कुप्री भएकी हजुरआमालाई
एकदिन यसै सोध्न मन लागेथ्यो
हजुरआमा !
तपाईं कुप्रो नै जन्मनुभएको हो ?
हजुरआमाले बिस्तारै मुसार्नु भएथ्यो- माला
जो-
खुइलिँदै गएको पोते र
मएलको बुट्टा समातेर
पसिनाको सुगन्धसहित
छातीमा लत्रिरहेको थियो
समयको छापसहित चाउरी परेका गाला
रसाइरहने कुवाजस्ता धमिला आँखा
कलेटी परेको ओठ खोलेर
फिस्स हास्नु भएथ्यो
र,
यो व्यवस्थाभन्दा लामो खुइया काड्दै भन्नुभएथ्यो….
निकै साल पहिले
घामले आँखा मिच्नभन्दा सबेरै
पुरानै विचारका नयाँ मान्छेहरू
थोत्रा चेतनाको साथ नयाँ कपडा लिएर आएथे…
आएका मध्ये एउटाले
तेरी जिजुमाले
लगाइदिएको बुटिको माला झिकेर
मेरो गलामा लगाइदिएको थियो नयाँ माला ….
जमिन तिर तानिएको घाँटी समातेर मैले भनेथेँ
आमा-
बुटिभन्दा नयाँ माला कति गह्रुगो ?
ठीक त्यतिबेला
यो तिलहरी हो
यो तेरो लोग्नेको आयु हो
गलाबाट कहिल्यै ननिकाल्नु
आमाका रोइरहेको आँखा
भक्कानी रहेको स्वर
काँपिरहेका हात एकैसाथ भन्दै थिए
तिलहरीको वजनले
मेरा कलिला रहरहरू फुल्न दिएन
मेरो शिरलाई उठ्न दिएन
आकाशलाई सिधा हेर्न दिएन
कुनै रुखको हाँगामा झुण्डिएको पिङ जसरी
त्यही दिनदेखि-
कसैको आयु
कसैको खुशी
कसैको संस्कार
मेरो गलाको तिलहरीमा झुण्डिएर मच्चिइरहेछ
आज
हजुरआमा इतिहास हुनुभएको यतिका वर्षपछि
मैले मेरो गला छामे
हजुरआमाको गलामा जस्तै
मेरो गलामा पनि कोही मच्चिरहेको थियो …
०००
धोर्सिङ -६ भिम्फेदी मकवानपुर
कवि सङ्गीता थापा मगरकाे यो कविता रोल्पामा आयोजित ‘रोल्पा सिर्जना महोत्सव’ पाँचौँ संस्करणका अवसरमा आयोजित ‘पाँचौँ राष्ट्रिय कविता प्रतियोगिता’का लागि प्राप्त १६३ वटा कवितामध्ये उत्कृष्ट १० मा परेको थियो । तर उनी अन्तिम मूल्याङ्कनका लागि सहभागी भइनन् ।
सिफारिस
देशजस्तो (प्रथम कविता)
स्याण्डग्लास : सृष्टिको काउन्ट-डाउन (द्वितीय कविता)
हल्ला नगर्नुस् न, नानीहरू खेलिरहेछन् (तृतीय कविता)
इच्छापत्र (सान्तवना कविता)
ऐँठन (सान्त्वना कविता)
रोल्पा
विचित्रको चित्र
तेर्सिन्छ है प्रश्न यो
समयको भ्रष्टाचार
