चरीको पखेटाबाट छुटिजाने प्वाँखजस्तो
हराउँदैन ऊ हुरीसँग बादलु देशमा
फर्कन्छ बरू
जसरी फर्कन्छ माहुरी
सुदूर बुकीको फूलबारीबाट आफ्नै घार ।
रोल्पा, थबाङ- ३, मिरुलमा
गाडिएको छ – हरिबहादुर बुढामगरको नाल
बेलाबखत
सुमसुम्याउन आइपुग्छ – मिरुललाई
र, फर्कन्छ निधारमा लाएर – माटोको टीका ।
हरिबहादुर बुढामगर !
गुराँस फूल्ने देशमा जन्मेको हो
हरेक सम्भावनाहरूलाई
उसले – गुराँसजस्तै रङ्गिन देख्छ
हिमाल मुस्कुराउने देशमा हुर्केको हो
अटल खम्बा बनेर सधैँ
उसले – मीठो मुस्कान बाँडिरहन्छ ।
अफगानिस्तानको रणमा
उसले दुबै खुट्टा गुमायो
र पनि गुमाएन साहस
यो दुनियाको ढुकढुकीमा चलिरहने
बनी रह्यो – प्रेरणाको स्रोत ।
सर्वोच्च शिखर सगरमाथालाई
केही मिनेट अथक पाइलामुनि राखेर
रच्यो – हरिबहादुर बुढामगरले
एउटा गौरवपूर्ण स्वर्णिम इतिहास ।
०००
