गेथाती

तेर्सिन्छ है प्रश्न यो

श्रवणकुमार नेपाली
१४ जेष्ठ २०८१, सोमबार

हाम्रो मौलिकता छ जीर्ण अहिले अस्ताउँदै छन् रवि
भोको पेट बजार डुल्नु कसरी व्यर्थै भए छु कवि
भर्ने साहस छैन यो कलममा थोरै मसीको छिटा
द्रोहीसँग स्वयम् कलङ्कित हुने लाग्यो यता बाछिटा

काखी कै मुनि लोकतन्त्र यिनले च्यापेर निस्सासियो
छन् न्यायालय भेन्टिलेटरतिरै आकाश नै भासियो
साच्चै के जनता निमित्त उनको आफ्नै प्रजातन्त्र हो?
खै आशा अनि गाँस, बास, कपडा तेर्सिन्छ है प्रश्न यो

तिम्रा हातहरू यहाँ गलिसके ताली बजाइकन
मात्रै भाषणमा सुशासन भयो खोक्रो छ भित्रीपन
साक्षी दूध नजिक बस्छ अहिले आई बिरालो पनि
गर्छन् भाषण भ्रष्टले अझ यहाँ छौँ स्वच्छ हामी भनी

घाँटी नै अवरुद्ध हुन्छ कसरी बोल्छौ मजाले भन
भर्ना हुन्छ / मेरो रुन्छ यहाँ सधैँ दशगजा को गर्छ सम्बोधन
कालीको अझ आँसुकै भल बग्यो कोशी रुँदै छिन् पर
नेपालीजन हो उचाल खुकुरी जोगाउँ आफ्नो घर

मेरा सर्टिफिकेट तोरणसरी टाँस्दन्छु गल्लीतिर
भित्ताका ती प्रमाणपत्र जति छन् फाल्दिन्छु कान्लो भिर
जो ठग्छन् अनि ढाँट्न तत्पर सधैं लाएर फूर्तिहरू
देऊ दण्ड उद्दण्डलाई अब ता हे न्यायमूर्तिहरू

देख्दै छन् किन देशमा युवकले मात्रै चुनौतीहरू
आफ्ना साधन यी प्रयोग नगरी छन् स्रोत बाँझै अरू
बस्छन् सन्तति मातृका हृदयमा कानो भएतापनि
सक्छौँ हासिल गर्न गौरव सबै सानो भएतापनि
०००
घोराही-१५,दाङ

कवि श्रवणकुमार नेपालीकाे यो कविता रोल्पामा आयोजित ‘रोल्पा सिर्जना महोत्सव’ पाँचौँ संस्करणका अवसरमा आयोजित ‘पाँचौँ राष्ट्रिय कविता प्रतियोगिता’का लागि प्राप्त १६३ वटा कवितामध्ये उत्कृष्ट १० मा परेको थियो । अन्तिम मूल्याङ्कनका लागि वाचित कविता लिङ्कः

सिफारिस

देशजस्तो (प्रथम कविता)

स्याण्डग्लास : सृष्टिको काउन्ट-डाउन (द्वितीय कविता)

हल्ला नगर्नुस् न, नानीहरू खेलिरहेछन् (तृतीय कविता)

इच्छापत्र (सान्तवना कविता)

ऐँठन (सान्त्वना कविता)

रोल्पा

विचित्रको चित्र

तिलहरी

समयको भ्रष्टाचार

TAGS: कविता नेपाली कविता