गेथाती

समयको भ्रष्टाचार


उनीहरूले
खोसेर यो सहरको स्वर्णिम समय
ठड्याए अग्लो कङ्क्रिट घण्टाघर र
बन्धक बनाए एक शताब्दी समय ।

विभेदको असुहाउँदो माइक
गुञ्जियो गाउँको सुर्यास्त ध्रुवमा
बज्यो सामाजिक विचलनको सेकेण्ड
सद्भावविहिन मिनेटको फर्माइस
तोडियो आदिम बस्तीको अमूल्य सभ्यता ।

बिराएर बाटो हिँड्यो वैज्ञानिक चेत
सन्कायो आँखाको उत्तेजनात्मक परिधि
निकाल्यो विखण्डित क्रिडाको एक बुन्द विर्य र
निल्यो रोमान्समा एक अञ्जुली विकासका सूचक ।

यहाँ
तिमीले पर्खिबसेको समयको आकार
कसैले कोठाको काँटीमा झुण्ड्याएको छ ।

मौन बस्यो,
देखायो उच्छृङ्खल व्यवहारको ठेली,
तेर्स्यायो पाप, धर्मको ठूलो पर्खाल
छुट्यायो शिर, सिमाना र लगायो चिनोको साँध ।

अब, फुकिदियो रातका कानहरू
कोट्यायो तिमीले भुलिआएको अनौठो समय
जो प्रतीक्षाको व्यग्रता भुलेर शिथिल हुन चाहन्थ्यो
तिम्रै आलिङ्गनको ज्वालामुखीमा ।

मच्चायो भूगोलको वितण्डा ताण्डव
हेर्‍यो रमिताको एक आकाश दृश्य
व्युत्यायो बस्तीले खुम्च्याएको छातीको विस्फोट
मिलायो समयको जोड घटाउ
बुझायो अनियमित थेसिसका मास्टरकपि ।

चुडेर अलिकती समयको टुक्रा
कसैले बेस्कन बाँधेको छ आफ्नो नाडी ।

कोर्‍यो समयले समयकै दृष्टिबन्धक सीमा
खोस्यो बालिक अधिकारको न्यायिक उमङ्ग
राख्यो मिठाइका बट्टामा एक्ली राजकुमारी र
गर्‍यो मस्तिष्क विकासको सामुहिक दोहन ।

लुक्यो सुदूर छाउपडी, लुक्यो उज्यालोको रङ,
लुक्यो छाउगोठ, लुक्यो पत्रिकाको हेडलाइन र
आज बिस्तारामा कैद छ समयको भर्जिनिटी ।

प्राचीन समयको एक पृथ्वी वृत्तचित्र
एक मुठ्ठीमा कसेर चिप्लियो डाइनोसर समय र
निकाल्यो भुगोलले, गोलार्ध समयको बलात्कृत धुन ।

०००
धनकुटा

कवि अनिल अदृष्यको यो कविता रोल्पामा आयोजित ‘रोल्पा सिर्जना महोत्सव’ पाँचौँ संस्करणका अवसरमा आयोजित ‘पाँचौँ राष्ट्रिय कविता प्रतियोगिता’का लागि प्राप्त १६३ वटा कवितामध्ये उत्कृष्ट १० मा परेको थियो । तर उनी अन्तिम मूल्याङ्कनका लागि सहभागी भएनन् ।

सिफारिस

देशजस्तो (प्रथम कविता)

स्याण्डग्लास : सृष्टिको काउन्ट-डाउन (द्वितीय कविता)

हल्ला नगर्नुस् न, नानीहरू खेलिरहेछन् (तृतीय कविता)

इच्छापत्र (सान्तवना कविता)

ऐँठन (सान्त्वना कविता)

रोल्पा

विचित्रको चित्र

तेर्सिन्छ है प्रश्न यो

तिलहरी

TAGS: कविता नेपाली कविता