गेथाती

लालीमाया थापामगरका पाँच गजलहरू

लालीमाया थापामगर
६ बैशाख २०८१, बिहीबार

गजल–एक
जीवनमा आउनेहरू पनि आउँछ जान्छ
एकछिन हसाँउछ, फेरि रुवाउँछ जान्छ ।

चाहिने बेला रहेछ नम्र भएर मिठो बोल्ने
अरूबेला त तितो वचन लगाउँछ जान्छ ।

बाठो भएर दिमाग चलाउन न जान्नेहरू
उल्टै बनाएको संरचना भत्काउँछ जान्छ ।

साँचो प्रमी हुन जीवन बिताउन खोज्नेहरू
स्वार्थ पूरा गर्नेहरू त रात बिताउँछ जान्छ ।

परदेश गएको छोरो बाकसमा फर्किएपछि
घर परिवार नै शोकाकुल बनाउँछ जान्छ ।
०००

गजल–दुई
भगवान् अर्को जन्म मलाई लिन नपरोस्
लिए भने पनि छोरी भएर जन्मिन नपरोस् ।

माटोमा मिलोस् बरु ज्यान बनोस् खरानी
पलपल मैनबत्तीझैँ जलेर सकिन नपरोस् ।

मृत्यु एक्कासी आओस् लैजान मलाई
दिनरात दुःख र पीडामा तड्पिन नपरोस् ।

मैले हरबार यस्तो कामना गर्छु प्राथना गर्छु
मन दुखाउनेहरूलाई फेरि सम्झिन नपरोस् ।

विडम्बना बन्धनमा बाँधिएको वर्षदिन नपुग्दै
विधुवा बनेर सेतो कफनमा सजिन नपरोस् ।
०००

गजल–तीन
सबैले यस्तै भन्छन् आवश्यक छ
बाँच्न पनि त जीवन आवश्यक छ ।

चल्न सक्दैन एक अर्काविना
मुसँगै धड्कन आवश्यक छ ।

एकोहोरो प्रेम सफल हुनै सक्दैन प्रिय
प्रेम गर्नलाई दुई मन आवश्यक छ ।

तिमी धनभन्दा मन ठुलो भन्छौ
हेर¸ मनसँगै धन आवश्यक छ ।

जीवन सहज र सफल बनाउनलाई
बिछोडभन्दा मिलन आवश्यक छ ।
०००

गजल–चार
मनमा बिझ्ने तिखो वचन लगाएको भए
तिम्रो कुरामा सहमति मैले जनाएको भए ।

घमण्डी बनेर चिनिन्थेँ म पनि तिमीजस्तै
साँच्चै म हुनुको घमण्ड मैले देखाएको भए ।

कोलाहल मचिन्थ्यो, झगडा हुन्थ्यो फेरि
तिमी रिसाउँदा म पनि रिसाएको भए ।

पूरा गर्ने हिम्मत राख्ने थिएनँ फेरि मैले
सपनाको घर सपनामै भत्काएको भए ।

सुखी नभए पनि खुसी हुने थिएँ हरक्षण
जीवनको सहारा बनेर तिमी आएको भए ।
०००

गजल–पाँच
विछोडमा कोही अनि मिलनमा कोही
आउने जाने गरी नै रहे जीवनमा कोही ।

फक्रिएको फूल कतै चुडाउँछ कि भनेर
हिफाजत गरेर बसेको छ यो मनमा कोही ।

दुःख पर्दा फर्केर समेत हेरेनन् मलाई
यतिसम्म घमण्डी भए धनमा कोही ।

अहिले पनि त्यति नै प्यारो हुन सकेनँ
जति प्यारो थियो वचपनमा कोही ।

तन, मन, जीवनभरि अधिकार जमाएर
सास बनेर ध‌ड्किन्छ धड्कनमा कोही ।
०००
प्युठानकी लालीमाया थापामगरले यी गजलहरू ‘सहिदस्मृति साहित्य प्रतिष्‍ठान¸ रोल्पा’ले २०८० चैत्र २९ गते लिबाङमा आयोजना गरेको ‘रोल्पा गजल महफिल–२’मा वाचन गर्नुभएको थियो ।

कार्यक्रममा वाचन भएका अन्य गजलकारका गजलहरू

कपिलमणिका पाँच गजलहरू

कपिलमणिका पाँच गजलहरू

जि.एम. दीपु देपेन्द्रका पाँच गजलहरू

जि.एम. दीपु देपेन्द्रका पाँच गजलहरू

दिलकुमारी बुढामगरका पाँच गजलहरू

दिलकुमारी बुढामगरका पाँच गजलहरू

TAGS: गजल नेपाली गजल