गेथाती

हाता खेल्ने : मगर जातिको युद्धकला

टीकाराम उदासी
२ मंसिर २०८०, शनिबार

१. आरम्भ
मगर जाति नेपालको एउटा आदिवासी जनजाति हो । नेपालको मध्यपहाडी क्षेत्र मगरहरूको ऐतिहासिक थलो मानिन्छ । मगर जातिको बसोवास रहेको यस क्षेत्र आज पनि मगरातका नामले चिनिन्छ । यस जातिको आफ्नै मौलिक इतिहास, भाषा र संस्कृति रहेको छ । विशेषगरी भाषाका आधारमा रिडी गण्डकी पश्चिमको मगरातलाई अठार मगरात र रिडी पूर्वको क्षेत्रलाई बाह्र मगरात भनिन्छ (आचार्य र रायमाझी, २०७४, पृ.५) । मूलतः भाषिक दृष्टिले मगरहरू तीन समूहमा रहेका छन् । बाह्र मगरातमा बस्ने मगरहरू ढुट भाषा बोल्छन्, अठार मगरातमा बस्ने मगरहरू खाम/पाङ बोल्छन् भने डोल्पामा रहेका मगरहरू काइके भाषा बोल्छन् । राप्ती क्षेत्रमा आज पनि अठार मगराती भाषा वा खाम/पाङको बाहुल्यता रहेको छ भने बसाइँसराइका कारणले राप्तीको पश्चिम दाङ, भेरीको बाँके र सुर्खेतका केही स्थानहरूमा बाह्र मगराती भाषा ढुट पनि बोल्ने गरिन्छ (उदासी, २०७६, पृ. ३) । यसरी मगर समुदायमा भाषागत विविधता रहेको छ । भाषाका साथै मगर जातिका कतिपय संस्कृतिमा पनि विविधता र मौलिकता रहेको भेटिन्छ । मगर जातिमा विद्यमान विभिन्न संस्कृतिहरूमध्ये हाता खेल्ने संस्कृति पनि एउटा मौलिक संस्कृति हो । यो मगर जातिको युद्धकला हो । यो संस्कृति अठार मगरात क्षेत्रभित्र पर्ने रुकुम, सल्यान र रोल्पाका मगर बस्तीहरूमा प्रचलित रहेको पाइन्छ । समयक्रममा करिबकरिब लोपप्रायः अवस्थामा पुगिसकेको यो संस्कृति आजभन्दा चार दशकअघिसम्म भने रोल्पा–रुकुमका मगरहरूको जीवनसँग प्रत्यक्ष रूपले जोडिएको थियो । २०४६ सालपछि यसलाई रोल्पा र रुकुमका युवाहरूले फेरि ब्युँझाउने काम गरेको सन्दर्भ पनि यहाँनिर स्मरणीय रहेको छ ।

हाता खेल्ने संस्कृति अन्य क्षेत्रमा भन्दा मूलतः पूर्वी रुकुम तथा पश्चिम रोल्पा भेगमा बढी प्रचलित रहेको देखिन्छ । यो युद्धकला वा सीपसँग सम्बन्धित संस्कृति हो । पहिलेपहिले खासगरी हिउँद लागेपछि हाता खेल्ने अभ्यास गरिने र त्यसका माध्यमबाट गाउँको सुरक्षा गर्ने काम भएको देखिन्छ । यसको प्रमुख उद्देश्य भनेको गाउँमा सिपालु लडाकुहरूको निर्माण गर्नु हो । कुनै समय विविध कारणले गाउँ गाउँका बीचमा लडाईं वा युद्ध भइरहन्थ्यो । त्यसमा विजय हुन वा आफ्नो गाउँठाँउको सुरक्षा गर्नका लागि यो संस्कृतिले फैलिने अवसर प्राप्त गरेको हो । हाता खेल्दा विभिन्न चरणहरू पूरा गर्नुपर्ने प्रचलन हुन्छ । यहाँ मगरहरूको यही हाता खेल्ने संस्कृतिका बारेमा केही प्रकाश पार्ने कोसिस गरिएको छ ।

२. ओखरा, गुरुमान र पहिरन
हाता खेल्ने संस्कृतिको प्रारम्भ ओखरा बस्नेबाट हुन्छ । लौराले आक्रमण गर्न र बच्नका लागि गरिने तालिम हो, ओखरा पस्ने । लौराले हान्न र छल्न सिक्नुलाई कतै हाता खेल्ने, कतै पट्टा खेल्ने भन्छन्, उत्तरी रोल्पातिर त लौरालाई डिङ्ना पनि भन्छन् (विभास, २०८०, वैशाख) । सबैभन्दा पहिले कुनै भूतप्रेत, बोक्सी वा मसान आदिबाट गुरुचेलालाई सुरक्षा गर्नका लागि जैसी, धामीझाँक्री वा कुनै गुरुले मन्त्र गरेर तालिम गरिने ठाँउको सुरक्षा गर्ने काम हुन्छ । यसका लागि सबैभन्दा पहिले गाउँदेखि अलि टाढा पर्ने खुला चौर छनौट गरिन्छ । चौरको कुनै किनारामा पूजा गर्ने थान बनाइन्छ । थान बनाउँदा रुखका हाँगा काटेर स्याउलासँगै गाडिन्छ । त्यसमा रातो र सेतो ध्वजा चढाउने काम हुन्छ । यसमा रगत देखाउनुपर्ने हुनाले बोका काट्ने काम हुन्छ । यदि बोका नभएमा भाले काटेर भए तापनि रगत देखाउनै पर्ने प्रचलन छ । गाउँबाट लगेको बोका वा भालेलाई अक्षता र पातीले मन्साउने काम हुन्छ । त्यसपछि शीरमा पानी राखेर मनाउने काम गरिन्छ । हाता खेल्दा कसैलाई चोटपटक नलागोस् भनी धूपबत्ती दिने, खरानी फुक्ने वा पाती सल्काउने गरिन्छ । खासगरी सर्सु वा तोरीको गेडा आगोमा राखेर ध्वार्ने काम हुन्छ । त्यसपछि उपस्थित सिकारु र गुरुले खानपिन गर्छन् । खानपिन गरिसकेपछि हाता खेल्न गएका खेलाडीहरू सबै ओखरा बस्ने काम हुन्छ । यसरी ओखरा बसेपछि हाता खेल्ने तालिमको शुभारम्भ भएको मानिन्छ ।

ओखरा बस्ने काम सकिएपछि गुरुमान राखिन्छ । यसमा सर्वप्रथम हातमा लट्ठी लिएका गुरुचेला आमनेसामने हुन्छन् । त्यसपछि क्रमशः गुरुचेला दुबैले तल भुइँतिरबाट दुईपल्ट र माथि शीरतिरबाट दुईपल्ट घुमाएर लट्ठीलाई जुधाउने काम गर्छन् । गुरुमानमा गुरुचेलाको लट्ठी जुधाउने क्रममा यसो भनिन्छः ओरा धोरा (एकोहोरो दोहोरो), झप्की झप्की (झ्याप्प झ्याप्प आवाज), जोरा जोरा (गुरुचेलाको जोडा) । यसलाई गुरुचेला दुवैले दुईपल्ट भन्ने र सोहीअनुसार लट्ठी पनि चलाउने गर्छन् । चेला र गुरुले बीचमा लट्ठी जुधाएपछि चेलाले गुरुलाई आदरपूर्वक ढोग गर्ने काम हुन्छ । चेलाले गुरुलाई खुट्टामा हात राखेर ढोंग्ने गर्छन् । यो सबै गरेपछि मात्र गुरुमानको काम सकिन्छ । यो क्रम सकिएपछि फेरि हाता खेल प्रारम्भ हुन्छ ।

हाता खेल्न आउने सिकारुहरू उमेरगत हिसाबले पन्ध्र÷सोह्र वर्ष उमेरदेखि पच्चिस/छब्बिस वर्षसम्मका हुन्छन् । हाता खेल्ने खेल सिक्दा सिकारुले उफ्रन र दौड्न मिल्ने खालका पहिरन लगाएका हुन्छन् । हाता खेल्ने संस्कृति मगर जातिसँग सम्बन्धित भएकाले मगरहरूले लगाउने पहिरन नै यो खेलमा प्रयोग हुन्छ । मगर जातिका पुरुषहरूको भेषभूषाबारे खोजी गर्दा भोटो, कछाड, लँगौती, आस्कोट र टोपी नै प्रमुख हुन् (श्रीस, २०७१, पृ. ४२) । पहिले पहिले हाता खेल्ने सिकारुहरू लँगौती (धोती) लगाएर पनि खेल्थे । पछि नारा हालेको कट्टु वा हाफपाइन्छ लगाएर पनि खेल्न थाले । माथितिर भने पेटाङ्गे वा गन्जी पनि लगाउँथे । खेल्दाखेरि टोपी भने लगाउँदैनथे । साथै पहिलेपहिले गुरु र चेला सबै खाली खुट्टा रहन्थे ।

३. हाता खेलका विभिन्न चरण
हाता खेलका पाँच चरण हुन्छन् । यहाँ ती चरणका बारेमा सामान्य चिनारी दिइएको छ ।

३.१. पहिलो चरण : फरी हाता
पहिलो चरणमा सिकारुहरूलाई फरी हाता सिकाइन्छ । यसमा सिकारुको बायाँ हातमा छालाबाट बनेको ढाल हुन्छ । यसलाई फरी भनिन्छ । साथै सिकारुको दायाँ हातमा करिब पौने मिटर जतिको छोटो लट्ठी हुन्छ । सुरुमा यही छोटो लट्ठीबाट गुरुले चेलाहरूलाई हाता खेल्न सिकाउँछन् । यो चरण समयका हिसाबले सामान्यतया एक हप्ता जतिको हुन्छ । यो प्रारम्भिक चरणको सिकाइ हो । यसमा गुरुले खेलसँग सम्बन्धित शरीरका विभिन्न बाहिरी अङ्गहरूका बारेमा चेलालाई जानकारी गराउँछन् । साथै ती अङ्गमा लट्ठी के कसरी प्रहार गर्ने तथा तिनको सुरक्षा कसरी गर्न सकिन्छ भन्ने सिकाइन्छ । यसमा गुरुले हान्न र छल्न सिकाउँदै यसरी कासन गर्छन् —कमिजा, कम्मर, चिर, शिर, हुल, भाइरा, करक, गर्धन, पिठ, पेठारी, काखी…(विभास, २०८०, वैशाख) । गुरुको निर्देशनानुसार सहभागीहरूले अभ्यास अगाडि बढाउने गर्दछन् । यस चरणमा सिकाइने शरीरका बाहिरी अङ्गहरूको नामकरण यसरी गरिएको हुन्छः
क) कमेजाः बायाँ पाखुरालाई कमेजा भनिन्छ ।
ख) कम्मरः दायाँ पाखुरालाई कम्मर भनिन्छ ।
ग) चिरः चिर भन्नाले माथि चिउँडोदेखि पेट हुँदै तल गुप्ताङ्गसम्मको भागलाई बुझिन्छ ।
घ) शीरः शीर भनेको टाउको हो ।
ङ) हुलः हुल भनेको लट्ठीले घोंच्नु हो ।
च) बाहिराः घाँटी र कुमबीचको भागलाई बाहिरा भनिन्छ । यसलाई फगाल्नो पनि भन्ने प्रचलन छ ।
छ) करकः करक भनेको साँप्रो हो ।
ज) गर्धनः यो घाँटीको पछिल्लो भाग हो ।
झ) पिठः पिठ्यूलाई पिठ भनिन्छ ।
ञ) पेटारीः पानीपेटलाई पेटारी भनेर सम्बोधन गरिन्छ ।
ट) काखीः यो कुमको तल्लो भाग हो ।

३.२. दोस्रो चरणः लकरी हाता
हाता खेलको दोस्रो चरण भनेको लकरी हाताको चरण हो । लकरी हाता खेलमा पहिलेभन्दा लामो र ठुलो लट्ठीको प्रयोग गरिन्छ । यो लट्ठी करिब दुई मिटर जति लामो हुन्छ । यसमा पहिलो चरणमा प्रयोग गरिएको फरी हुँदैन । यसमा लट्ठीको मात्र प्रयोग हुन्छ । लकरी हाताको अभ्यास पनि सामान्यतया एक हप्ताको हुन्छ । कहिलेकाही गुरुलाई अझै सिकाउनुपर्ने महसुस भएमा केही दिन थपिन पनि सक्छ । यस चरणमा माथि उल्लेख गरिएका शरीरका एघार स्थानहरूमा लट्ठीले के कसरी प्रहार गर्ने र त्यसको सुरक्षा के कसरी गर्ने भनेर सिक्ने तथा सिकाउने काम हुन्छ । यस चरणमा आक्रमण गर्ने र प्रतिरक्षा गर्ने विभिन्न अभ्यासहरू हुन्छ । पहिलो चरणमा जस्तो सिकारुका हातमा फरी (ढाल) नहुने हुनाले यस चरणको खेलमा खतरा पनि त्यत्तिकै हुन्छ ।

दोस्रो चरणको अभ्यास सकिएपछि घर बिदा हुन्छ । त्यसपछि पहिले खेलिरहेको चौर छाडेर नयाँ अझै ठुलो र फराकिलो चौरमा बसाइँ सर्ने काम हुन्छ । यो चरणमा ओखरा फुकाउने काम हुन्छ । नयाँ चौरमा गएर फेरि विधिविधान अनुसार पूजाआजा गरी तेस्रो चरण प्रारम्भ गरिन्छ ।

३.३. तेस्रो चरणः छुट हाता
छुट हातामा पहिलेभन्दा अतिरिक्त अभ्यास हुन्छ । यसमा विभिन्न प्रकृतिको आक्रमण तथा प्रत्याक्रमणका रणनीतिहरूबारे व्यापक अभ्यास हुन्छ । खासगरी यस हातामा दुई अत्यावश्यक शिक्षा दिने गरिन्छ — एक, शत्रु पक्षको घेरा कसरी तोड्ने ? दुई, सानो शक्तिले कसरी ठुलो शक्तिसँग लड्ने ? (विभास, २०८०, वैशाख) । यस चरणमा चेलाहरूका बीचमा एकल प्रतिस्पर्धा र सामूहिक प्रतिस्पर्धा गराइन्छ । साथै यसमा सहभागी चेलाहरूलाई दुई वा अझ त्यो भन्दा बढी समूहमा विभाजन गरी प्रतिस्पर्धा गराउने काम हुन्छ । यो प्रतिस्पर्धामा एकल वा सामूहिक रूपमा पहिलो, दोस्रो र तेस्रो स्थानमा आउने एकल व्यक्ति वा समूहलाई प्रोत्साहनस्वरूप पुरस्कार दिने पनि गरिन्छ । यस चरणले सिकारुहरूको सिपमा धेरै सुधार र परिमार्जन गर्दछ ।

३.४. चौथो चरणः रणनीतिक कौशल
चौथो चरणमा विभिन्न रणनीतिक कलाकौशलहरू सिकाउने र चेलाहरूलाई अभ्यास गराउने गरिन्छ । यसमा सहभागीहरूलाई दुई अथवा तीन समूहमा विभाजन गरी प्रतिस्पर्धा गराउने काम हुन्छ । उदाहरणका लागि एउटा सिकारुलाई बीचमा राखिन्छ र त्यसलाई सबै मिलेर घेरा हालिन्छ । त्यसपछि उसलाई घेरा तोडेर बाहिर कसरी निस्कने भनेर सिकाइन्छ । त्यसैगरी मानौ एकातिर चार जना मात्रै लडाकु छन् तर विरोधी समूहमा बिस तिस जना छन् भने त्यस स्थितिमा उनीहरूसँग के कसरी मुकाबिला गर्ने भन्ने कौशल पनि सिकाइन्छ । यस्तै अरूसँग लट्ठी छ तर आफूसँग छैन भने त्यस स्थितिमा उनीहरूबाट के कसरी लट्ठी खोसेर लड्ने भन्ने सिकाइन्छ । यस्तै आफू थोरै र विरोधीहरू धेरै छन् भने भागेझैं गरी आफू साँघुरो स्थानमा पुग्ने अनि उनीहरूलाई एक एक गरी आक्रमण गरी पराजित गर्ने तौरतरिका पनि सिकाउने काम हुन्छ । साथै आफ्नो सङ्ख्या धेरै भएमा खुला चौरमा गएर लड्ने अनि यदि आफ्नो सङ्ख्या कम छ भने चाँहि साँघुरो क्षेत्र रोजेर लड्नुपर्छ भन्नेजस्ता युद्धका व्यावहारिक पक्षबारे पनि जानकारी दिने काम गरिन्छ । यस्तै यस्तै अनेक थरिका हाता खेलका रणनीतिबारे सिकारुलाई जानकारी र अभ्यास गराउने काम यस चरणमा हुन्छ । हाता खेलमा यो चरण धेरै महत्त्वपूर्ण मानिन्छ ।

३.५. पाँचौं चरणः अन्तिम परीक्षा
यो चरण हाता खेलमा सहभागी सिकारुहरूको अन्तिम परीक्षाको समय हो । यो चरणमा एकातिर सिकारु वा चेलाहरू तथा अर्कातिर गुरु र गाउँलेहरू भएर प्रतिस्पर्धा गर्छन् । यस क्रममा गाउँका सबै मिलेर सिकारुमाथि जाइलाग्छन् । गुरुहरू लट्ठीको सहाराले लडे तापनि गाउँलेहरूले भने ढुङ्गामुढा आदि जे पायो त्यहीले आक्रमण गर्छन् । यसमा पुरुषहरू मात्र नभएर महिला पनि खनिन्छन् । यस अवस्थामा धेरैलाई चोटपटक लाग्ने सम्भावना पनि रहन्छ तर त्यस क्रममा कसैलाई कुनै चोटपटक लागे पनि कतै उजुरबाजुर लाग्दैन । गुरुले सबैलाई पहिले नै कसम खुवाएका हुन्छन् । रमाइलो कुरा के भने त्यस दिन कतिपय चेलाले गुरुलाई पैंचो तिर्ने काम पनि गर्छन् । पहिले सिक्ने क्रममा गुरुको पिटाइ खाएका चेलाहरूले यस बखत गुरुलाई मजाले पिट्न पनि पाउँछन् । यसरी यो चरण निकै जोखिमपूर्ण र रोचक पनि हुन्छ ।

त्यस दिन हाता खेल्ने चौरमा गाउँका महिलाहरूले जाँडरक्सी बेच्न पनि राखेका हुन्छन् । महिलाहरूले रमाइलो हेर्ने र जाँडरक्सीको व्यापार गर्छन् । साथै गाउँलेहरूले खेल हेरेर आनन्द लिन्छन् । त्यस क्रममा युवायुवतीका साथै बुढाबुढी र केटाकेटीहरू पनि जम्मा भएका हुन्छन् । यसरी त्यस दिन विशेष दिनका रूपमा रहन्छ ।

हाता खेल्ने खेलका जम्मा बाइस हाता हुन्छन् । बाइस हाता खेल्न जान्ने भएपछि यसमा पारङ्गत भएको मानिन्छ । बाइस हाता जान्ने मानिसलाई सबैभन्दा माथिल्लो तहको युद्धकला सिकेको मानिन्छ र सोहीअनुसारको सम्मान पनि गरिन्छ । बाइस हाता जानेको पारङ्गतले ढुङ्गा मात्र होइन, गोली पनि छल्छन् भन्ने किस्सा छ । पछि ओखराभूमि रोल्पा—रुकुममै माओवादी जनयुद्ध मौलाउँछ (विभास, २०८०, वैशाख) । यसरी बाइस हाता सबै जान्नेहरू भने निकै कम हुन्छन् । लडाइँमा अधिक प्रयोग हुने हातामा कमिजा, कम्मर, शिर र चिर गरी चारओटा रहेका छन् । आजभन्दा चार दशकअघि रोल्पा र रुकुम भेगमा हाता खेल्ने खेलको तालिम सञ्चालन भएको थियो । साबिक राङ्सी गा.वि.स. तथा हालको परिवर्तन गाउँपालिका—२, अन्तर्गत पर्ने रामखुम गाउँमा यसको तालिम भएको थियो । रामखुमले रोल्पाको राङ्कोट र रुकुमको चुनवाङ गाउँलाई तालिम दिएको थियो । चुनवाङले फेरि राङकोटको पश्चिम भागलाई सिकाएको थियो । त्यतिबेला साबिक राङ्कोट —७ तथा हालको परिवर्तन गाउँपालिका —५, जैपा निवासी देवबहादुर पुन (वर्ष ६०) ले पनि सो तालिम लिएका थिए । पछि उनले २०३५/०३६ सालतिर रोल्पाको सदरमुकाम लिवाङ हाइस्कुलमा पढ्दा केही विद्यार्थीहरूलाई हाता खेल्ने तालिम दिएको अनुभव अझै सुनाउँछन् । साथै द्वन्द्वकालमा तत्कालीन माओवादी मिलिसियाहरूलाई विभिन्न स्थान र चरणमा यो युद्धकला सिकाउने काम भएको थियो । त्यसपछि भने कतै कसैले हाता खेल्ने तालिम दिएको जानकारी प्राप्त भएको छैन । यसरी आज मगरहरूको यो युद्धकला लोपप्रायः अवस्थामा पुगेको देखिन्छ ।

४. अन्तिम दिनः वन बिदा
गुरु र गाउँलेहरूसँग सिकारुहरू लडेपछि हाता खेल्ने खेलको पाँचौं चरण सकिन्छ । त्यसपछि साँझपख वन बिदा गरिन्छ । गुरुहरूलाई तालिम शुल्कसहित राम्रो खानपिन गराइन्छ । रोटी, भात, मासु र जाँडरक्सी खुवाइन्छ । गुरुलाई विभिन्न कोसेली प्रदान गरिन्छ । साथै बोका वा खसी डो¥याउँदै दमा, मादल, दौंडी, झ्यालीजस्ता बाजागाजासहित गुरुहरूलाई चेलाहरूले घरसम्म पु¥याउन लैजाने काम हुन्छ । यसरी हाता खेलमा वन बिदा एउटा महत्त्वपूर्ण दिनका रूपमा रहन्छ ।

५. गुरुचेला सम्बन्ध र युद्धकलाको उपयोग
हाता खेल्ने तालिम सकिएपछि पनि गुरुचेलाबीचको सम्बन्ध रहिरहन्छ । खासगरी कुनै मेला जात्रामा गुरुको कसैसँग लडाईं भएको खण्डमा चेलाहरू गुरुलाई सहयोग गर्न पुग्छन् भने गुरु पनि चेलालाई सहयोग गर्न आउँछन् । गुरु चेलाको गाउँ टाढा पर्छ भने पनि त्यहाँ पुगेर एकअर्कालाई सहयोग गर्ने गरिन्छ । तर समयक्रममा यो चलन विस्तारै कम हुँदै गएको देखिन्छ ।

मगरहरूले आत्मसुरक्षाका लागि खुकुरीलाई आफूसँग राख्ने प्रचलन नयाँ होइन । खुकुरी भिर्नु र सकेसम्म सदा आफ्नो साथमा राख्नु मगरहरूको जातीय गुण हो । प्रमुख हतियारका रूपमा मानिने खुकुरीबाट आफ्नो सुरक्षा हुन्छ र आवश्यक परेका बेलामा अन्य कार्यमा पनि उपयोग गर्न सकिन्छ भन्ने मगरहरूको धारणा पाइन्छ (श्रीस, २०७१, पृ. ४२—४३) । युद्धकलाको उपयोग खासगरी गाउँठाँउमा बेलाबखत लाग्ने मेलाजात्राहरूमा भएको पाइन्छ । कहिलेकाही एकल लडाइँ तथा अधिकांश सामूहिक लडाईंमा यसको उपयोग हुने गर्दछ । साथै कतै टाढा गएको बखतमा आकस्मिक लडाईंमा परियो भने पनि यसले काम दिन्छ । पहिले पहिले हाटबजार जाँदा गाउँलेहरूको सुरक्षा गर्न पनि यसले ठूलो सहयोग गथ्र्यो । साथै प्रदेशमा गएको बेला पनि कतिपयले यही कलाका कारण ज्यान जोगाउने गरेका घटना आज किम्बदन्ती बनेका छन् ।

पहिले गाउँघरमा मेला लाग्नुभन्दा एक महिना पहिले नै नजिकको जङ्गलमा गई घङ्गारु (काँडा भएको वृक्ष), डिम्मुर, कटबाँस आदिको बलिया लट्ठी काटेर तयार गरिन्थ्यो । यदि पुराना लट्ठी छन् भने तिनलाई तीनचार दिन जति पानीमा भिजाएर अझै बलियो बनाउने काम हुन्थ्यो । नयाँ लट्ठीलाई भने पानीमा भिजाइदैनथ्यो । पुराना लट्ठी पानीमा भिजाउँदा भाँचिने डर हुँदैन । यसका साथै लट्ठीलाई तेल खुवाउने काम पनि हुन्थ्यो । तेल खुवाउने भनेको तेल लगाउने हो । हाता खेल्ने कौशलमा पारङ्गत हुनाका लागि फूर्तिलो शरीर चाहिन्छ । फूर्तिलो शरीरले मात्र मजासँग उफ्रिन र आवश्यकता अनुसार युद्धकौशल प्रदर्शन पनि गर्नसक्छ । युवाहरूले आफ्नै गाउँघरमा नियमितजसो यसको अभ्यास गरिरहेका हुन्थे ।

६. सरङ्ङ्या नाचमा यसको प्रभाव
सरङ्ङ्या मगर समुदायमा प्रचलित प्रसिद्ध नाच हो । यसलाई स्थान विशेषअनुसार सारङ्गे नाच, गर्रा नाच, मयुर नाच पनि भन्ने गरिएको देखिन्छ । सैन्य कलामा आधारित यस नाचमा हाता खेल्ने कलाको स्पष्ट प्रभाव रहेको छ । यो घोडा, बाघ, बिरालो, बाँदरजस्ता आक्रमक तथा छिटो चल्ने जनावरको नक्कल र मयुर, मालचरी, परेवाजस्ता चराको नक्कल वा अभिनय गरेर नाँचिने सैन्य संस्कृतिमा आधारित नाच हो (बुढा मगर, २०६७, पृ. १४) । यस नाचमा सहभागी युवा कलाकारहरूले पेते (भोटो), चर्ना (कट्टु), लजौती (लाज छोप्ने विशेष पोशाक), गलबन्दी र जुराप (मोचा) जस्ता पहिरन लगाएका हुन्छन् । यसका साथै उनीहरूले गहना बाला, मुन्दरी (औंठी), सिकरी धारा, ताङ्ङ (कम्पनी पैसाको बटन) पनि लगाउने गर्दछन् । कलाकारको पिठ्यूमा मयुरको प्वाँखलाई कलात्मक ढङ्गले बनाइएको गर्रा, दायाँ हातमा अलङ्का (तरवारको प्रतीक लट्ठी) र बायाँ हातमा फरी (ढालको प्रतीक) हुन्छ । यसैगरी खुट्टामा फलामको पैंजन र कम्मरमा घोङ्रा बाजा लगाइएको हुन्छ । त्यसपछि थाला (नाँच्ने ठाँउमा) जम्मा भई नचारुहरू गुरुका रूपमा रहेका मादले र दौडेलाई ढोगभेट गरी विस्तारै नाँचमा सहभागी हुन्छन् । यसमा पहिले युवाहरू मात्र नाँच्ने गरेकोमा पछिल्लो समय युवतीहरू पनि नाँच्न थालेका छन् । यस नाँचमा पनि हाता खेल्ने खेलमा जस्तै बाइस हाता प्रयोग गरिन्छ । यसलाई बाइस हाता नाच नामबाट पनि चिनिन्छ (बुढा मगर, २०६७, पृ. १६) । तर आजभोलि यस नाचमा बाह्र हाता मात्र प्रयोग हुन थालेको छ । यसमा प्रयोग हुने लट्ठी वा हाता भने छोटा हुन्छन् । यसरी सारङ्ङ्यामा हाता खेल्ने खेलको प्रत्यक्ष प्रभाव देखिन्छ । तर यो नाचका लागि आवश्यक पर्ने सामग्रीहरू महङ्गा पर्ने हुनाले सामान्य मानिसको पहुँचबाहिर जाने हो कि भन्ने आशङ्शा पछिल्लो समयमा बढ्दो छ । नचाउरुका लागि आवश्यक हतियार र पोसाक किन्दा पनि प्रतिव्यक्ति पचास हजार बढी लाग्ने देखिन्छ (विभास, २०८०, असार) । परम्परागत सामग्रीका ठाउँमा आधुनिक सामग्रीको प्रयोग गर्ने स्थिति देखिएका कारण यस्तो हुन गएको हो । यसतर्फ समयमै सबैको ध्यान गएमा लोपोन्मुख अवस्थामा पुगेको यो संस्कृति संरक्षणमा टेवा पुग्ने देखिन्छ ।

बुढापाकाका अनुसार पाँच दशकअघिसम्म मङ्सिरमा रोल्पा थबाङबाट नाँच्दै नचाउरु रुकुमका गुनाम, लुकुम, तकसेरा, हुकाम, मैकोट पुग्थे । कोल, महत, धर्मशाला हुँदै दुई महिनापछि थबाङ फर्कन्थे । नाँच्दै, गाउँदै घर फर्कदा कतिले विहे गरेका हुन्थे त कतिले सम्धिनी लगाएका हुन्थे । अहिले नाँच्न माघे सङ्क्रान्ति, चैते र वर्षे दसै अनि तिहार पर्खन्छन् (विभास, २०८०, असार) । यसरी समयको गतिसँगै आदिवासी जीवनशैलीमा आएको परिवर्तनका कारण कतिपय परम्परागत संस्कृतिहरू पनि लोप हुने खतरामा देखिएका छन् ।

७. निष्कर्ष
हाता खेल्ने संस्कृति युद्धकलामा आधारित रहेको छ । यो संस्कृति मूलतः पूर्वी रुकुम र पश्चिम रोल्पा भेगमा बढी प्रचलित रहेको पाइन्छ । चार दशकअघि व्यापक रूपमा रहेको यो संस्कृति आज लोपप्रायः अवस्थामा पुगेको छ । यसमा सबैभन्दा पहिले ओखरा बस्ने अनि गुरुमान राख्ने गरिन्छ । त्यसपछि युद्धाभ्यासका विभिन्न पाँच चरण सम्पन्न हुन्छन् । पहिलो चरण फरी हाताको चरण हो भने दोस्रो चरण लकरी हाताको चरण हो । यसपछि सिकारुलाई केही दिन घर विदा दिइन्छ । त्यसपछि तेस्रो चरणमा छुट हाता सम्पन्न हुन्छ भने चौथो चरणमा विभिन्न रणनीतिक कौशलहरू सिक्ने र सिकाउने काम हुन्छ । पाँचौ चरणमा अन्तिम परीक्षा लिइन्छ । यो चरण गाउँलेहरूको समुपस्थितिमा हुने भएकाले निकै रोचक तर जोखिमपूर्ण समेत हुन्छ । अन्तिम दिन औपचारिक रूपमा पूजाआजा र खानपिन गरी वन बिदा गर्ने काम हुन्छ । हाता खेल्ने अभ्यास सकिए तापनि गुरुचेलाको सम्बन्ध भने यथावत् नै रहन्छ साथै आफूले सिकेका युद्धकौशललाई सिकारुहरूले मूलत गाउँठाँउमा लाग्ने मेलाजात्राहरूमा र कतिपय स्थितिमा जीवनका अन्य प्रतिकूल अवस्थाहरूमा समेत भरपुर उपयोग गर्दछन् । मगर समुदायमा अति प्रसिद्ध सरङ्ङ्या नाँचमा हाता खेल्ने संस्कृतिको प्रत्यक्ष प्रभाव भेट्न सकिन्छ । यसरी हाता खेल्ने संस्कृति मगर समुदायको जीवनसँग अभिन्न रूपले जोडिएको देखिन्छ ।

सन्दर्भसूची
आचार्य (डा.), गोविन्द र रायमाझी, दुर्गा (२०७४). मगर जातिको लोकगीत तथा लोकसङ्गीत. काठमाडौं : नेपाल म्युजिक सेन्टर ।
उदासी, टीकाराम (२०७६). मगर भाषाका आदिकवि : जीवनी र सिर्जना. दाङ : राधा पुनमगर ।
बुढामगर, बमकुमारी (२०६७). सरङ्ङ्या स्याई. काठमाडौं : अथार मगरात मगर प्रतिष्ठान ।
श्रीस (थापा), धर्मप्रसाद (२०७१). मगराती संस्कृति (ऐतिहासिक पृष्ठभूमि).दो.सं. नेपाल : मगर प्राज्ञिक समूह ।
विभास, नवीन (२०८०). ‘सात सय लिगलिगका सीमारेखा’ कान्तिपुर दैनिक वैशाख ३० गते शनिवार ।
विभास, नवीन (२०८०). ‘५३ वर्षअघि थबाङमा नचाउरु’ कान्तिपुर दैनिक. असार ३० गते शनिवार ।

स्रोत व्यक्ति
देवबहादुर पुनमगर (६० वर्ष), परिवर्तन गाउँपालिका —५, जैपा, रोल्पा ।

(साभार : नेपाल संस्कृत विश्वविद्यालय, राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्र, बेलझुन्डी, दाङको अनुसन्धानमूलक पत्रिका मिलनविन्दु को वर्षः ११, पूर्णाङ्कः ६, २०८० असार अङ्कमा प्रकाशित तथा Magar Academic Gallery बाट)