गेथाती

जि.एम. दीपु देपेन्द्रका पाँच गजलहरू

जि.एम. दीपु देपेन्द्र
५ बैशाख २०८१, बुधबार

गजल–एक

कुनै बेलुनमा हावाले जसरी खाँदिएको छु भन्ने
थाहा पाएँ तिमीमा जबर्जस्ती टाँसिएको छु भन्ने ।

कपडा लगाउँछन् धनीका झ्यालढोकाले पनि
झन् आभास हुन्छ गरिबलाई नाङ्गिएको छु भन्ने ।

दाम्लो खोलेर छोडिदिँदा पनि थलोमै उभिरह्यो
ऊसलाई छाप परेको थियो बाँधिएको छु भन्ने ।

भाँचिए पनि भाँचिएकै ठाउँबाट पलाउन मन छ
कसैले नसम्झाइदेऊ अब त भाँचिएको छु भन्ने ।

जिउँदो रहँदा नै देखाउनु, मिठो मसिनो व्यवहार
लासले त के जान्छ जलाइए कि गाडिएको छु भन्ने ।
‍०००

गजल–दुई
काँडा गएर भित्र भित्र खिलमा बसेको छ
पहाड नदेख्नेको नजर तिलमा बसेको छ ।

मैले बोलाए’थे उसलाई असनमा भेट्न
ऊ किन कोसँग चाबहिलमा बसेको छ ?

काम नलाग्ने मान्छे हल्लिरहेको छ यतै
काम लाग्ने मान्छे फाजिलमा बसेको छ ।

को हो हिजो भट्टीमा गजल सुनाउने ?
आज पिएर जो महफिलमा बसेको छ ।

आफ्नै भएको हाँगा पनि भाँचिएर गयो
एउटा ऐजेरु आएर दिलमा बसेको छ ।
०००

गजल–तीन
हरेक वस्तुहरूलाई आवरणमा हेरेर पुग्दैन रहेछ
सियो पानीमा डुब्छ जहाज पानीमा डुब्दैन रहेछ ।

म हदैसम्म गिरेर सहिदिन्छु, आफ्नैहरू हुन् भनी
आफ्नाहरू सोच्दारहेछन् यसलाई दुख्दैन रहेछ ।

अझ धेरै पाऊ भन्ने लालसा बढिरहेको देख्छु
जति पाए पनि यो मान्छेको चित्त बुझ्दैन रहेछ ।

पाएसम्म अब दाउरा नै बेच्नुपर्ला यही निधो गरेँ
खरानी बेचेर त दाउराको लगानी उठ्दैन रहेछ ।

तिमीलाई चुम्बन गरेकै भोलिपल्ट ओठ पाक्यो
प्रेम भन्ने कुरा पनि कमजोरहरूलाई शुभ्दैन रहेछ ।
०००


गजल–चार
समय नआउञ्जेल थाहा पाउन अप्ठ्यारो थियो
समय आयो र थाहा भयो को मेरो थियो ।

आज बचेरोको पर्खाईमा माऊ बसेको छ
कुनै दिन माऊको पर्खाईमा बचेरो थियो ।

तिमीले बत्ती निभाइदिएर केही खास गरेनौ
मेरो जीवनमा त यत्तिकै पनि अँधेरो थियो ।

पर्खाल लगाएर पनि लुटियो कसैको महल
ढोका नलगाएर पनि सुरक्षित कटेरो थियो ।

एक फेरो पनि तिमीसँग लगाउन पाइएन
लगाउन मन त तिमीसँग सात फेरो थियो ।
०००

गजल–पाँच
विश्वासमा पनि शंकाका ससाना बादल हुदाँ हुन्
जीवनका यात्राहरू खै कसका पो सरल हुँदा हुन् ।

आश्रमबाट सन्तानलाई अझै आशिर्वाद दिन्छन्
बाआमाहरूका मन किन यति कोमल हुँदा हुन् ?

कहिल्यै आँसु नझार्ने एउटा शर्त राखियो भने
यो शर्तमा दुनियाँका को-को सफल हुँदा हुन् ?

मध्यरातमा पनि तस्बिरसँग कुरा गर्दैछ कोही
प्रेममा मान्छेहरू यतिसम्म किन पागल हुँदा हुन् ?

विमानस्थलभित्रकै कसैको बेइमानी हो सब त्यो
पितल हुने भए त हाम्रा सुन पनि पित्तल हुँदा हुन् ।

०००

रुकुमका जि.एम. दीपु देपेन्द्रले यी गजलहरू ‘सहिदस्मृति साहित्य प्रतिष्‍ठान¸ रोल्पा’ले २०८० चैत्र २९ गते लिबाङमा आयोजना गरेको ‘रोल्पा गजल महफिल–२’मा वाचन गर्नुभएको थियो ।

कार्यक्रममा वाचन भएका अन्य गजलकारका गजलहरू

लालीमाया थापामगरका पाँच गजलहरू

लालीमाया थापामगरका पाँच गजलहरू

कपिलमणिका पाँच गजलहरू

कपिलमणिका पाँच गजलहरू

दिलकुमारी बुढामगरका पाँच गजलहरू

दिलकुमारी बुढामगरका पाँच गजलहरू

TAGS: गजल नेपाली गजल