भोलि बिहानै भालेको डाँकमा
बाँधेर बाध्यताका पोकापन्तुरा
तयार हुनुछ,
जीवनकै गरुङ्गो भारी बोक्न ।
फूलमाया
थोरै बढी भारी तिमीले बोक्नुछ ।
नानीबाबुको,
बूढो बाबाआमाको,
घरको,
बिछोडको ।
झरेर,
वेँशीटारको फाँटैफाँट,
तरेर रोसी खोलाको साँघु,
पुग्नुछ,
राजमार्गसम्म,
जसले ओसारी रहन्छ,
हामी दुखियाहरूको,
थोरै रहर,
धेरै बाध्यताहरू ।
फूलमाया
तिमीले पनि ओसारी रहनु,
मेरो पसिनाको आभालाई,
घरको आँगनदेखी अँगेनासम्म
चिसो हुँदै गएका
बाआमाको शरीरलाई,
ऊर्जा थपिरहनु मन तातो पानीले ।
फूलमाया
नानीबाबुलाई सुनाइरहनु
काल्पनिक फिल्मी कथा ।
खित्का छोड्दै खुशीले
तिम्रो काख र छातीमा टाँसिदै
जब सोध्नेछ, आमा त्यसपछि,
भनिदिनु,
उडेर आउनुहुनेछ तिमीहरूका बा ।
सुपरम्यान जस्तै ।
उडाउनेछन सबै दुखहरू फुस्स फुकेर,
ओइ फूलमाया
उड्दा उड्दै,
चरा जस्तै माथि आकाशमा ।
खोज्दा खोज्दै,
मरुभूमिमा पैसाको मुहानहरू,
खै कताबाट लुकेर त्यो कायर समयले
चलायो गोली छातीको देब्रे भित्तामा
चालै पाएन,
खै कति बेला छुटीगए
तिम्रा बालुवा जस्तै यादहरू
मुटुको काँपहरूबाट
फूलमाया
मसँगै जन्ती गएका
मेरा बाध्यताहरू,
मैसँग फर्केका छन
मेरा मलामी बनेर ।
फूलमाया,
नखोलीदिनु है,
मसँगै ल्याएको काठको बाकस,
हेर्न सक्दिनँ म,
विभत्स दृष्य ।
लौरो हराएर,
अर्धचेतमा पुगेको जोडी इतिहासको
रोएर भुइँमा उफ्रिरहेको मुटुको टुक्राहरूको
रोसी खोला बग्दै गरेको तिम्रो आँखाहरूको ।
फूलमाया
बरु बिस्तारै ढकढकाउनु
मसँगै आएको काठको बाकस ।
पराकम्पन जानेगरी,
मेरा निर्जीव धड्कनहरूमा
र गर्नु, सुमधुर स्वरमा अनुरोध,
कालेको बाबा, उठ्नुस् न,
ढकढक ढकढक
उठनुस् न कालेको बाबा
ढक ढक ढक ढक
ह्या !
उठ्नुस् न भन्या
बिहान भइसक्यो, खेतमा जानुछ ।
आज फेरि निद्रामा मुर्मुराउनु भएकोछ,
के देख्नुभयो?
०००
हेटौँडा-८, मकवानपुर
कवि दिपेश थापा यो कविता रोल्पामा आयोजित ‘रोल्पा सिर्जना महोत्सव’ पाँचौँ संस्करण अन्तर्गत ‘पाँचौँ राष्ट्रिय कविता प्रतियोगिता’का लागि प्राप्त १६३ वटा कवितामध्ये उत्कृष्ट १० मा परेको थियो । अन्तिम मूल्याङ्कनमा उनको कविताले सान्त्वना स्थान प्राप्त गर्यो । कविता लिङ्कः
सिफारिस
देशजस्तो (प्रथम कविता)
स्याण्डग्लास : सृष्टिको काउन्ट-डाउन (द्वितीय कविता)
हल्ला नगर्नुस् न, नानीहरू खेलिरहेछन् (तृतीय कविता)
इच्छापत्र (सान्तवना कविता)
रोल्पा
विचित्रको चित्र
तेर्सिन्छ है प्रश्न यो
तिलहरी
समयको भ्रष्टाचार
