात्मक एवम् भौतिक रूपले निकट हुँदै गरेको अवस्थामा विभिन्न कारणले भौगोलिक दूरीको मार खेप्ने स्थिति फेरि आइलाग्यो । सधैं एकैनास पनि हुने कुरा भएन । मैले सोँच्ने गर्छु हिजोआज, अब त हामी एकआपसमा भावनात्मक रूपले पनि टाढिनु आवश्यक हो । सम्भवतः ऊ पनि यस्तै सोच्तो होला । भौगोलिक हिसाबले त टाढा भयौँ तर भावनात्मक हिसाबले टाढिनु सजिलो भेटाएन मलाई । उसलाई दिनानुदिन बिर्सदै जानुपर्छ भन्ने मेरो सोचाइ नै उसको सम्झना गराउने काँडो भएर बिझाउँदो छ, हिजोआज । हामी अब विगतका दिनहरूमा जस्तो भेट हुन पाउँदैनौँ, म टाढा छु, ऊ टाढा छ । भावनामा त के हो दूरीमा ।

हिजो मात्र विशेष कामले म उसको कार्यक्षेत्रतिर गएकी थिएँ, फोन लगाउन मन लागिहाल्यो । मेरो फोन भनेपछि उसले त खुशी भएर होला सायद, चाँडै नै उठाइ पनि हाल्यो र मलेसियाको हालखबरबारे केही सूचना प्रवाह ग¥यो । मैले उसको क्षेत्रमा आइपुगेको जानकारी दिएँ, किन दिएँ हुँला ? एउटा अपेक्षा प्रत्यक्ष भेटको जिकिर गरेछु सायद तर उसले असमर्थता जनायो । मेरो एक मनको छेउले भन्यो ठिकै छ, भेट नहुनु जाती छ, तर मनै न हो अर्को छेउले भने भेट त हुन पाए राम्रो हुने थियो भन्दै थियो, अब सायद जिन्दगीभरि नै भेट नहुन पनि सकिन्छ ।

मैले आजै फेरि टाढाको साइत निकालें, निकाल्नै पर्ने हुन्थ्यो, एउटा बाध्यता । बिहानै म आफ्नो गन्तव्यतिर लागें । हुनसक्छ मलाई भेट्नैको लागि ऊ पनि एका बिहानै हिडेछ । अनायासै हाम्रो भेट भयो, भेट नहुनुपथ्र्यो तर भयो । बाटामा भेटियो, नभेटिनु पर्थ्यो, यो एक मनको साेंचाइ मात्र हो । अर्को मनले त भन्थ्यो हाम्रो भेट होओस्, आज पनि मेरो बिग्रिएको कपाल उसको हातले तह लगाइदेओस् । अझ मलाई उसले आफ्नो छातीमा टाँसोस्, मेरा अधरहरूमा मीठो चुम्बन देओस् । भेट त भएको हो तर यी मेरा अपेक्षा कहाँ पूरा हुनु बाटैमा । भो हामी टाढिनुछ, भौतिक रूपमा पनि र भावनात्मक रूपमा पनि । किनभने म अरू कसैकी हुँ, ऊ अरू कसैको हो । विगतलाई एउटा क्षणिक संयोग मान्नुपर्ने हुन्छ । दिनदिनै बिर्सदै जानुपर्छ भन्छु तर …..
डाँडैमाथि वन, बिर्सूँ भन्छु कसैलाई दिन दिन झल्को लाग्छ झन ।

०००