गेथाती

तीन गजलकारका तीन गजलहरू


२६ बैशाख २०८१, बुधबार

राप्ती साहित्य परिषद् जिल्ला शाखा, रोल्पाले आफ्नो १५ ‍औँ साधारणसभा तथा पाँचौँ अधिवेशनको अवसरमा २०८१ वैशाख १५ गते रोल्पाको लिबाङमा खुल्ला गजल प्रतियोगिता सम्पन्न गर्‍यो । सो प्रतियोगितामा प्रथम रोल्पाकी सपना सरगम, द्वितीय रोल्पाकै हिमा खड्का ‘मनसुन’ र तृतीय दाङका विक्रम ओली ‘नेपाली बाबु’ भएका थिए । प्रतियोगितामा विजयी गजलहरू यहाँहरूमा राखेका छौँ । – सम्पा.

प्रथम गजल – सपना सरगम
जिन्दगी के नै छ र लिनका लागि दिनका लागि
एउटा चिनो छोडेर जानुस् फेरि सम्झिनका लागि

बा आमा वृद्धाश्रम जानुपूर्व यो सोच्दैनन् छोराहरू
कुनैपल म त्यही पुग्नपर्छ औठाछाप लिनका लागि

तिमीले यो छाती कुल्चेर गएकोमा कुनै गुनासो छैन
चप्पल हो यो ज्यान अझै तयार छ टेकिनका लागि

ए ! नदी नरिसाऊ न किनाराले किनार झम्टियो भनेर
हेर त फूल पनि चुडिनुपर्छ शिरमा सजिनका लागि

यो सरकारले कहिलेसम्म हो निदाएझैँ गर्ने कुन्नि
मुर्दाहरूसमेत चितामा तयार छन् उभिनका लागि
रोल्पा–१०¸ रोल्पा
०००

द्वितीय गजल – हिमा खड्का ‘मनसुन’
पछाडिबाट हुत्याउनु हुन्छ अगाडि समाउनु हुन्छ
भित्र दाँत कस्दै बाहिर खिस्स मुसकुराउनु हुन्छ

अस्ति उही साथीले दिएको गहिरो घाउ छ
खाटो लाग्दैछ भन्छु, उहाँ खै भन्दै कोट्याउनु हुन्छ

साथी छल्लिएर हिँडौ मेरा दुश्मनहरूको घर आयो
हस् भन्नुहुन्छ अगाडि गएर सिठ्ठी बजाउनु हुन्छ

हावा लाग्दा त पखेटा छैन उड्न नजान्ने मान्छे म
साथीभाइको जमातभित्र मजाकमा उडाउनु हुन्छ

अञ्जानमा भएका भुलहरू सबले बिर्सन लाग्छ
म बिर्सन चाहन्छु उहाँ घरिघरि सम्झाउनु हुन्छ

साँच्चै मैले नबुझेको कुरा यो, तपाई भनिदिनुस् न
यी सब गरेर आखिर उहाँले के कति पाउनु हुन्छ ?
त्रिवेणी–६ जुगार रोल्पा
०००

तृतीय गजल – विक्रम वली ‘नेपाली बाबु’
उनको नाम हावामा लेखेर बेसुर पठाइदिएँ
यसरी धोकेबाजलाई मबाट दूर पठाइदिएँ

कसैले मलाई वचनको पत्थरले हिर्कायो
आँसुले प्रशोधन गरेर कोहिनुर पठाइदिएँ

भुइँ फूलले पनि जानेको छ सुवास दिन
मलाई ‘तँ’ भन्नेलाई मैले हजुर पठाइदिएँ

उजाड रातमा भौंतारिरहेथेँ उनका यादहरू
प्रेमको किस्सा सुनाएर भरपुर पठाइदिएँ

विश्व तस्बिर प्रतियोगिता राखिएको रहेछ
मैले हिमालमुनि नाचेको मयूर पठाइदिएँ
घोराही–११, दाङ
०००