यतिखेर –
कङ्क्रिटका
म्याग्नेटिक कणहरू टाँसिएको
मानवताको एक थान स्याण्डग्लास फोक्सो
काउन्ट~डाउनमा छ,
सिमे-भूमेको
माटोले रङ्गिएको
आदिवासी लङ्गौटमा
टाँसिएको छ कालो अलकत्रा..
र त्यही लङ्गोटमाथि
बुलडोजरमा चढेर आइरहेछ विकाश ।
जुन विकाशले
झण्डा समात्ने हतारमा –
पहिरिनै बिर्सिएको छ लङ्गौट !
कुनै सिरियल किलरले
जथाभावी छुरा हानेर
भर्खरै फरार भएको
भिक्टिमको ताजा लाशजस्तै –
कसले पो
हनहनी तताएर
छातीमा घुसाइदिएछ –
तात्तातो आइ~एस~ओ सर्टिफायड रड !
मधेशको गर्मीको बरफझैँ –
पग्लिदैछ तेन्जिङ नोर्गेको देश ।
चट् चट् चट् काटिदैछन्
भगीरथका तपस्यारत बुढीऔँलाहरू,
र ती औँलाहरू
कुनै डेलिभरीको सामानझैँ
प्याक गरिँदैछन् ठूला-ठूला पोलिथिनहरूमा,
र फ्याँकिदैछन् सप्तसागरहरूमा..
तिनै औँलाहरूको कुहिगन्ध बोकिरहेको,
– अमेजन अहिले ट्राफिक जाममा छ ।
र
सनबाथ लिँदालिँदा तिर्खाएको बगर
पिइरहेछ एक नदी सिन्थेटिक कोक !
ट्रकका ट्रक लोड गरेर –
कहाँ लगिदैछन् यी आदिम छाप्राहरू ?
बूढो फिनिक्स सोचिरहेछ –
कहाँबाट आउँदैछ यो
मेरो आवाजलाई पराजित गर्न तम्सिएको
कर्कश चेनसो र हेक्सोको साइरन ?
साँझपख फर्किएको छ –
बिहानै शिकारमा निस्किएको पारुहाङ,
र सतीको विरहमा बौलाएको महादेवझैँ
खोजिरहेछ आफ्नो थातथलो
र वस्तीकी चन्द्रमाजस्ती सुम्निमालाई..
सुम्निमा,
जसलाई –
हाट लैजान लागिएको दासझैँ ,
बलजफ्ती खाँदिएको थियो –
त्यही ट्रकको क्याबिन सिटमा… !
परीक्षण ल्याबमा राखिएको
भ्यागुताको मृत शरीरमा झैँ –
रकेट~सिरिन्जहरू रोप्दैछन्
बादलको छातीभरी भर्भराउँदो एसिड,
कुनै शौखिन प्लेब्वायले
पर्फ्युमले नुहाएझै सर्वाङ्ग शरीर –
सुपरमानवले मास्क लगाएर छर्दैछ,
मोनोअक्साइड र अटोमोबाइल स्प्रे !
र कुनै अभिशप्त यहुदीको काँपिरहेको मुटुझैँ –
ग्यासच्याम्बरभित्र धीमा धड्किदै छ प्लास्टिक ग्लोब !
यो विस्फोटको
अन्तिम घडीमा पनि
म सोचिरहेछु –
पड्कदै गर्दा यो स्याण्डग्लास फोक्सो,
कतै उछिट्टिएर निस्की पो हाल्छ कि ?
– संजीवनीको बीउ !
०००
गैँडाकोट-९, नवलपरासी
कवि अञ्जान प्रदीपकको यो कविता रोल्पामा आयोजित ‘रोल्पा सिर्जना महोत्सव’ पाँचौँ संस्करण अन्तर्गत ‘पाँचौँ राष्ट्रिय कविता प्रतियोगिता’का लागि प्राप्त १६३ वटा कवितामध्ये उत्कृष्ट १० मा परेको थियो । अन्तिम मूल्याङ्कनमा उनको कविताले द्वितीय स्थान प्राप्त गर्यो । कविता लिङ्कः
सिफारिस
सिफारिस
देशजस्तो (प्रथम कविता)
हल्ला नगर्नुस् न, नानीहरू खेलिरहेछन् (तृतीय कविता)
इच्छापत्र (सान्तवना कविता)
ऐँठन (सान्त्वना कविता)
रोल्पा
विचित्रको चित्र
तेर्सिन्छ है प्रश्न यो
तिलहरी
समयको भ्रष्टाचार
