गेथाती

रोल्पा

केही घाउहरू बाँकी छन्
र त उपचाररत् छ रोल्पा,

आँखामा छाएको धमिलोले
मटमैलो देखिरहेको दृश्यबाट
छुटकारा पाउन प्रयासरत् छ रोल्पा,

अब त ढकमक्क फुल्नुपर्ने हो रोल्पामा
अनेक रङ्गका लालीगुराँस,
हटेर आँखाबाट बारूदी कसिङ्गर
अब त सबैतिर दृश्यवान् हुनुपर्ने हो रोल्पा,

लडाइँमा होमिएका
तर निराश मनहरूबाट
अब त छर्लङ्ग फाट्नुपर्ने हो बादल
र यतिबेला त
राखेर सिरानमा अनेक रङ्गका लालीगुराँस
रोल्पाले
लेखिरहनुपर्ने हो
प्रेमको कालजयी कविता

सत्ताले र समयले
रोल्पाको माटोमा फुलाउनका लागि
फूलका नयाँ बेर्नाहरू
तयार गरेको छ कि छैन ?

देश दुख्यो भनेर
गनगन गरिरहने विद्वानहरूले
शब्दकोशको नयाँ संस्करणमा
रोल्पाका भाका र बोलीहरूलाई
समेटेका छन् कि छैनन् ?

रोल्पाको क्यानभासमा
चित्रका जादुगरहरूले
मुस्कानका
नयाँ रङहरू भर्न खोजिरहेका छन् कि छैनन् ?

रोल्पाको
रक्तरञ्जित उर्वर माटोमा
मजस्तै देखिने एउटा कवि
कठोर प्रश्नका साथ उभिएको छ
र सरोकारवालाहरूसित सोधिरहेछ-
‘रोल्पामा उज्यालो घाम उदाउँदा
राजधानीमा धरहराको नयाँ उचाइ हेरिरहेको तिमीले
मुस्कुराएर
रोल्पाको घामलाई
स्वागत गर्ने गरेका छौ कि छैनौ ?’

अब आउने वसन्तमा
रोल्पामा आउनुअघि
तिमीले
यो प्रश्नको जवाफ पनि लिएर आउनू !
त्यतिबेला तिमीलाई
फुलाएर जलजलाभरि
अनेक रङ्गका लालीगुराँसहरू
पर्खिरहेको हुनेछ रोल्पाले ।

बस्, यत्ति ख्याल गर्नू,
ती लालीगुराँसहरू
अब फेरि कहिल्यै भुइँमा नझरून् !
०००
चन्द्रपुर–४ रौतहट¸ मधेस प्रदेश

कवि रेणुका जिसीको यो कविता रोल्पामा आयोजित ‘रोल्पा सिर्जना महोत्सव’ पाँचौँ संस्करण अन्तर्गत ‘पाँचौँ राष्ट्रिय कविता प्रतियोगिता’का लागि प्राप्त १६३ वटा कवितामध्ये उत्कृष्ट १० मा परेको थियो । अन्तिम मूल्याङ्कनका लागि वाचित कविता लिङ्कः

सिफारिस

देशजस्तो (प्रथम कविता)

स्याण्डग्लास : सृष्टिको काउन्ट-डाउन (द्वितीय कविता)

हल्ला नगर्नुस् न, नानीहरू खेलिरहेछन् (तृतीय कविता)

इच्छापत्र (सान्तवना कविता)

ऐँठन (सान्त्वना कविता)

विचित्रको चित्र

तेर्सिन्छ है प्रश्न यो

तिलहरी

समयको भ्रष्टाचार

TAGS: कविता नेपाली कविता