गेथाती

कपिलमणिका पाँच गजलहरू

कपिलमणि
६ बैशाख २०८१, बिहीबार

गजल–एक
खै कसरी लागे मेरा आँखा तिमीमाथि
बढ्दै गयो झन्‌झन् माया तिमीमाथि ।

चन्द्ररूपि मुहार तिम्रो गाजलु ती आँखा
भएको छु म त कसम फिदा तिमीमाथि ।

सारा भूल माफी हुन्छ गल्ती गरे तिमीले
लाग्दैन ऐन न त कुनै दफा तिमीमाथि ।

नशालु ती नजरहरूले खाउलाझैँ गरी हेर्छौँ
खनाइदिऊँ झैँ लाग्छ सारा बैँस तिमीमाथि ।

भगवान्‌को रूप हौ तिमी गरुँ लाग्छ पूजा
लेखूँ लाग्छ एउटा सुन्दर कथा तिमीमाथि ।
०००

गजल–दुई
जुन ढोका भएर गयो उहीँ ढोका भएर आयो
कमाउन गएको जवान ज्यूँदो गयो मरेर आयो ।

गएपछि फर्केर आउँदैन भन्ने गलत सावित गर्न
साँझ अस्ताएको घाम राति जून बनेर आयो ।

बा कमाउन गएका छन् अहिलेसम्म आएनन्
बरु बगेको खोला त्यहीँ बाटो फर्केर आयो ।

जसले लेख्यो बोल्यो नटिप्नु कोपिला उसले
गरेर हत्या मन्दिरमा चढाउन फूल टिपेर आयो ।

बर्षौँ पहिले मैले जसलाई दिलबाट हटाइदिए
उहीँ मान्छे फेरि जिन्दगीमा के सम्झेर आयो ?
०००

गजल–तीन
आगो पनि बाल्नसक्छ पानीमा मान्छेले
के चाहिँ गर्न सक्दैन र जवानीमा मान्छेले ।

तारा ल्याएर दिन्छन् जून ल्याएर दिन्छन्
इतिहास रच्न चोखो प्रेम कहानीमा मान्छेले ।

आधा उमेर पढ लेख, कुटो अनि कोदालोमा
आधा उमेर बेचेको हुन्छ राहदानीमा मान्छेले ।

केही गर्छु भन्दाभन्दै एकदिन मरेर जान्छ
सजाएर सपना आँखाको नानीमा मान्छेले ।

दिनदिनै बन्द अनि हड्ताल हुन्छ अचेल
के हेरेर बसेका छन् राजधानीमा मान्छेले ।
०००

गजल–चार
मेरो देश लाग्छ अचेल कता हराउँदैछ
लोकतन्त्र गणतन्त्र स्वतन्त्रता हराउँदैछ ।

आफ्नै सन्तान निमोठेर झाडीमा फालिदिने
अचेलका यी आमाहरूमा ममता हराउँदैछ ।

गुन्यूचोली दौरा सुरुवाल राष्ट्रिय पोसाक छोडी
अनेकथरि लगाउन थाले सभ्यता हराउँदैछ ।

टुक्रा टुक्रा भयो राज्य नेपाल र नेपाली हो
लाग्छ अब देशको सारा अखण्डता हराउँदैछ ।

भाइभाइ लड्न थाले रगतको खोला बगाई
बाउले छोरी करणी गर्छ मानवता हराउँदैछ ।
०००

गजल–पाँच
रहरमाथि थपिन झन् रहर आइपुग्छ
सोच्दै नसोचेको बेला अवसर आइपुग्छ ।

तिम्रो आगमन कहिले भएन जिन्दगीमा
बरु बाटो बिराएको बटुवा घर आइपुग्छ ।

यसकारण मैले तिमीलाई भुल्न सकेको छैन
किनकि म जहाँ पुग्छु उतै तिम्रो नजर आइपुग्छ ।

जिन्दगीको गति यसकारण सरल नभएको हो
जस्तो खोला बग्दै गर्दा बीचमा बगर आइपुग्छ ।

त्यतिबेला खुब आँसु झर्छन् होला जिन्दगीमा
जतिबेला तिम्रो बिहेको मलाई खबर आइपुग्छ ।
०००

दाङकाकपिलमणिले यी गजलहरू ‘सहिदस्मृति साहित्य प्रतिष्‍ठान¸ रोल्पा’ले २०८० चैत्र २९ गते लिबाङमा आयोजना गरेको ‘रोल्पा गजल महफिल–२’मा वाचन गर्नुभएको थियो ।

कार्यक्रममा वाचन भएका अन्य गजलकारका गजलहरू

लालीमाया थापामगरका पाँच गजलहरू

लालीमाया थापामगरका पाँच गजलहरू

जि.एम. दीपु देपेन्द्रका पाँच गजलहरू

जि.एम. दीपु देपेन्द्रका पाँच गजलहरू

दिलकुमारी बुढामगरका पाँच गजलहरू

दिलकुमारी बुढामगरका पाँच गजलहरू

TAGS: गजल नेपाली गजल