गेथाती

इच्छापत्र (सान्तवना कविता)

यी मेरा नङको भएर फरुवा बाँझा गरामा खनून्
मेरा दाँतहरू कडा रहिरहून् गोली र छर्रा बनून्
जिब्रोले कहिल्यै असत्य नबकोस् काटेर फाले पनि
धागो बन्न गई सिलून् मुलुक यो मेरा नसाले पनि ।

तारा टिप्न सकून् रकेट जसरी ‍औँलाहरू दौडियून्
चुर्लुम्मै म डुबूँ बगेर पसिना यी पाखुरा पैडियून्
मेरा केश कुचो भई मुलुकको मैलो बढार्दै गरोस्
छाला वस्त्र बनोस् मधेस हिमको गर्मी र जाडो छलोस् ।

गोडा भाँचिरहून तथापि उभियून् मेरा नलीहाडले
घाँटी काटिरहोस् शरीर नढलोस् थामोस् बिँडो डाढले
छाती भ्वाङ परोस् तिनै करङको पर्खाल होस् साँधमा
फुस्कोस् कम्मर किन्तु देश नखसोस् बोकी हिँडूँ काँधमा ।

रातो रक्त बगोस् फुटेर मुटुको उम्रोस् गुराँसै बनी
आगो निल्न सकून् कदापि नडरुन् फोक्सो, कलेजा पनि
आन्द्रा तार भई करेन्ट फिजियोस् छोएर वैरी ढलोस्
विष्ठा, गोबरबाट बारुद बनोस् अन्यायमा पड्कियोस् ।

सारा मासु गलोस् परन्तु अडियोस् कङ्काल खम्बासरि
मेरा खप्पर हो तयार रहनू क्षेप्यास्त्र छेक्ने गरी
ज्यानै दान गरूँ खुसी हृदयले धर्ती हँसाऊँ भनी
माटो बन्न सकूँ त्यही युग नयाँ जन्मेर हुर्कोस् अनि ।

०००

ठाँटीकाँध—४, दैलेख
छन्दः शार्दूलविक्रीडित

कवि दीपिन सिजापतिको यो कविता रोल्पामा आयोजित ‘रोल्पा सिर्जना महोत्सव’ पाँचौँ संस्करण अन्तर्गत ‘पाँचौँ राष्ट्रिय कविता प्रतियोगिता’का लागि प्राप्त १६३ वटा कवितामध्ये उत्कृष्ट १० मा परेको थियो । अन्तिम मूल्याङ्कनमा उनको कविताले सान्त्वना स्थान प्राप्त गर्‍यो । कविता लिङ्कः

सिफारिस

देशजस्तो (प्रथम कविता)

स्याण्डग्लास : सृष्टिको काउन्ट-डाउन (द्वितीय कविता)

हल्ला नगर्नुस् न, नानीहरू खेलिरहेछन् (तृतीय कविता)

ऐँठन (सान्त्वना कविता)

रोल्पा

विचित्रको चित्र

तेर्सिन्छ है प्रश्न यो

तिलहरी

समयको भ्रष्टाचार

TAGS: कविता नेपाली कविता