गेथाती

सिजन ‘चक्रे’ मगरका आधा दर्जन मुक्तकहरू

सिजन ‘चक्रे’ मगर
८ बैशाख २०८१, शनिबार

मुक्तक–एक
अजम्बरी रहोस् हाम्रो नाता यस्तै सोच्छु
सधैँ रहिरहोस् है माया गाढा यस्तै सोच्छु
चुल्हो जलाउन भौतिक शरीर दूर होला
प्रेमिल आत्मा नहोस् टाढा यस्तै सोच्छु ।

मुक्तक–दुई
मतिर हेर्दै ठूला आँखा तर्‍यौ धन्यवाद
धनाढ्य मान्छेको पछाडि पर्‍यौ धन्यवाद
तिम्रो जीवनको अङ्गरक्षक बनेको थिएँ
‘चिन्दिनँ’ भनेर नाटक पो गर्‍यौ धन्यवाद ।

मुक्तक–तीन
गाजाको खेती गरौँ, रक्सीको भट्टी खोल्नुपर्छ
र पो देश बन्छ सही मान्छेको विरुद्ध बोल्नुपर्छ
जलस्रोतको धनी देशमा पिउनुपर्छ मिनिरलवाटर
घरनजिकको त्यो मुलपानीमा विष घोल्नुपर्छ ।

मुक्तक–चार
हातमा छ गुलाफको फूल कसलाई भेट्न जाने हो ऊ
प्रेमको नाममा फेरि कसको जिन्दगी रेट्न जाने हो ऊ
भर्खरको चल्ला छ ठूलै हल्ला बुझ्दैन केहो जिन्दगी
थाहा छ यति यौनतृष्णा क्षणिक मेट्न जाने हो ऊ ।

मुक्तक–पाँच
सबैको प्यारो बन्नु मेरो अठोटभित्र पर्छ
घमण्ड र रिसराग पाल्नु बोझभित्र पर्छ
मलाई हराएर संसार जिते जस्तो नगर्नुस्
हारेर पनि जित्नु नै मेरो सोँचभित्र पर्छ ।

मुक्तक–छ
खै के परिवर्तन भयो गणतन्त्र आएको धेरै भयो
देश बनाउँछु भन्नेले शासन चलाएको धेरै भयो
यसले केही गर्छ कि भनेर पार्टी फेरि फेरियो मान्छे
सोझा जनताले मनमा सपना सजाएको धेरै भयो ।
०००
रेउघा¸ रोल्पा

TAGS: नेपाली मुक्तक मुक्तक