गेथाती

‘परान्मन्तरी’ र काँचीवाल


८ मंसिर २०८०, शुक्रबार

‘ए बाउ ! परान्मन्तरी त आउने भएछन् त ।’

‘के भन्नुभाको बाजु ?’

‘उनाम¸ मैनाम¸ रनामतिर त परान्मन्तरी पर्चन्न आउने रे त । त्याँ परान्मन्तरीलाई भन्नु, हाम्रो गाउँमा दुनिमादल हाम्रो थरीमा बज्छ कि बज्दैन ?’

‘बाजु कुरो त बुझिएन नि ।’

‘तमीले देखेनौ र ? त्यो थार्कीमा नाच्ने गाउँने कोही छैनन् त बा । गाउँ छोडेर गाकाहरू कहिले फर्केर आई नाच्लान् बा । साह्रै निर्स्यालो भाको छ बा । घरै छोडी गाकालाई परान्मन्तरीले जसरी नि फर्काइदेउन् ।’

बाजेको यी शब्दले म स्तब्ध भएँ । साँच्चिकै दशैँतिहारमा मान्छे खचाखच भरिएर नाच्ने थरी र थलाहरू रित्तो थिए । एक्लै बुढा बाजे ठूलो गम्के मादल काखमा राखी सुल्पा तक्तक्याउँदै थिए । उनका वरिपरि अरू दुई चार जना वृद्ध र बालबालिकाहरूले बाजेलाई हेरिरहेका थिए । साँच्चै तिहारको त्यो सधैँझैँ रमझम हुने दिन सुनसान र उराठलाग्दो थियो । मैले बाजेलाई हुन्छ मात्रै भन्न सकेँ अरु कुरा भन्दै नभनी गाउँको पुछारमा रहेको गोठतिर लागेँ । गोठतिर लाग्दै गर्दा बाटामा पानी चुहेर सिवाली परी हरिया भयका घरका भित्ता¸ बाँझो परेर झारजङ्गलले ढाकेका खेतबारी देख्दा मनमा साह्रै उराठ लाग्यो । गाईबाछा दाम्लाबाट फुकाएर घरको सानो पुन्टेसँग हाहा र हुहु गर्दै चरनखर्कतिर लाग्यौँ । त्यही बेला मेरो पुन्टेले प्रश्न गर्‍यो¸ ‘बा ! त्यो माथिल्लोघरे काकाको छोराले त आइफोनमा भिडियो चलाउँदै हिड्छ । कताबाट ल्याको होला है बा ?’

मैले भनेँ¸ ‘उसको बाले विदेशबाट पठाइदेको छोरा ।’

मेरो पुन्टेले सोध्यो¸ ‘बा¸ मोबाइल हातमा समाउनलाई त विदेशै जानुपर्ने रैछ है ? मलाई पनि कस्तो चलाउन मन लाग्छ । तपाई पनि विदेश जानुस् न बा ।’

म चुपचाप भएँ । म कसरी सम्झाउँ¸ आइफोन चलाउने हातहरूले आफ्ना बाबाहरूको न्याना ‍औँलाहरू चलाउन पाएका छैन भनेर । मैले कसरी सम्झाउँ¸ उनीहरूको बाबाको काखमा बसी तोतेबोली सिक्न पाएका थिएनन् भनेर । अनि कसरी बुझाउँ¸ बाबासँग बिताएका तिठामिथा सम्झनाका कुनै पलहरू छैनन् भनेर ।
अनि म कसरी सम्झाउँ¸ बाबा भएर पनि बाबाको प्रेममय स्पर्श नपाउने अभागीहरूको हातमा आइफोन चलछ भनेर । सायद मेरो पुन्टे म प्रदेशी बाबा हुन नसकेकोमा आफूलाई अभागी ठान्छ होला।
मेरो पुन्टेले सोध्छ मलाई¸ ‘बाबा¸ विदेश कसरी जान्छन् ?’

मैले भनेँ¸ ‘पासपोर्ट बनाएर विदेश जान्छन् छोरा ।’

पुन्टे अझै थप्छ¸ ‘बा¸ उसो भए तपाईले नि पासपोर्ट बनाउनु न ।’

म नाजवाफ भएँ । यसो मेरो वरिपरि हेर्छु¸ मेरा दौतरी साथीहरू कोही खाडीतिर¸ कोही युरोपतिर¸ कोही अमेरिकातिर परदेशिएका छन् । म भने तिनका भत्किनै लागेका रित्ता घर¸ डाँडामाथिका जून भइसकेका बुढाबुढी आमाबाउ अनि फ्रानकुरोले पुरेका बाँझा खेतबारी वरिपरि डुलिरहेको हुन्छु । ती साथीभाइका छोराछोरी शहरतिर पढ्छन् । वर्षदिनको चाडपर्वमा फर्किएर गाउँ आउँदा झिलिमिली देखाउँछन् । मजस्तै गाउँमा बसेका गाउँका बाबाहरूलाई त्यो झिलिमिलीको कारण सोध्छन् पुन्तेहरुले । अनि मन एकैपटक जमरजालमा फस्छ । अथवा मन काँचिवाल हुन्छ । यसरी लेख्दै गर्दा त्यो पारिको डाँडा तलको सिर्केपता खर्कमा मेरो नजर पुग्छ हरिया बिमल रुखले गेरियको दुंगे घर भत्किनै लाको छ। चार पाच हल लाग्ने बाँझो बारीले मलाई टुलुटुलु हेरि तिम्रो साथी खै ? भनी मलाई सोधेको महसुस हुन्छ । यो त्यही बारी हो¸ जुनबारी विहान जोतेर दिउसोको थकाई मार्न उत्तरगंगा नदीमा मेरो साथी याङो स्रो संग खार्जुङ्ग खेल्न जान्थ्यो। उनै साथीले लेखेको अनि मजस्तै गाउँ छोड्न नसकेको बहुमुखी प्रतिभाका प्रिय ज्वाइँ गोपाल पुन ‘सिङरोन’को स्वर सङ्गीतको मगरखाम भाषाको ‘काँचीवाल’ गीत सुनेपछि अनायासै म र मेरो देशको अवस्थाप्रति निकै भावुक भएँ । जुन गीतको नेपाली भाव यस्तो छ–

जारजङ्गले ढाक्यो खेतीबारी !
धन पैसाले निल्यो मनभरि !
किन मनमा जमरजाल..
के आयो ? यो समयसाल ।

पाल्ने ताल्ने उदिहाल्छ्न !
रयलपयल रोई बस्छ्न् !
किन मनमा जमरजाल..
के आयो ? यो समयसाल ।

धुनी मादल बजाउँदैन्न !
नाच्दै गाउँदै रमाउँदैन्न !
किन मनमा जमरजाल..
के आयो ? यो समयसाल ।

घरका मान्छे छोडी गए !
खाली घरनी भत्की गए !
किन मनमा जमरजाल..
के आयो? यो समयसाल ।

कोही न कोही फर्की आउलान् !
गाउँ समाजलाई सजाउलान् !
किन मनमा जमरजाल..
के आयो? यो समयसाल ।

यो ‘काँचीवाल’ गीत सुनेपछि साथी अनि ज्वाइँलाई भावपूर्ण ताली अनि श्रोलाई मुखभरि गाली गर्न मन लाग्यो। बसाइँ सर्नेको हुलमा हराएका श्रोले यथार्थ टपक्कै टिपेर लेखेका छन् भने असाध्यै मिठास स्वर र सङ्गीत दियर ज्वाइँ सिङ्गरोनले न्याय गरेका छन् । रित्तिएका बस्तीमा परान्मन्त्री आएर नि फर्किए। रित्तिदै गएको गाउँबस्तीका हाम्रा मान्छे कहिले फर्किलान् ? मेरो मन ‘काँचीवाल’ भा’को छ। हुन त बाजु भन्नुहुन्छ पहिले पनि मान्छेहरु कलापार जाने लहरमा गाउँ छोडेर रित्तो पारेका थिए¸ पछि फर्किए। अब कहिले फर्किने हाम्रा मान्छेहरू उफ !
०००

गीतको भिडियो हेर्नुहोस्-

TAGS: संस्मरण