गेथाती

जन्मभूमि

बिपल पुन मगर
११ मंसिर २०८०, सोमबार

सुन्दर थियो जन्मभूमि छोडी गयौ तिमी कहाँ ?
मातृत्वको नाता तोडी जान लाग्यौ तिमी कहाँ ?

भ्रम किन पर्छौ बेकार मृगतृष्णा मेट्न यहाँ
कल्पनामा छुट्छौ बेकार पूरा हुने छैन जहाँ ।
हात खुट्टा नथाकेर हुने यहाँ केही छैन
रगत पसिना नसाटेर पाउने यहाँ केही छैन ।
सुन्दर थियो जन्मभूमि ……

रात छैन दिन छैन हिँडी मात्र रहन्छौ कता
पाउनु के छ ? गर्नु के छ ? जिन्दगी हो सार एउटा ।
पशुपतिलाई चढाउने जिन्दगीको फूल एउटा
बागमतिमा मिसाउने गर्दैछौ कि भूल एउटा ।
सुन्दर थियो जन्मभूमि ……

पसिनाले डलर साटी गगनचुम्बी घर बन्यो
एक्लो भएर जिउने छाती जिन्दगीको हार बन्यो ।
जिउन सिक मान्छे भई पुर्ख्यौली ठाउँ थलामा
मातृभूमि खोज्छ तिमीलाई प्रत्येक ठाउँ पलपलमा ।
सुन्दर थियो जन्मभूमि ……
०००
रुकुमपूर्व

TAGS: गीत