गेथाती

सम्झनाका एक दर्जन मुक्तकहरू

सम्झना थापा मगर
११ मंसिर २०८०, सोमबार

मुक्तक – एक
फुटपाथमै बिताउँछु दिन रात, बस्ने बास छैन
शिथिल भइसक्यो शरीर, अब बाँच्ने आस छैन
कमाउने उमेर हुँदासम्म आफन्त वरिपरि हुन्थे
अचेल ढल्दो उमेरमा आफन्तको आभास छैन ।

मुक्तक – दुई
खै कसरी तिम्रो याद आउने आदत बस्यो
यादै यादमा दुब्ने यो कस्तो सङ्गत बस्यो
सँगै बाँच्ने भनी खाएको कसम तोडेपछि
मुटुभित्र कहिल्यै निको नहुने खत बस्यो ।

मुक्तक – तीन
काँधमा जिम्मेवारीको भारी बोक्नुहुन्छ बुवा
अनेकौं चाहनालाई मनभित्रै छोप्नुहुन्छ बुवा
सन्तानका लागि मरिमेट्ने अपार स्नेह सधैं,
सहि र गलत पलपलमा जोख्नुहुन्छ बुवा ।

मुक्तक – चार
हुँदै हुन्न देश छोड्ने रहर¸ बाध्यताले विदेसिनुपरेको छ
छैन कसैको आँखा ओभानो, आँसुको ढिका झरेको छ
देशको मेरुदण्ड युवा जनशक्ति विदेश पलायन भएपछि,
दैनिक उपभोग्य वस्तुहरू, विदेशबाट आयात गरेको छ ।

मुक्तक – पाँच
कुनै कुनै साथीभाइले फसाउने कुरा गर्छन्
कसैले भने व्यवहारमा कसाउने कुरा गर्छन्
कुन साथी कस्तो हो भन्ने बुझ्नै गाह्रो भयो
कसैले रुवाउने कसैले हँसाउने कुरा गर्छन् ।

मुक्तक –
प्रायःजसो हँसिलो खुसिलो मन कहाँ हुन्छ र ?
सधैं खल्तीमा टन्न सम्पत्ति धन कहाँ हुन्छ र ?
सबै सोच्ने गर्छन् जिन्दगीमा रमाएर बाचौँला,
तर मानिसले सोचे जस्तो जीवन कहाँ हुन्छ र ?

मुक्तक – सात
जीवनभर आँधी हुरी चल्छ किन होला ?
शरीर नै लथ्रुक्क हुने गरी गल्छ किन होला ?
मेरो भाग्यमा नै यस्तै हो कि दशा चलेको हो,
नियतिले बारम्बार मलाई नै छ्ल्छ किन होला ?

मुक्तक – आठ
दुश्मन पनि दुरुस्तै स्वरुप लिएर आउनसक्छ
छलकपट दृष्टिभ्रममा पार्दै नजिक धाउनसक्छ
समयमै सावधान रहन सकिएन भने दुश्मनले,
लुकीछिपी आक्रमण गर्ने अवसर पाउनसक्छ ।

मुक्तक – नौ
जिन्दगीको दु:ख सरेर जाने कहिले होला ?
दुई किनारासरि तरेर जाने कहिले होला ?
उमेर छउञ्जेलसम्म त सङ्घर्ष गरेकै छु हजुर,
संसारमा नाम कमाइ मरेर जाने कहिले होला ?

मुक्तक – दश
यहाँ कसरी हुन्छ आफ्नोपन सोचिरहेछु
सम्झदा पनि दुखिरहन्छ मन सोचिरहेछु
यता गर्दा पनि नहुने उता गर्दा पनि नहुने
यस्तै त रहेछ आखिर जीवन सोचिरहेछु ।

मुक्तक – एघार
आजभोलि मानिसहरू अङ्ग प्रदर्शन गरेका छन्
को भन्दा को कम भन्दै प्रतिस्पर्धामा लडेका छन्
हे भगवान् कलियुगमा के देख्नुपरेको होला यस्तो,
शरीर नछोपिने पारदर्शी कपडामा सजेका छन् ।

मुक्तक – बाह्र
समाजमा विभिन्न किसिमका घटनाहरु घट्न थाले
हत्या, हिंसा, लुटपाट र अत्याचार बारम्बार बढ्न थाले
यस्ता घटनाहरूलाई रोक्ने उपाय खोजिदिनुस् सरकार,
आजभोलिका शिक्षित मान्छेहरू किन यसरी सड्न थाले ।
०००
स्याङ्जा