गेथाती

गोविन्द पुन ‘गिरीश’का दुई गजल

गोविन्द पुन ‘गिरीश’
२ मंसिर २०८०, शनिबार

गजल – एक
पराइसामु झुक्ने म नेपाली हैन
कायर बनी लुक्ने म नेपाली हैन

पोख्छु यहीँ माटोमा पौरख र पसिना
अरुको दैलो ढुक्ने म नेपाली हैन

रम्छु आफ्नो संस्कृति र रीतिरिवाजमा
खाको थालमा थुक्ने म नेपाली हैन

बग्छ नशानशामा मेचीमहाकाली
खहरेजस्तै सुक्ने म नेपाली हैन

सगरमाथा शिरमा झण्डा फर्फराउँछु
बीच बाटोमा रुक्ने म नेपाली हैन ।

गजल – दुई
जिन्दगी सोचेझैँ सरल हुँदैन
खुसी किन्न मिल्ने पसल हुँदैन

हिलोमा फुलेर हिलोमै रम्दछ
बगैंचाको फूल कमल हुँदैन

कोर्छ भाग्य रेखा कर्मको कलम
प्रार्थनाले कोही सफल हुँदैन

झुपडी नै स्वर्ग, सन्तोष नै सुख
मरेपछि आफ्नो महल हुँदैन

एक मुठी सास क्षणमै सकिन्छ
मान्छेको जिन्दगी अटल हुँदैन ।
०००
भूमे-९ चुनबाङ¸ रुकुमपूर्व

TAGS: गजल