गेथाती

दिलकुमारी बुढामगरका पाँच गजलहरू

दिलकुमारी बुढामगर
१ बैशाख २०८१, शनिबार

गजल–एक
जीवन के रहेछ माटो र खरानीबाहेक
रात अङ्गाले पनि छन् बिहानीबाहेक ।

अस्पतालमा डाक्टर भन्थे भिटामिन दिनु
सकिएन आमालाई दिन चौलानीबाहेक ।

इतिहास पनि भएन यहाँ वीरताको गाथा
केही सुनाऊ मैले नसुनेको कहानीबाहेक ।

यसरी किन सिद्‍ध्याउँछन् आफूले आफैलाई
हुँदैन सायद कोही यौवनमा जवानीबाहेक ।
०००

गजल–दुई
जिन्दगी किन यो मुहार अँधेरो सधैँ ?
तँ आफैँ होइनस् र हौसला तेरो सधैँ ?

कमाइ भनेको एक चिहान रहेछ
सम्पत्तिले पारिरहन्छ अप्ठ्यारो सधैँ ।

गरिबी घटाउने खबर सुनाउँदै छ
थपिएको मात्रै देखिन्छ कटेरो सधैँ ।

सिकारीले चारोसँगै आमा लिएर गयो
किन यतिमात्रै गुनासो छ मेरो सधैँ ?
०००

गजल–तीन
म आगो जुराउँदै छु तिमी सामान जुटाइदेऊ न
म स्याउला घाँस लिउँदै गर्दा मल उठाइदेऊ न ।

चुलोचौको सिद्धियो, अब कपडा सुकाउँदै छु
रूदैछन् सन्तानहरू खै के चाहियो फकाइदेऊ न ।

कमाउनु छ, जानुछ बाहिर उद्यमी पनि बन्नु छ
धेरै छ हेर त घरको काम केही सघाइदेऊ न ।

हामी एउटै हो भन्दै समानता छ भन्छौ घरमा
रुपान्तरणको नीति र कार्ययोजना बनाइदेऊ न ।
०००

गजल–चार
दुःखलाई भनें¸ ‘मेरो घरमा आउँछस्’ भनेर
उसले भन्यो¸ ‘भनेनौ के लगाउँछस्’ भनेर ।

‘अ’बाट आमामात्र हैन आपत पनि आउँछ
मैले झुठ बोलेको हुँ पत्याउँछस् भनेर ।

आकाशसँग बात नगरेको धेरै भएछ
कोही त सोध आँसु किन खसाउँछस् भनेर ।

दिनेले जन्म दिएका हुन् देश बनाउनलाई
पाखुरा दिएका हुन् घर बनाउँछस् भनेर ।

यो मनभित्र प्रश्नहरू लडाइँ गरिरहन्छन्
ए, दिल किन अरूको दिल दुखाउँछस् भनेर ।
०००

गजल–पाँच
यो जिन्दगीको कल्पना बेगर आमा हुन सक्दैन
मेरो हर बिहानी उनको दखलबिना हुन सक्दैन ।

धेरै छन यहाँ आमाको दाजोमा प्रेम गर्छु भन्नेहरू
सौदाबाजी हुन्छ प्रेममा खास ममता हुन सक्दैन ।

तिलाञ्जली दिएर सपनाहरू सन्तानको लागि
आफूलाई भुल्ने आमा जस्तो दुनियाँ हुन सक्दैन ।

जरुरत हुँदैनन् कुनै विकल्पमा न्यानोपनाको
आमाको आँचल जस्तो न्यानो कपडा हुन सक्दैन ।
०००
रोल्पाकीदिलकुमारी बुढामगरले यी गजलहरू ‘सहिदस्मृति साहित्य प्रतिष्‍ठान¸ रोल्पा’ले २०८० चैत्र २९ गते लिबाङमा आयोजना गरेको ‘रोल्पा गजल महफिल–२’मा वाचन गर्नुभएको थियो ।

कार्यक्रममा वाचन भएका अन्य गजलकारका गजलहरू

लालीमाया थापामगरका पाँच गजलहरू

लालीमाया थापामगरका पाँच गजलहरू

कपिलमणिका पाँच गजलहरू

कपिलमणिका पाँच गजलहरू

जि.एम. दीपु देपेन्द्रका पाँच गजलहरू

जि.एम. दीपु देपेन्द्रका पाँच गजलहरू

TAGS: दिलकुमारी बुढामगर ‘दिलु’