कवि चित्रकार
जिन्दगीको चित्र कोर्ने प्रतियोगितामा गयो
जित्छु भनेर
लिएर एउटा खालि सेतो पाना बस्यो चित्र कोर्न ।
हेर्छ आकाशको गहिराइलाई
गहिराइ टिपेर राखिदिन्छ पानामा
र त्यही पानाको गहिराइमा हराइदिन्छ एकछिन ।
गीत गाउँदै रुखमा बसेको सेतो चरालाई हेर्छ
छुट्टाउँछ गीत र चरालाई
रिसाएको चरालाइ ल्याउँछ पानामा
पाना उडेर अलि पर पुग्छ
ऊ हतारहतार पानालाई समाउँछ ।
अझै हात माथि लगेर टिप्छ इन्द्रेणीलाई
र छरिदिन्छ एकमुठ्ठी रङ चित्रमा ।
हेर्छ बादलका थुम्काहरूलाई
टिपेर बादलहरूलाई बुट्टा भरिदिन्छ चित्रमा ।
अब उसको चित्रको अन्तिम
‘फिनिसिङ टच’का लागि
अझै पर आकाशको क्षितिजलाई हेर्छ
ल्याउन खोज्छ तर सक्दैन
मुन्टो हल्लाउँछ र आफैलाई भन्छ
‘चित्रको पूर्णविराम हुँदैन !’
सकियो उसको चित्र
हेर्छ उसले आफूले बनाएको जिन्दगीको चित्र
जस्मा छ ‘गहिराइमा उड्न खोजेको रङ्गिन बुट्टेचरा’
सकियो उसले आकाशतिर हेर्न
अब आकाशले उसलाई हेर्छ
पानी पर्छ
भिज्छ उसको चित्र
पानीसँगै बग्छन् आधा रङ्गहरू
बाँकी आधा रङ्ग लिएर चरा
गीत भएको रुखसम्म पुग्छ
उसको पाना अब पहिले जस्तै भयो
खाली सेतो पाना
जसलाई हेरेर ऊ मुस्कुराउँछ र ध्यान मग्न हुन्छ ।
चित्र बनाउने समय सकियो
निर्णायक आउँछन्
देख्छन् ध्यानमग्न चित्रकार कविको आँखामा
पानी पर्दा पनि सुनिने गीत र
आधा रङ बोकेर उडेको चराको प्रतिबिम्ब
त्यसपछि हेर्छन् खाली सेतो पाना
घोत्लिएर बस्छन् एक्छिन् र भन्छन्
‘बधाई छ तपाईंले यो प्रतियोगिता जित्नुभयो ।’
०००
गोकर्णेश्वर-५ , काठमाडौँ
कवि दिपेश थापा यो कविता रोल्पामा आयोजित ‘रोल्पा सिर्जना महोत्सव’ पाँचौँ संस्करण अन्तर्गत ‘पाँचौँ राष्ट्रिय कविता प्रतियोगिता’का लागि प्राप्त १६३ वटा कवितामध्ये उत्कृष्ट १० मा परेको थियो । अन्तिम मूल्याङ्कनका लागि वाचित कविता लिङ्कः
सिफारिस
देशजस्तो (प्रथम कविता)
स्याण्डग्लास : सृष्टिको काउन्ट-डाउन (द्वितीय कविता)
हल्ला नगर्नुस् न, नानीहरू खेलिरहेछन् (तृतीय कविता)
इच्छापत्र (सान्तवना कविता)
ऐँठन (सान्त्वना कविता)
रोल्पा
तेर्सिन्छ है प्रश्न यो
तिलहरी
समयको भ्रष्टाचार
