जिन्दगी तासको गञ्जिफा खेल हो
एउटै रङ्गमा आठको बाह्रको
बाटुलो चौकुनो तासको पत्रझैं
खेलियो साटियो हारियो च्यातियो ।
(१)
आउँला दाउ त्यो पर्खँदा पर्खँदै
सोह¥यो छेउको मित्रले मस्कँदै
पुर्पुरो ठोकियो थक्थकाई हिँड्यो
जिन्दगी आँसुको रापती भै बग्यो ।
(२)
छेउका मित्रले खेलमा जित्दछन्
खेलका नाममा सर्वथा थिच्दछन्
तासका रङ्गमा दौँतरी जम्दछन्
तास हारेर ती दुश्मनी बन्दछन् ।
(३)
सङ्गका साथमा खालमा मच्चियो
पाउने आशमा भासमा भास्सियो
नाकका कानका साथमा छन् जति
तासमा थापियो सिद्धियो सम्पति ।
(४)
जित्छ जो खेल त्यो स्वर्ग भो जिन्दगी
तालुमा आलु भो थुप्रियो सम्पति
हार्छ जो खेल त्यो नर्क भो जिन्दगी
ब्याजमा स्याजमा ज्यान भो बन्धकी ।
(५)
सङ्गमा थ्यो सबै रित्तियो सिद्धियो
मेटियो साइनो जिन्दगी एक्लियो
बैँसमा तासका रङ्गमा घोलियो
लौ बुढ्यौली चढ्यो जिन्दगी झोलियो ।
(६)
०००
कपिलवस्तु (हालः दाङ)
