हल्ला नगर्नुस् न
नानीहरू खेलिरहेछन्
किताबको भारीहरू बोकेर
पाठशाला जाँदाजाँदा
आँखा चिम्म गरेर कपीका अक्षरहरू
अक्षरशः घोक्दाघोक्दा
कलमका मसीहरू सकिने गरी
लेख्दालेख्दा
आजित भइसकेका नानीहरू
मर्मतका लागि सडक बन्द भएपछि
क्रूर शासकको अवसानमा विद्यालयहरू
बिदा गरिएपछि
उनीहरू खेल्न बाहिर निस्केका छन्
हल्ला नगर्नुस् न
नानीहरू खेलिरहेछन्
इलास्टिक कमजोर भएका पाइन्टहरू समातेर
नाकको सिॅंगानको प्रवाह नगरी
भोकप्यासको मतलवको विरूद्द
उनीहरू ब्याट, बल लिएर
सडकमा निस्केका छन्
तपाईंहरू हल्ला नगर्नुस् न
नानीहरू खेलिरहेछन्
कोही हाफपाइन्टमा
कोही फुल पाइन्टमा
कोही स्कटमा
कोही जामामा
देश खेलकुदमा आत्मनिर्भर भए जसरी
देशमा गाडी हिँड्ने बाटो
र, बच्चा खेल्ने चौर बेग्लाबेग्लै छ जसरी
घरघरबाट नानीहरू निस्केका छन् खेल्न
हेर्नुस् त एक पटक उनीहरूका आँखामा
बल उफ्रेको देखेर
बल गुडेको देखेर
बल उडेको देखेर
केही क्षणकै लागि सही
उनीहरूको मुहारमा खुसी फूलेको छ
प्लीज हल्ला नगर्नुस् न
नानीहरू खेलिरहेका छन्
आज बिदाबार
खुला चौरमा तपाईंले बोलेको चर्का भाषण सुने भने
फेसबुकमा तपाईँले लेखेका
समृद्धिवाला स्टाट्स देखे भने
कुनै भेटमा तपाईंले देखाउनुभएको
सपना सम्झे भने
उनीहरू भत्कने छन्
र आफूलाई बनाउन देखेको सपना चुडाल्ने छन्
कृपया, तपाईँहरू हल्ला नगर्नुस्
उनीहरू आफ्नै सपनासँग खेलिरहेका छन्
०००
हेटौडा, मकवानपुर
कवि अनिता न्यौपानेको यो कविता रोल्पामा आयोजित ‘रोल्पा सिर्जना महोत्सव’ पाँचौँ संस्करण अन्तर्गत ‘पाँचौँ राष्ट्रिय कविता प्रतियोगिता’का लागि प्राप्त १६३ वटा कवितामध्ये उत्कृष्ट १० मा परेको थियो । अन्तिम मूल्याङ्कनमा उनको कविताले तृतीय स्थान प्राप्त गर्यो । कविता लिङ्कः
सिफारिस
देशजस्तो (प्रथम कविता)
स्याण्डग्लास : सृष्टिको काउन्ट-डाउन (द्वितीय कविता)
इच्छापत्र (सान्तवना कविता)
ऐँठन (सान्त्वना कविता)
रोल्पा
विचित्रको चित्र
तेर्सिन्छ है प्रश्न यो
तिलहरी
समयको भ्रष्टाचार
