गेथाती

मगर खामको साहित्यिक अवस्था

जिवनप्रवेश रोकामगर
४ माघ २०८०, बिहीबार

१. पृष्ठभूमि

नेपाल एक बहुजाति, बहुभाषी, बहुधार्मिक तथा बहुसांस्कृतिक समाज भएको, विविधतायुक्त तर अनेकतामा एकता भएको सार्वभौम मुलुक हो । नेपालको जनगणना २०७८ का अनुसार नेपालमा १४२ जातिहरू बसोबास गर्छन् । र १२४ प्रकारका मात्रभाषाहरू बोलीचालीमा रहेको केन्द्रीय तथ्याङ्क कार्यालयको उल्लेख छ । देशभर छरिएर रहेका आफ्नै भाषा, धर्म, संस्कृति, परम्परागत पेशा भएका आदिम कालदेखि पुख्यौली बसोबास गर्दै आएका भूमिपुत्रहरू नै आदिबासी जनजाति हुन् । नेपालमा बसोबास गर्ने विभिन्न जातजातिका आ-आफ्नै प्रकारका भाषिक, सांस्कृतिक तथा धार्मिक महत्त्व रहने गरेको पाइन्छ । ती पथक भाषा, संस्कृति, परम्परा, रीतिरिवाज, चालचलन तथा जीवनशैली नै उनीहरूको पहिचान हो । आदिवासी मगरहरू भूमि तथा प्रकृतिको संरक्षण गर्ने प्रकृतिपुजक हुन् ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको ऐन २०५८ बमोजिम सूचिकृत ५९ आदिवासी जनजातिमध्ये सबैभन्दा ठूलो र समग्र नेपालको जनसंख्याको हिसाबमा तेस्रो स्थानमा रहेको मङ्गोलीयन अनुहार भएको साहसी, परिश्रमी तथा इमान्दारी पहिचान बनाएको जाति मगर जाति हो ।

प्राचीन समयमा मगरहरूको इतिहास, राज्यसत्ताको लडाइँ र हारले नामेट पारिसकेको छ । ‘फुटाउ र राज्य गर’ गायात्रीमन्त्रको मारमा परेका कारण र दमनको विरुद्धमा मगरहरूले शसक्त आवाज उठाउन नसक्दा मगर भाषाहरू लोपोन्मुख अवस्थामा पुगेका छन् । विगतमा राज्यको विभेदकारी र दमनकारी नीतिका कारण अर्घाखाँची, गुल्मी, पर्वत, बाग्लुङ, म्याग्दी (तराइदेखि हिमालसम्म) का जिल्लाहरूमा मगर भाषा बोल्न प्रतिबन्ध लागेको तथा पश्चिम पाल्पा, उत्तरी तनहुँमा मातृभाषा माथिको दमन गरियो । यो प्रक्रिया शाहकाल, राणकाल र पञ्चयात कालसम्म जारी रह्यो । सिजाली, २०७१ ६८) । उहाँले उल्लेख गरे जस्तै रोल्पा जिल्लाको साविकको कुरेली गा.वि.स. हाल परिवर्तन गाउँपालिका-१ को लिक्याङ भन्ने गाउँमा तत्कालिन पञ्चयातीहरूले जबरजस्त नेपाली भाषा बोल्न लगाई मगर खाममा बोलिएमा जरीमाना गराउने गरेको स्थानीय बुढापाकाहरू बताउछन् । जसको कारणले गर्दा मगर खाम बोल्ने रोल्पाको साविक कुरेली गा.वि.स. हाल परिवर्तन गाउँपालिकाकै लिक्याङ गाउँबाट पश्चिमतिर साविकको राङकोट, र राडसीलगायतका गा.वि.स.भन्दा तल पश्चिमी रोल्पाका भागहरूमा मगर खाम मातृभाषा लोप भएको पाइन्छ ।

प्राचीन कालमा मगर भाषा एउटै भए पनि आज मगरहरूको बोल्ने मगर भाषा तथा उनीहरूको संस्कार संस्कृक्तिमा पनि विविधता भई मगर जातिले बोल्ने मगर भाषाहरू छुट्टिएर फरक फरक हुन गयो । किनकि तत्कालीन समयमा डोल्पा, रोल्पाको, पाल्पा, तनहुँसँग भाषिक सञ्चार हुन सकेन । मातृभाषामा सञ्चारको अभावमा मगरहरूको एकतामा आँच आयो । भाषामा फरकपन आयो र मगर भाषाहरू क्रमशः अठार मगराँत क्षेत्रमा बोलिने मगर भाषालाई ‘मगर खाम’, बाह्र मगराँत क्षेत्रमा बोलिने मगर भाषालाई ‘मगर ढुट’ तथा डोल्पामा बोलिने मगर भाषालाई ‘मगर काईके’ मा विभाजन भई छुट्टाछुट्टै भाषाका रूपमा बन्न पुग्यो । जसको फलस्वरूप मगर भाषामा साहित्य लेखनको विकास हुनुपर्ने प्रगति छिटो हुन नसकेको पाइन्छ । जसमा पनि मगर भाषामा साहित्य लेखन प्रकाशन तथा भण्डारणका हिसाबमा ‘मगर ढुट’ को दाँजोमा ‘मगर खाम’ र ‘मगर काईके’ भाषामा साहित्य लेखन कार्य निकै पछि र कमै मात्रामा भएको पाइन्छ ।

२. उत्पीडनमा मगर खाम

आजको मगर खामलाई पञ्चयातकालमा खाम कुरा खाम्खाम् न खुम्बुम् भनी हेपिन्थ्यो । मगर समुदायमा मानिसहरूलाई त र ट वर्गका वर्णहरू राम्ररी उच्चारण गर्न नजान्ने भनेर बोल्न पनि जान्दैन तर न मम गरेर बोल्छ भनी जिस्काउने स्कुल र कलेजमा दण्ड सजाय गर्ने समेत गरिन्थ्यो । सिंजाली, २०७१ ८०) विगतमा राज्यको नीति के कारणको उपज नै मान्नुपर्छ । पाल्पादेखि पूर्वमा बस्ने मगरहरूले बोल्ने भाषाचाहीँ मगर भाषा हो । रोल्पा रूकुमलगायतका मगरहरूले बोल्ने भाषा त खाम भाषा हो भनी त्यही भाषिक विभेद सृजना गरेको पनि पाइन्छ ।

लामो समयसम्म राज्यको एक भाषिक नीतिले गर्दा पनि हाम्रो मगर जातिको मातृभाषा मगर खाम पनि उत्पीडनमा पर्दै गयो र भाषा पछि पर्दै गयो । यो अवस्था शाहकाल, राणाकाल, पञ्चयातकाल, माओवादीको सशस्त्र जनयुद्ध ताका र २०६२/६३ को ऐतिहासिक जनआन्दोलनसम्म यथावत रह्यो । जनआन्दोलन २ को सफलता पछि निरंकुश राजतन्त्रको अवसान पछि देशले सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपश्चात मात्रै नेपालका आदिवासी जनजातिहरूका हक, अधिकार तथा भाषा संस्कृतिको संस्थागत विकासका लागि केही मात्रामा राज्यले सम्बोधन गरेको आभास भएको छ । यद्यपि त्यो पनि पूर्ण र संस्थागत भने भइनसकेको अवस्था छ । जसलाई देशका राज्य सञ्चालकहरूले अझै पनि तुहाईदिने खेल खेलिरहेको पाइन्छ । जबसम्म राज्यले देशका सम्पूर्ण जनता नेपाली हुन्, हरेक जातिका आ-आफ्नै भाषा र संस्कृति छन्, संस्कार आ-आफ्नै भएतापनि संस्कृति हामी सबैको हो, यी नै देशको विशिष्ट पहिचान हो, यी हामी सबैको गहना हुन्, भन्ने मान्यतालाई अँगाली सबैलाई गौरव गर्ने वातावरण जबसम्म बन्दैन तबसम्म यो देशका आदिबासी जनजातिहरूको भाषिक र सांस्कृतिक उत्पीडन अन्त्य हुन सक्दैन । यो कुरा राज्यले समयमै बझ्नु आवश्यक छ । एक दशक लामो सशस्त्र द्वन्दका बेला यदि रोल्पा रूकमतिरका मगरजस्तो अनुहार भएका देशका विभिन्न सहर बजारमा गएका बेला एक आपसमा मगर खामबाट करा गर्दा राज्यको कुनै निकायले थाहा पाएमा त्यो माओवादी हो भनी गिरफ्तार गर्नु, मार्न तथा यातना दिनु मगर खामप्रति राज्यले गरेको दमनको ज्वलन्त उदाहरण हो । जुन रोल्पा, रूकुमका मगरहरूले भोग्दै आए, जसको कारणले गर्दा मगर मगरबीच पनि आपसमा आफ्नो मातृभाषामा विचार विनिमय गर्दा जति सजिलो, सरल र भावनात्मक हुनुपर्ने हो त्यसबाट वञ्चित भई, आपसमा मगर मातृभषाको सत्ता नेपाली भाषामा कुरो गर्न बाध्य हुन्थे । यसरी पनि मगर खामको लेखन तथा साहित्यिक विकासमा बाधा पुगेको देखिन्छ ।

३. मगर खाम र पाङमा विवाद

यस क्षेत्रमा बसोवास गर्ने आदिवासी मगरहरूले बोल्ने मातृभाषाको नामलाई लिएर मगर अग्वा, भाषिक अभियान्ता तथा केही लेखक अनुसन्धानकर्ता बीच करिब ६० को दशकतिर मतभेद भएको देखिन्छ । भाषाको पर्यायावाचीको रूपमा लिइने ‘खाम’लाई ‘फुटाउ र राज गर’ नीतिअनुरूप मगर जातिलाई खाम जाति बनाएर फुटाउन खोजिएको भनी विवाद सृजना भएको देखिन्छ । त्यसैले मगर मातृभाषाको नाम मगर खामलाई खाम भनिनुको सत्ता पाँङ भनी अगाडि सारिएको पाइन्छ । तर पाडलाई भाषाको रूपमा स्थानीयस्तरमा स्वीकारेको पनि पाइँदैन ।

अमेरीकन नागरीक David E. Watters ले सन् १९६९-७६ (वि.स.२०२६-०३३) रूकुमको मगरबस्तीमा गरेको अनुसन्धानको आधारमा ‘डेविड वाल्टरले भ्वाइस १ असार २०६२ मा दिइएको लेखमा यिनीहरू मगर नभएर खाम जाति हुन सक्ने अनुमान र भाषासँगको सम्बन्ध २००० वर्ष पुरानो हुन सक्ने अनुमान गरेका छन् । पुन, २०६८ २७ मा उधृत), यस्तैगरी जुक्तिप्रसाद पुनको शब्दकोश-२०६५ मा प्रा.डा. योगेन्द्र यादवले ‘खाम जाति’ भनेर मन्तव्य दिनुभएको छ (बुढामगर, २०७१ : ४२ मा उधृत) । यस्ता केही अभिव्यक्तिहरू प्रकाशनमा आएसँगै यसले मगर अगुवाहरूबीच कटुता उत्पन्न गरी मगर खामको विकासमा भन्दा नाममा निकै विवादित हुन पुगेको देखिन्छ ।

जसले गर्दा खाम शब्द भाषाको पर्यावाची हो कि भाषाको नाम हो कि जातिको नाम हो भनी अनावश्यक बहस उत्पन्न भई मगर समाजमा यसले सशंकित तुल्यायो । फलस्वरूप केही व्यक्तिहरूले त आफ्नो नामको पछाडि बुढामगर या रोकामगर भनी थर र जात लेख्नुको सत्ता व्यक्तिको नामको पछाडि खाम (ओल्ना खाम र फल्ना खाम आदि) भनी लेखिने प्रचलनले प्रसय पाउँदै गयो । मगर खामभित्र पनि भाषालाई एकता र विकासको सत्ता फुटाउने खालका व्यवहारहरू देखिएको कारणले गर्दा अठार मगरात क्षेत्रमा मगर भाषाको नाम ‘खाम’ वा ‘पाँड’को बहसको विकास भई मगर अगुवाहरूमा झन यसले तीव्र बहसको सिर्जना गर्‍यो, कटुता उत्पन्न भयो । करिब वि.स. २०६०/६१ देखि २०६५/६६ सम्म यस मगराँत क्षेत्रमा मगरहरूले बोल्ने मगर भाषामा ‘खाम’ र ‘पौड’को बिचमा तीव्र विवाद चली भाषिक अलमलताको स्थिति पैदा गर्‍यो ।

यस विषयमा मगर अगुवा, अग्रज, तथा भाषाशास्त्रीहरूले पनि वैज्ञानिक र प्रयोग हुँदै आएको भाषाको अध्ययन गरी ठोस निर्णय दिन नसक्दा भाषा विकासको सत्ता दुई पक्षमा विभाजित हुने काम भयो । जसको कारण मगर खाममा लेखनको थालनीमै नव साहित्यिक स्रष्टाहरूमा अलमलतको स्थिति पैदा गरी निरास बनाउने काम भयो । फलस्वरूप समय बित्दै गयो मगर खाम साहित्य लेखनमा पछि पर्दै गयो । यद्यपि यसको असर अझै पनि व्याप्त छ । कसैले ‘मगर खाम’ त कसैले ‘मगर पाँङ’ लेख्दै आएको पनि पाइन्छ । भने अहिले कोही कोहीले मगर खाम पाङ पनि लेख्दै आएको पाइन्छ । तर पनि यसरी भाषिक अलमल हुनुभन्दा यी दुवैको बारेमा स्थलगत अध्ययन अनुसन्धान गरी भाषिक गोष्ठी गरेर भाषा विज्ञ, मगर अगुवाहरू, भाषिक वक्ता तथा सरोकारवालाहरूबीच व्यापक अन्तक्रिया गरी नाम निर्कोल गरेमा नव साहित्यिक स्रस्टाहरूलाई लेखनमा एकरूपता हुने देखिन्छ । तर पनि अहिले विवाद छ भनी नलेख्नुभन्दा जसले जे लेख्दै आए पनि हामी सबैले मगर खाममा केही न केही लेख्नुपर्‍यो, प्रकाशन गर्नुपर्‍यो, भाषाको विकासमा लाग्नुपर्‍यो, गुदी कुरो एउटै हो, पछी अध्ययन अनुसन्धान हुँदै जाला जसबाट वैज्ञानिक र प्रयोग हुने नाम स्थापित हुँदै जाला भन्ने कुरालाई कहिल्यै भल्नुहुँदैन ।

समयको माग अनुसार भाषा व्यापक विकसित र विस्तार हुन नसकेर विश्वव्यापीकरण तथा आधुनिक उपकरणहरूको बढ्दो प्रयोगसँगै नेपालका मातृभाषाहरूसँगै ‘मगर खाम’ पनि भाषिक अतिक्रमणमा परी झनै सङ्कटमा परेको अवस्थामा छ । त्यसैले समग्र मगर खामको विकासको लागि साहित्य लेखन तथा पठन पाठन हुनु जरूरी छ । मगर स्रष्टाहरूलाई मातृभाषा साहित्यको उत्थान संरक्षण र विकासका लागि मगर खामको आवश्यकता र महत्त्वमाथि प्रकाश पारी, नव साहित्यिक स्रष्टाहरूलाई मगर मातृभाषा साहित्य लेखनमा थप हौसला प्रदान गर्नु तत्काल आवश्यक देखिन्छ ।

४. मगर खाम साहित्यको प्रारम्भ र इतिहास

अठार मगराँत क्षेत्र भन्नाले पाल्पादेखि पश्चिम क्षेत्रमा पर्ने मगर समुदायहरूको थाकथलो क्षेत्र भन्ने बुझिन्छ । यस क्षेत्रमा बोलिने मगर भाषालाई मगर खाम भनिन्छ । यो मगर खामको मूल थलो भनेको रोल्पा, रूकुम तथा बागलुङ जिल्लाका साविकका केही गा.वि.स.हरू हुन् । अठार मगरात क्षेत्रमा मगरहरू परापूर्वकालदेखि बसोबास गर्दै आएको आदिवासी हुन् । यहाँका मगरहरूको आफ्नै छुट्टै पहिचान छ । आफ्नै भाषा, संस्कृति, रितिरिवाज तथा चालचलन रहेको पाइन्छ । यस क्षेत्रमा बस्ने मगरहरूको प्रायः एकै ठाउँमा गुजमुज्ज परेर बस्ने मगरहरूको विशेषता हो । यसकारण रोल्पा र रुकुमका मगर बस्तीहरू एकै ठाउँमा घना बस्ती भएको पाइन्छ ।

यस क्षेत्रको मगर भाषा मात्र कथ्य भाषामा सीमित रहेको पाइन्छ । परापूर्वकालदेखि नै मगर जैसी तथा झाँक्रीहरूले प्रयोग गर्दै आएको (बरूवा कागज) भनिने नेपाली कागजमा (भाता कलम्) भनिने निगालोको कलमले रङ्गमा चोबेर थाती पोस्तोकमा मन्त्रहरू लेख्दै आएको पाइन्छ । त्यो लेखाइलाई मऱ्या अक्षर भनिने गरिन्थ्यो । त्यो थाती पोस्तोक जङ्गली जनावरहरूको छालाले मोरिएको पाइन्छ । जुन अहिले पनि मङ्‍र्‌या अक्षर र थाती पोस्तोकहरू रोल्पा रुकुमका गाउँहरूमा जैसी, झाँक्रीहरूसँग प्रयाप्त मात्रामा पाइने गर्दछ । जसको पूर्ण रूपमा अध्ययन अनुसन्धान हुन बाँकी नै छ ।

मङ्‍र्‌या अक्षरको गहिरो अध्ययन तथा अनुसन्धान हुनसकेको खण्डमा मगरहरूको लिपि हराएको र त्यसलाई खोज्नुपर्छ भन्ने कुरालाई, त्यो मङ्‍र्‌या अक्षर भनिने थाती पोस्तोकबाट प्रयाप्त प्रमाण जुट्न सक्छ । किनकि मङ्‍र्‌या अक्षर भन्नाले मगरहरूले लेख्ने अक्षरलाई मङ्‍र्‌या अक्षर भनिएको हो, भन्ने कुरो सजिलै भन्न सकिने आधार छ । जुन राज्यको दमनकारी नीतिले गर्दा पुराना जैसी, धामी तथा झाँक्रीहरूसँग रहेको मन्त्रहरू लिखित थाती पोस्तोकहरू त्यो पढ्ने मान्छेको मृत्यू भएमा उनका सबै थाती पोस्तोकहरू चियानमा लगेर जलाईदिने तथा सियालमा लगेर फालिदिने चलन अहिले पनि रहिआएको छ । त्यस थाती पोस्तोकमा मगरहरूको सम्पूर्ण संस्कारका विविध पक्षहरू कर्मकाण्डीका कार्यहरू विधि र विधानहरू पनि उल्लेख गरिएको पाइन्छ । त्यसैले गर्दा हामी मगरहरूसँग प्रयाप्त ज्ञान हँदाहँदै पनि, राज्यको भाषिक र सास्कृतिक हमलाका कारण अहिलेको यो नियति भोग्न बाध्य भएको कुरालाई प्रस्ट्याउँछ । यसरी मङऱ्या लिपि हराएर जानुमा राज्यले संस्थागत गर्नुको सट्टा ध्वंस गर्ने नीति रहेछ भन्ने सहजै अनुमान गर्न सकिन्छ । अब पनि त्यसको गहिरो अध्ययन हुन नसकेको खण्डमा केही बचेका पोस्तोकहरू पनि हाम्रा बाजेहरूको मृत्यूसँगै सबै कुरा मरेर जाने खतरा देखिन्छ ।

यसरी मगर ढुटमा लेखन कार्य २००७ को प्रजातन्त्र आएसँगै शुरू भएतापनि मगर खाममा भने हुन सकेन । प्रारम्भकालमा रोल्पाका बमकुमारी बुढामगरद्वारा ‘जीत हार’ कवितासङ्ग्रहमा मगर खाममा तीन वटा कविताहरू सङ्ग्रृहित भएको भन्ने गरिएको पाइन्छ । भने बमकुमारी बुढामगरनै ‘कोन्जा मारूम’ भन्ने पत्रिका पनि प्रकाशित गरिएको र कैलालीबाट गणेश पहराईले २०५७ देखि २०६४ सम्म मगर खामबाटै त्रैमासिक रूपमा ‘बई’ पत्रिका प्रकाशन गरी मगर खामका विविध विधाहरू फुटकर रूपमा कविता, गजल, मुक्तक र लेखहरू प्रकाशित भएको थियो भन्ने गरिएको पाइन्छ । यद्यपि यो लेख तयार पार्दासम्म माथि भनिए‌का सामग्रीहरू कुनै आधिकारिक कृति, तिथिमिति तथा लेखहरू उपलब्ध नभएको र अहिलेसम्म मगर खाम साहित्यको बारेमा कुनै अध्ययन अनुसन्धान नभएकोले यस बारे थप अनुसन्धान गरी तथ्य कुरा ल्याउन अझै बाँकी छ ।

मगर खामको विकासमा करिब वि.स. २०५३ सालतिर रेडियो नेपाल क्षेत्रीय प्रसारण सुर्खेतबाट समाचार प्रसारित मगर खामको पहिलो औपचारिक समाचार हो । र त्यहीबेला सोही रेडियोबाट ‘गेमी कुई ख्याङ’ भन्ने कार्यक्रम शुरू गरिएको थियो सो कार्यक्रमा मगर खामका गीत, कविता र मुक्तकहरू प्रसारित हुन्थे । जहाँसम्म लाग्छ यो नै पहिलो मगर खामबाट प्रशारित भएको शुरूवाती साहित्यिक यात्रा थियो । यसमा जजस्ले कविता, गीत र मुक्तक लेखेर पठाए प्रसारित भए तिनीहरू नै मगर खामका पहिलो साहित्यिक स्रष्टाहरू हुन् । यस कार्यक्रम अठार मगरात क्षेत्रमा निकै लोकप्रिय थियो । यस कार्यक्रमले गर्दा नै मगर स्रष्टाहरूमा आफ्नो मातृभाषा मगर खामबाट गीत कविता र मुक्तक लेखी पठाउने कार्यको थालनी भएको थियो । जसमा कार्यक्रम सञ्चालकहरू रूकुम लुकुमका हाल घोराहीमा बस्नुहुने जुक्तिप्रसाद पुनमगर, रोल्पा मिरूलका धनबहादुर रोकामगर र रोल्पा जेलबाङका प्रसाद रोकामगर थिए । यस लगत्तै ६० को दशक पछाडि विभिन्न एफ.एम., रेडियोहरू क्रमशः दाङका स्वर्गद्वारी एफ.एम., मध्यपश्चिम एफ.एम., इन्द्रेनी एफ.एम., तथा रोल्पाका जलजला एफ.एम., रोल्पा एफ.एम., रूकुमको सानीभेरी एफ.एम. तथा काठमाडौँको गोरखा एफ.एम., तत्कालीन ने.क.पा. (माओवादी) पार्टीबाट भूमिगत रूपमा सञ्चालित रेडियो गणतन्त्रलगायतका रेडियोहरूले पनि मगर खामको समाचार, कविता, गजल, संस्मरण प्रसारण तथा गीतहरू बजाएर मगर खाम साहित्यको विकासमा महत्त्वपूर्ण टेवा पुर्‍याएको पाइन्छ ।

यसरी नेपाल मगर विद्यार्थी सङ्घ महेन्द्र बहुमुखी क्याम्पस घोराही दाङबाट निस्कने बार्षिक मुखपत्र मिर्मिरेका विभिन्न अङ्कहरूमा मगर खामबाट फुटकर कविताहरू प्रकाशित भएको पाइएतापनि साहित्यिक कृतिको रूममा २०६२ सालमा आएर मात्रै रोल्पा मिरूलका जिवनप्रवेश रोकामगर (जे.आर. मगर ‘हिमाल’ र तरामान माझिलीको पहिलो कवितासङ्ग्रह ‘गिन्मी अता कोस्याली’ प्रकाशित भएसँगै मगर खामको औपचारिक प्रकाशनको युगमा प्रवेश गरेको पाइन्छ । अहिलेसम्म यो कृतिभन्दा अगाडि अरू कुनै साहित्यिक कृति नपाइएकोले यो कृति नै मगर खामको पहिलो मौलिक साहित्यिक कृतिका रूपमा मानिएको छ ।

५. लोकसाहित्य

अठार मगरात क्षेत्रमा लोकसाहित्य मौखिक र श्रुतिमै आधारित छ । अहिलेसम्म मगर खामबाट रूकुम तकसेराका रणप्रसाद घर्तीमगरको  ‘खाम मगर दन्त्य कथा-२०६२’ प्रकाशित गरी मगर खामको लोकसाहित्यको लेखन तथा प्रकाशनको शुरूबाट गरेको पाइन्छ । पहिलेदेखि बुढापाखा तथा बजैहरूबाट यो सिलुकहरू दिनमा भन्न नमिल्ने साँझमा मात्रै केटाकेटीहरू जम्मा हुने र मगर खामबाट (सिल्क) भनिने लोककथाहरू सुनाउने र सुन्ने चलन रहँदै आएको थियो भने अहिले क्रमशः यो सिलुक सुनाउने क्रम हराउँदै गएको पाइन्छ । विभिन्न कामको शिलशीलामा बुढापाकाहरूले अहान भनिने उखान टुक्काहरू हाल्ने प्रचलन रहनुका साथै विभिन्न समयमा विभिन्न प्रकारका गीतहरू गाउने गरेको पनि पाइन्छ । भने लोकसाहित्य अन्तर्गतका अन्य विधा उखान टुक्काहरू अहिलेसम्म मगर खाममा कृतिकै रूपमा भने प्रकाशित भएको पाइँदैन । यसको अध्ययन गरी लोपउन्मुख मगर खामका लोकसहित्यलाई प्रकाशनसम्म ल्याउन निकै खाँचो देखिन्छ ।

६. बालसाहित्य

मगर खामबाट पठन पाठनको लागि बाल सहित्यको अति नै महत्त्वपूर्ण हुने गर्दछ । पूर्वी रुकुम गरखानी निवासी लक्षिणकुमार पुनमगर ‘याङो श्रो’ले मगर खामको पहिलो बाल गीतसङग्रह ‘निमी स्यावै-२०८०, र पूर्वी रुकुमकै कोल निवासी विपल पुनमगरले मगर खामको पहिलो बाल कवितासङग्रह ‘साङ-२०८०’ प्रकाशन गरी मगर खामको बालसाहित्यको शुरुवात गरेको पाइन्छ । साथै लक्षिणकुमार पुनमगरले मगर खामबाट २ वटा बाल गीत रेकर्ड गरी भिडियोको निर्माण गरेको पाइन्छ । यसरी मगर खामबाट बालसाहित्य २ वटा प्रकाशन भएको पाइन्छ । हाल स्थानीय तहका सरकारहरू सुनछहरी गाउँपालिका, रोल्पा, थबाङ गाउँपालिका, रोल्पा र निसिखोला गाउपालिका, बाग्लुङबाट निर्मित स्थानीय पाठ्यक्रमअन्तर्गत मगर खामको कक्षा १ को पाठ्यपुस्तक र नेपाल सरकार शिक्षा मन्त्रालयको पाठ्यक्रम विकास केन्द्र सानोठिमीबाट प्रकाशित अठार मगरात मगर भाषाको कक्षा १, २ र ३ को पाठ्यक्रममा केही बालकथा, बालगीत, तथा बालकविताहरू समावेस गरी छापिएको पाइन्छ । यद्यपि यो प्रयाप्त भने छैन । त्यसैले मगर खामबाट बालसाहित्यमा कलम चलाउनुपर्ने नितान्त आवश्यक छ ।

७. मगर खाममा लेखन तथा प्रकाशनको थालनी

मगर खामले लेखनको युगमा प्रवेश गरेको लामो समय भएको छैन । करिब ५० को दशकदेखि बाह्र मगरात क्षेत्रमा बोलिने ‘मगर ढुट’ मा साहित्यको आधुनिककालमा प्रवेश गरिसक्दा हाम्रो मगर खाममा भने भर्खर लेखन तथा प्रकाशनको युगमा बामे सरेको पाइन्छ । अहिले करिव ३० वर्षको अन्तरालसम्म आउँदा पनि मगर खामबाट विभिन्न विधाका साहित्यिक कृतिहरूको प्रकाशन पाँच दर्जन जति पनि पुग्न सकेको छैन । एक त अठार मगरात क्षेत्रमा शिक्षाको विकास चाँडो हुन सकेन । भने अर्कोतर्फ अलि पढेलेखेका मगर लेखकहरूले पनि समयमा आफ्नो मातृभाषाको महत्त्वलाई नबुझी, नेपाली भाषामै कलम चलाउन थाल्दा मगर खाम साहित्यले अपेक्षित उपलब्धि हासिल गर्न सकेन । राज्यको एकभाषिक नीतिका कारण सम्पूर्ण पढाइ लेखाइ नेपाली भाषामा हुने तथा मातृभाषाहरूमा लेखपढमा अभ्यास नभएकोले गर्दा मगर खाममा लेख्न र पढ्न, नेपाली भाषामा भन्दा पनि कठिन हुने भएकोले पनि मगर खाममा साहित्य लेख्ने आँट नभएको पाइन्छ ।

मगर खामको शुरूवाती चरणमा रोल्पाका बमकुमारी बुढामगरले केही मात्रामा कलम चलाएको पाइन्छ । मगर खाम साहित्यको भन्दा शब्दकोशको लेखनबाट हाम्रो मगर खामको लेखन शुरूवात भएको पाइन्छ । अमेरीकी नागरिक David E. Watters को सन् १९६९-७६ (वि.स. २०२६-०३३) सम्म रूकुमको तकसेरा आसपासमा मगर खामको अध्ययन गरी A Dictionary Of Kham “Taka dialect” नामको किताबको प्रकाशन सँगै मगर खामको अध्ययन तथा लेखन हुँदै आएको पाइन्छ ।

नामको विषयका कोहीले ‘खाम’ त कोहीले ‘पाङ’ भनी विवाद चुलिए‌को कारणले लेखकहरूमा पनि दुविधामा परी मगर मातृभाषाको किताबहरूलाई विभिन्न नामले प्रकाशित गरिएको पनि पाइन्छ । यो अवस्था अहिलेसम्म पनि विद्यमान रहेको छ । जुन कुरा यी प्रकाशित किताबहरूमा पनि देख्न सकिन्छ । जुन जसरी प्रकाशित भए पनि मगर खामको लेखन तथा प्रकाशन कार्यको शुरूवातका लागि गर्ने यी पुस्तकहरू अति महत्त्वपूर्ण रहेको पाइन्छ । रूकुम, लुकुमका हाल दाङमा बस्नुहुने जुक्तिप्रसाद पुनमगरद्वारा ‘खाम मगर पाङलु तुनुज़ा रोःर दुप्सिन्या पो’ शब्द सङ्ग्रह-२०५२, ‘खाम मगर नेपाली-अंग्रेजी शब्दकोश-२०६१’ प्रकाशित भएको उहाँको शब्दकोशमा उल्लेख छ । यस्तैगरी रूकुम तकसेराका हाल काठमाडौँमा बस्नुहुने रणप्रसाद घर्तीमगरद्वारा ‘खाम नेपाली शब्दकोश-२०६२’, “Kham Magar English Dictionary-2062”, “Basic Study, Kham/Nepali/English/German Dictionary-2062”, ‘खाम मगर भाषा कसरी बोल्ने २०६२’, ‘खाम मगर दन्त्य कथा-२०६२’, र ‘खाम मगर भाषाको रूप व्याकरण-२०६८’ प्रकाशित भएको पाइन्छ । यस्तैगरी मगर राष्ट्रिय मुक्तिमोर्चा नेपाल, केन्द्रीय प्रकाशन विभागद्वारा ‘मगर (खाम) भाषा वर्णमाला तथा व्याकरणको प्रारूप’ प्रकाशित भएको पाइन्छ । यसैगरी रूकुमकै तेजेन्द्र बुढामगर र नवराज उपाध्ययद्वारा ‘मगराँति खाम व्याकरण-२०६७’ मा प्रकाशित भएको पाइन्छ ।

पूर्वी रूकुम तकसेराका कर्णबहादुर बुढामगरले यस मगर भाषाको स्तरीय, मानक, वर्णहरूको पहिचान व्यावस्थापन तथा लेखनमा लामो समयदेखि अनवरत लागिरहनुभएको पाइन्छ । उहाँको ‘नेपाली मगर पाङ-अङ्ग्रेजी शब्दकोश-२०६१’, ‘मगर नेपाली शब्दकोश-२०६४’, ‘बहुभाषीय नेपाली मगर शब्दसूची-२०६५’ प्रकाशित भएका छन् भने पछिल्लो समयमा लामो अध्ययन अनुसन्धान तथा नेपालका भाषाशास्त्रीहरूसँगको लामो सहकार्यमा २०६८ सालमा “A Trilingual Dictionary of The Magar Language Athara Magarat” को प्रकाशनले मगर खाममा भाषिक शुद्धता र स्तरीय मगर खाममा लेख्न र पढ्न सिकाएको छ । जुन शब्दकोश २०७१ देखि त्रिभुवन विश्वविद्यालयमा एम.ए. तहमा समेत सन्दर्भ सामग्रीको रूपमा समावेश गरिएको पाइन्छ । यसैगरी मगर खाम सिकाउन र पढाउनका लागि प्रयोगिक मगर व्याकरण (अठार मगरात मगर भाषा ‘मगर खाम पाङ’)-२०७८ र शब्दकोषको नयाँ संस्करण “A Trilingual Dictionary” मगर खाम पाङ शब्दकोष-२०८० प्रकाशन गर्नुभएको पाइन्छ ।

यसरी अठार मगरात क्षेत्रको मगर खामको लेखन तथा प्रकाशन शब्दकोश तथा व्याकरणबाट भएको पाइन्छ हालसम्म ठूला साना गरी शब्दकोष ७ वटा, व्याकरण ४ वटा र शब्दसङ्ग्रह २ वटा प्रकाशित भएको पाइन्छ । तर मगर खामको मौलिक साहित्यिक कृतिको औपचारिक प्रकाशन भने २०६२ देखि यता मात्रै भएको देखिएको छ । जुन मगर खाम साहित्यको विभिन्न विधामा निम्नानुसार छुट्टयाउन सकिन्छ ।

७.१ कविता

साहित्यका सम्पूर्ण विधाहरूमध्ये कविता विधा प्राचीन र समृद्ध विधा भएतापनि मगर खाममा भने निकै पछिबाट शुरूवात भएको पाइन्छ । अहिलेसम्म मगर खामबाट प्रकाशित भएका कवितासङ्ग्रहहरू निम्नानुसार उल्लेख गर्न सकिन्छ । रोल्पा मिरुलका जिवनप्रवेश रोकामगर (जे.आर. मगर ‘हिमाल’) र तारामान (माझिली बुढामगरको गिन्मी अता कोस्याली-२०६२’, रोल्पा, उवाका प्रेमप्रकाश घर्तीमगर प्रेमप्रकाश ‘मायालु’को ‘युङला रो-२०६५’, कैलाली, टीकापुरका गणेश पहराई मगरको ‘ओर्गे मिउ-मिउयाड्लो- २०६६’, रोल्पा, उवाका बोमबहादुर घर्तीमगर (व्योम जी अवतार) को ‘च्याँसिव परी २०६८’, रोल्पा, थबाङका ईधासी झाँक्रीमगरको ‘ङा ङाकष्टला यमर-२०६८’, र बाग्लुङ, निसीका लक्ष्मण घर्तीमगरको ‘रिहित्ला-२०७०’, र रोल्पा, जुंगारका मित्रलाल रोडखामी मगरले २०६९ सालमा नेपाली भाषामा प्रकाशित ‘आमाको सम्झना’ नामक कवितासङ्ग्रहलाई मगर खाममा अनुवाद गरी ‘ज्यै जन् यिङ्न्य- २०७२’ प्रकाशन गरेको पाइन्छ । यसैगरी थबाङ रोल्पाका हाल बेलायतमा बस्नुहुने हिकमत सिङ रोकामगरले ‘पुर्खाराय याचिना- २०७९’ मगर खामबाट कवितासङ्ग्रह प्रकाशन गरेको पाइन्छ ।

त्यसैगरी नेपाल मगर लेखक सङ्घ जिल्ला समिति रोल्पाद्वारा संस्थागत रूपमा करिब ६ वटा जिल्लाका, मगरलगायत मगर खाम बोल्ने दलित, क्षेत्री, गुरूङसँगै ४ जातका, १३ बर्षे कलिला कविदेखि ५४ वर्षसम्मका ११० जना कवि तथा कवियात्रीको एउटा एउटा कविता सङ्कलन गरी जिवनप्रवेश रोकामगरको सम्पादनमा ‘मगर खामला कवि सन कविता-र-२०७३’ प्रकाशन गरेको पाइन्छ, त्यसैगरी नेपाल मगर लेखक सङ्घ केन्द्रीय समितिद्वारा मगर ‘भाषाका तीन वटै भाषाहरू ‘मगर खाम’, ‘मगर ढुट’ र ‘मगर काईके’ बाट ९४ वटा कविताहरू सङ्कलन गरी विष्णुकुमार सिञ्जली र जिवनप्रवेश रोकामगरको सम्पादनमा ‘मगर खाम, मगर ढुट सन मगर काईके-ला कविता-र-२०७५’ प्रकाशन भएको पाइन्छ । यसरी हालसम्म व्याक्तिगत कृति ७ वटा र संस्थागत कृक्ति २ वटा गरी मगर खामका जम्मा ९ वटा कवितासङ्ग्रहहरू प्रकाशित भएको पाइन्छ ।

भने फटकर रूपमा नेपाल मगर विद्यावी सङ्घ दाङबाट निस्कने मिर्मिरे’, राप्ती साहित्य परिषद्प्तीबाट निस्कने ‘अन्तर्ध्वनि’, गोरखापत्र संस्थानको ‘गोरखापत्र दैनिक’, नेपाल मगर लेखक सङ्घ रोल्पाबाट निस्कने ‘चाउ यम’, नेपाल मगर विद्यार्थी सङ्घ¸ रोल्पाबाट निस्कने ‘गेमी गाः’, नागी साहित्य परिषद्, रोल्पाबाट निस्कने ‘नागीप्रभा’का विभिन्न अङ्कहरूमा मगर खामबाट थुप्रै कवि तथा कवियत्रीहरूले कविता लेखी प्रकाशित गरेको पाइन्छ । साथै मगर सङ्घसंस्थासँग आवद्ध रही निस्कने विभिन्न दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक पत्रपत्रिकाहरूमा पनि मगर खामबाट विभिन्न साहित्यिक स्रष्टाहरूले सयौँको मात्रामा फुटकर कविताहरू लेखी प्रकाशित गर्दै आएको पाइन्छ ।

यस कार्यलाई बढावा दिन नेपाल मगर लेखक सङ्घ¸ रोल्पाले मातृभाषी साहित्यसम्बन्धी विभिन्न क्रियाकलापहरू गर्दै आएको छ । जुन कार्यको निरन्तरतामा सङ्घले अठार मगरात क्षेत्रकै पहिलो जिल्लास्तरीय ‘मगर खामको कविता प्रतियोगिता-२०६७’ माघ ८ गते घना मगरबस्ती रोल्पाको थबाङमा सम्पन्न गरेको थियो । यस्तैगरी २०६९ कात्तिक ४ गते एलबीडी युवा क्लव मिरूल-५ रोल्पाको आयोजनामा मिरूलको टुटुमा मगर लेखक सङ्घ¸ रोल्पाका अध्यक्ष जिवनप्रवेश रोकामगरको विशेष आतिथ्यमा ‘मगर खामबाट कविता प्रतियोगिता र मगर खामको उत्थान तथा विकासका लागि मगर खाम वासीहरूको भूमिका विषयक अन्तक्रिया’ कार्यक्रम पनि सम्पन्न गरिएको थियो । यसरी नै मगर खामको कविता विधाको विकासका लागि विभिन्न एफ.एम. रेडियोहरूले पनि विभिन्न कार्यक्रमहरू प्रसारण गर्दै मगर खाम साहित्यको विकासमा टेवा पुर्‍याउँदै आएको पाइन्छ ।

यसरी हेदा अहिलेसम्म कवितासङ्ग्रह ७ वटा, संयुक्त कवितासङ्ग्रह २ वटा प्रकाशित भएको पाइन्छ । यसरी अठार मगरात क्षेत्रमा पनि मगर खामबाट कविता लेख्ने नव साहित्यिक स्रष्टाहरूको वृद्धि हुँदै आएको पाइन्छ । विभिन्न कारणले विदेशिन वाध्य भएका प्रदेशी लेखकहरूले पनि विस्तारै मगर खाममा कविताहरू लेख्ने क्रम बढिरहेको छ । कतिपय कवितासङ्ग्रहहरू प्रकाशनमा आउने तयारीमा समेत रहेको पाइन्छ । जे होस् ढिलै भए पनि यो मगर खाममा कविता लेख्ने लेखकहरूको आकर्षण बढ्दै जानुले मगर खाममा कविता विधा फस्टाउँदै गएको पाइन्छ । यद्यपि यस नव साहित्यिक स्रष्टाहरूको सिर्जना तथा उत्साहलाई थप हौसला दिई मगर खाम साहित्यको विकासका लागि मगर अगुवा, बुद्धिजिवी तथा सम्बन्धित मगर सङ्घसंस्थाहरूको ध्यान जान भने जरूरी देखिन्छ ।

७.२ महाकाव्य तथा खण्डकाव्य

कविता विधाको उच्चत्तम रूप मानिने खण्डकाव्य र माहाकाव्य मगर ढुटमा केही कृति प्रकाशित भएको पाइन्छ भने मगर खाममा पहिलो खण्डकाव्यको रूपमा रोल्पा, मिरूलका टंकबहादुर झाँक्रीमगर ‘समीप बैरागी’ ले ‘हुरो युङ-२०७४’ प्रकाशित गरी खण्डकाव्य विधाको पहिलो शुरूवात गरेका छन् । भने रोल्पा, मिरूलकै दिलिप बुढामगर ‘डी.बी. स्वेद’ले ‘दौन्थरा-२०७९’ महाकाव्य प्रकाशन गरी महाकाव्य विधाको शुरुवात गरेको पाइन्छ ।

७.३ गीत, गजल, मुक्तक तथा हाइकु

कविता विधाकै लघुत्तम रूप मानिने गीत, गजल, मुक्तक तथा हाइकुहरू मगर ढुटमा भने केही कृतिहरू प्रकाशित भएको पाइन्छ । भने मगर खाममा रोल्पा, उवाका बोमबहादुर घर्तीमगर ‘व्योम जी अवतार’ले ‘सोच्चोके गजलसङ्ग्रह-२०६६’ प्रकाशित गरी गजल विधाको शुरूवात गरेका छन् । भने व्योम जी अवतारकै दोस्रो गजलसङ्ग्रह ‘मोलो ध्वोङ र रङ्क गजलसङ्ग्रह-२०७२’ पनि प्रकाशन गरेको पाइन्छ । त्यसैगरी मिरूल रोल्पाका दिलिप बुढामगर ‘डी.बी. मगर स्वेद’ ले ‘जर्मिसिउ पो गजलसङ्ग्रह-२०७३’, मिरूल रोल्पाका मालबहादुर बुढामगर ‘महेश आरोही’ले ‘सारो मङ गजलसङ्ग्रह-२०७४’ र मिरुल रोल्पाकै हाल गढवा दाङमा बसोबास गर्ने सूर्यबहादुर बुढामगर ‘आशिष कल्पवृक्ष’ले ‘अढमर्क गजलसङ्ग्रह-२०७४’ नामक गजलसङ्ग्रह प्रकाशित गरी अहिलेसम्म मगर खाममा ५ वटा गजलसङ्ग्रह प्रकाशित भएको पाइन्छ ।

मगर खाममा मुक्तकसङ्ग्रह विधाको शुरूवात मिरूल¸ रोल्पाका टंकबहादुर झाँक्रीमगर  ‘समीप बैरागी’ले ‘जिन्दगीला यम मुक्तकसङ्ग्रह-२०७२’ नामक मुक्तकसङ्ग्रह प्रकाशित गरी मगर खाम साहित्यको मुक्तक विधाको शुरूवात गरेका छन् । त्यसैगरी उवा, रोल्पाका बोमबहादुर घर्तीमगर (व्योम जी अवतार) ले ‘चेमो मङ मुक्तकसङ्ग्रह-२०७५’, र मिरूल रोल्पाकै बेलबहादुर बुढामगर (युगान्त मगर) ले ‘माओइव युङला ओ मुक्तकसङ्ग्रह-२०७५’ प्रकाशन गरी अहिलेसम्म ३ वटा मुक्तकसङ्ग्रह प्रकाशित भएको पाइन्छ । यसैगरी मिरुल रोल्पाका टंकबहादुर झांक्रीमगर समीप बैरागीले मगर खामको पहिलो हाइकुसङ्ग्रह पार्सी-२०८० प्रकाशन गरी मगर खामको हाइक विद्याको शुरुवात गरेको पाइन्छ ।

नेपाल मगर लेखक सङ्घ¸ रोल्पाबाट २०६९ मा प्रकाशित मगर खामको पहिलो बार्षिक मुखपत्र ‘चाउ यम’मा रोल्पाका सपना रोकामगर र जितबहादुर घर्तीमगरको मुक्तक तथा रोल्पा जेलबाङका कुञ्जसिंह बुढामगरको ‘घन्या ताके सम्झी सम्झी’ बोलको गीत प्रकाशित भएको पाइन्छ । भने यस पत्रिकामै करिब आधा दर्जन जति विभिन्न गजलकारहरूको गजल पनि छापिएको पाइन्छ ।

तर पनि मगर खामबाट दर्जनौँ गीतहरू रेकर्ड गरी बजारमा ल्याइएको पाइन्छ । जसको विस्तृत विवरण पछाडि श्रव्यदृश्य शीर्षकमा राखिनेछ । गीत, गजल, मुक्तक तथा हाइकुजस्ता साहित्यक विधाहरूमा पनि अहिले युवाहरूमाझ निकै लोकप्रिय हुँदै गएकाले मगर खामभाषी नवस्रष्टाहरूले पनि विभिन्न पत्रपत्रिका, फेसबुक तथा एफ.एम. रेडियोहरूका माध्यमबाट फुटकर रूपमा सिर्जना गरी प्रकाशन तथा प्रसारण गर्नेमा उत्साहजनक सहभागिता भइरहेको पाइन्छ । जसले गर्दा अबको केही समयपछि मगर खाममा पनि यी विधामा कलम चली सिर्जनात्मक कृतिका रूपमा प्रकाशित हुँदै जानेछन् भनी अपेक्षा गर्न सकिन्छ ।

७.४ एकाग्नी तथा नाटक

एकाङ्की र नाटक दृश्यमा पनि देखाउन सकिने विधा हो । मगर खाम साहित्यमा एकाङ्की विधाको शुरूवात मिरूल¸ रोल्पाका राकेश बुढामगर (चिन्तन) ले ‘नाङ्खारयाल एकाङ्कीसङ्ग्रह-२०७४’ प्रकाशन गरी यो विधाको शुरूवात गरेको पाइन्छ । भने मगर खाममा पहिलो नाटक ‘आल्लाका सुल-२०८०’ प्रकाशन गरी नाटक विद्याको पानि एकाङ्कीकार चिन्तनले नै गरेको पाइन्छ । त्यसैले अबका साहित्यिक सर्जकहरूले यी विद्याहरूमा अझै सिर्जनात्मक कलम चलाई मगर खाम साहित्यको खाँचोलाई पूर्ति गर्न नितान्त आवश्यक देखिन्छ ।

७.५ कथा

कथा आख्यानभित्र पर्ने एक प्राचीन र लोकप्रिय विधा हो । यसले मानव जीवन र जगतका विविध पाटाहरूलाई उजागर गर्नुका साथै भाषा सिकाइ तथा विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने गर्दछ । मगर खाममा यस विधाको निकै खाँचो रहेको महसुस गरिन्छ । अहिलेसम्म रोल्पा, मिरूलका जिवनप्रवेश रोकामगर (जे. आर. मगर ‘हिमाल’) ले ‘आछिम चेतैक (आज संझिदा)-२०७१’ कथासङ्ग्रह प्रकाशित गरी हालसम्म मगर खाम साहित्यमा मौलिक कथा लेखनको शुरूवात गरेको पाइन्छ। ‘आछिम चेतैक’ कथासङ्ग्रहमा मौलिक मगरपन, सामाजिक जनजीवन, मगर संस्कार र संस्कृतिलाई विषयवस्तु बनाई जम्मा ११ वटा कथाहरू समेटी प्रकाशन गएिको पाइन्छ ।

यसबाहेक पाठ्यक्रम विकास केन्द्रद्वारा प्रकाशित मगर भाषाको १, २ र ३ कक्षाका पाठ्यक्रममा केही बालकथाहरू छापिएका छन् । मगर ढुटमा भने करिब दर्जनको हाराहारीमा कथासङ्ग्रहहरू प्रकाशित भइसकेको पाइन्छ । यसरी हेदा मगर खामको विकासको लागि मौलिक खालका कथा लेखनमा कलम चलाउन नितान्त आवश्यक देखिन्छ ।

७.६ उपन्यास

उपन्यास आख्यान विधाको उच्चतम रूप हो । यसमा जीवन र जगतका सम्पूर्ण पक्षहरूलाई सिलसिलाबद्ध ढङ्गले सिर्जना गरी प्रस्तुत गर्न सकिन्छ । मगर खामबाट उपन्यास लेखन विधाको शुरूवात मिरूल रोल्पाका जिवनप्रवेश रोकामगर (जे. आर. मगर ‘हिमाल’) ले ‘आछिमका सिल (आजको पाइला)-२०६८’ प्रकाशन गरी यो विधाको शुरूवात गरेको पाइन्छ साथै तकसेरा, रूकुमका अनिल बुढामगरले ‘पापी नाङ्खार-२०६८’ प्रकाशित गरी हालसम्म मगर खामबाट २ वटा मात्रै उपन्यास प्रकाशन भएको पाइन्छ । भने मगर ढुटमा उपन्यास लेखनको थालनी वि.स. २०५२ देखि शुरू भई, अहिलेसम्म करिब दर्जनको हाराहारीका उपन्यास प्रकाशित भइसकेको पाइन्छ ।

मगर खामको आख्यान विधामा साहित्यको भण्डारण गर्न तथा समग्र भाषा साहित्यको विकास र व्यापकताको लागि सम्पूर्ण मगर साहित्यिक सर्जकहरूले मातृभाषाबाट साहित्यको सिर्जनामा कलम चलाई मौलिक मगर खाम भाषा, संस्कार तथा संस्कृक्तिको जर्गेना गर्न आवश्यक देखिन्छ ।

७.७ निबन्ध/समालोचना/संस्मरण/नियात्रा

गद्य साहित्यअन्तर्गत पर्ने निबन्ध विधा पनि भाषिक विकासका लागि एक महत्त्वपूर्ण विधाको रूपमा मानिन्छ । मगर खाममा निबन्ध विधाको शुरूवात मिरूल¸ रोल्पाका जिवनप्रवश रोकामगर (जे आर मगर हिमाल’) ले ‘गे मगराँत खै ? (हाम्रो मगराँत खै ?)- २०७३’ नामक निबन्धसङ्ग्रह प्रकाशन गरी निबन्ध विधाको शुरूवात गरेको पाइन्छ । र उवा¸ रोल्पाका प्रेमप्रकाश घर्तीमगर (प्रेमप्रकाश मायाल) ले ‘प्रातिका समय-२०७३’ नामक निबन्धसङ्ग्रह प्रकाशन गरी हालसम्म मगर खाममा जम्मा २ वटा निबन्धसङ्ग्रह प्रकाशन भएको पाइन्छ ।

मिरुल रोल्पाका मालबहादुर बुढामगर महेश आरोहीले मगर खामको पहिलो संस्मरणसङ्ग्रह रूपमा ‘जिन्दगीलै ओल्दे रङ्क- २०८०’ प्रकाशन गरी संस्मरण विधाको शुरुवात गरेको पाइन्छ । साथै फुटकर रूपमा नेपाल मगर लेखक सङ्घ¸ रोल्पाबाट २०६९ मा प्रकाशित मगर खामको ‘चाउ यम’ (राम्रो बाटो) पत्रिकामा विभिन्न शीर्षकमा मगर लेखकहरूले करिब दई दर्जन जति निबन्धनात्मक लेख, आलेख, विचार तथा विश्लेषण लेखी प्रकाशित गरेको पाइन्छ । भने मगर खाममा हालसम्म समालोचना र नियात्राजस्ता साहित्यका विधाहरूमा अझै कलम चलेको देखिँदैन ।

७.८ जीवनी

मगर खामवाट अहिलेसम्म जीवनी विधाकै रूपमा त प्रकाशित भएको पाइँदैन । तर नेपाल सरकार पाठ्यक्रम विकास केन्द्र सानोठीमीबाट प्रकाशित मगर खामको २०६९ सालको कक्षा २ को पाठ्यापुस्तकमा जिवनप्रवेश रोकामगर (जे. आर. मगर ‘हिमाल’) ले मगर खामबाट रुकुमका सहिद कामी बुढामगरको बारेमा जीवनी तयार पारी पाठ्यक्रममा छापिएको छ । तर बिडम्बना त्यस पाठ्यक्रममा जीवनी लेखकको नाम उल्लेख नगरी साहित्य सर्जकलाई उत्साहित बनाउनुको साटो निरूत्साहित तुल्याएर सिर्जनाप्रति अन्याय गरेको पाइन्छ ।

अबका दिनहरूमा मगर सामाजसेवी, बुद्धिजीवी, राजनैतिक व्याक्तित्व तथा समाजमा उदाहरणीय व्यक्तिहरूको जीवनलाई अध्ययन गरी मगर खाममा जीवनी तयार गरी प्रकाशन गर्न आवश्यक देखिन्छ ।

७.९ श्रव्य, दृश्य सामग्री (गीती एल्बम, फिल्म तथा वृतचित्र)

श्रव्यदृश्यअन्तर्गत पर्ने गीती एल्बम, वृतचित्र तथा चलचित्रहरू समाजका ऐना हुन् । जसले समाजमा रहेको भाषा, संस्कार तथा संस्कृतिलाई छर्लङ्ग देखाउने गर्दछ । भाषा तथा संस्कृतिलाई संवाद र दृश्यको माध्यमबाट आम मानिससामु पश्कने महत्त्वपूर्ण माध्यम हुन् । मगर खाममा रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र¸ सुर्खेतबाट मगर खामको समाचार तथा कार्यक्रम प्रशारणको शुरूवात वि.स. २०५३ मा भएसँगै करिव आधा दर्जन जति फुट्कर गीतहरू त्यही रेडियोको स्टुडियोमा रेकर्ड भई प्रशारण भएको पाइन्छ ।

भने अहिलेसम्म मगर खाममा गीती एल्बमको रूपमा रोल्पाका बलबहादुर घर्तीमगर, अम्बीका रोकामगर, माया रोकामगर, चन्द्रबहादुर पुनमगर तथा रूकुमका तिलक रोकामगरको सयुक्त रूपमा लेखन, सङ्गीत तथा गायनमा सातवटा गीतहरू रेकर्ड गरी २०६० सालमा ‘जेमी मया’ गीती एल्बम सार्वजनिक गरी मगर खामको गिती सङ्ग्रहको शुरूवात गरेको पाइन्छ । त्यसैगरी तत्कालीन ने.क.पा. (माओवादी) पार्टीअन्तर्गत मगर साँस्कृतिक परिवार केन्द्रीय टोलीद्वारा ‘उज्याल ताके गीति एल्बम-२०६२’ र युग बिहानी गीति एल्बममा ‘हुए हुए तछाके हुए…’ बोलको गीत रेकर्ड भएको पाइन्छ । त्यसपछि २०६७ सालमा निर्मित मगर चलचित्र ‘घाव नाङ्खार’ र ‘मोड्याल्नी’ मा ६, ६ वटा गरी १२ वटा मगर खामका गीतहरू रेकर्ड गरिएको पाइन्छ । यसरी हेर्दा अहिलेसम्म मगर खाममा करिब दुई दर्जनभन्दा बढी गीतहरू रेकर्ड गरी बजारमा ल्याइएको पाइन्छ ।

मगर खाममा चलचित्रहरू अहिलेसम्म रोल्पाका नवीन रोकामगर, जिवनप्रवेश रोकामगर, भीमप्रकाश पुनमगर र दीपक रोकामगरद्वारा निर्मित मगर चलचित्र ‘घाव नाङ्खार (जलेको बस्ती)-२०६७’ र रुकुमका मीना पुनमगर र सृष्टि पुनमगरको निर्माणमा रहेको मगर चलचित्र ‘मोड्याल्नी-२०६७’ प्रदर्शनमा आएको पाइन्छ । मगरहरूले मनाउने ठूलो चाड भूम्याको बारेमा पहिलोपटक मगर खामबाट वृत्रचित्र ‘भूम्या’ अजम्मरी जनकम्युन थबाङ र अजम्मरी युवा क्लब थबाङ, रोल्पाको निर्माणमा २०६६ सालमा रोल्पाकै थबाङमा छायाङ्कन गरी निमार्ण गरिएको पाइन्छ । भने नाम्कः भूम्या पर्व संरक्षण मञ्च थबाङ¸ रोल्पाको निर्माणमा मगर खामबाटै ‘नाम्कः भूम्या पर्व-२०७०’ नामक वृतचित्र पनि रोल्पाकै थबाङमा छायाङ्कन गरी बजारमा ल्याइएको पाइन्छ ।

साथै रूकुम कोलका लक्षिणकुमार पुनमगर (याङो श्रो मगर) बालबालिकाहरूलाई शिक्षण सिकाइमा प्रभावकारी गराउने हेतुले मगर खाममा २ वटा बालगीत रेकर्ड गरी छायाङ्कनसमेत गरेर बजारमा ल्याएको पाइन्छ । यसरी मगर खाममा गिती एल्बम, चलचित्र तथा वृत्तचित्र निर्माण कार्यको शुभारम्भ भएको पाइन्छ । मगरहरूको भाषा, संस्कार तथा संस्कृतिलाई विकास गरी फैलाउनको लागि यी र यस्ता कार्यहरू निरन्तर तथा व्यापक हुनुपर्ने देखिन्छ ।


७.१० अन्य

मगर खामको साहित्यको विकासमा माथि उल्लेखित विधाहरूबाहेक अरू केही पुस्तकहरू पनि प्रकाशित भएको पाइन्छ । जसअन्तर्गत नेपाल मगर लेखक सङ्घ¸ रोल्पाले जिवनप्रवेश रोकामगर (जे. आर. मगर ‘हिमाल’ को सम्पादनमा २०६९ सालमा मगर खासकै पहिलो वाषिक मुखपत्रको रूपमा ‘चाउ यम’को प्रकाशन गरी, सम्पूर्ण मगर अग्रज तथा अगुवादेखि हालसम्मका मगर खाममा कलम चलाउने स्रष्टाहरूको उपस्थितिमा करिब तीन पुस्तासम्मका सम्पूर्ण लेखक तथा स्रष्टाहरूलाई एकै ठाउँमा आ-आफ्ना मनका भावनाहरूलाई मातृ‌भाषाबाट विभिन्न लेख, आलेख, निबन्ध, विचार, अन्तर्वाता, गीत, कविता, गजल तथा मुक्तकको माध्ययमा भावनाहरू एकैथलोमा सङ्ग्रह गरी प्रकाशित गर्ने काम गरेको पाइन्छ । रूकुम लुकुमका हर्कबहादुर घर्तीमगरले मगर खामबाट ‘ङा वंशलु-२०६९’ नामक वंशावली प्रकाशन गरेको पाइन्छ, भने २०७० सालमा नेपाल मगर सङ्घ¸ कैलालीको प्रकाशनमा लेखक जय गणेश पहराईमगर र चक्र अस्लामी मगरले नेपाली, मगर ढुट तथा मगर खाममा संवाद पुस्तक ‘हाम्रो मगर भाषा’, ‘कानूङ मगर ढुट’, ‘गेरा मगर पाङ, नामक मगर भाषा सिकाउने संवाद बोलचाल किताब प्रकाशन गरी दुवै मगर भाषाको बोलीचालीलाई एकै पुस्तकमा समावेश गरी प्रकाशन गरेको पाइन्छ । २०७१ सालमा नेपाल मगर महिला सङ्घ जिल्ला समिति काठमाडौंको प्रकाशनमा लेखकहरू विष्णकुमार सिङ्जाली र कर्णबहादुर बुढामगर तथा सह-लेखकहरू हिरामती राना (सिञ्जाली), पूर्णबहादुर राना (सिंजालीमगर), इर्धासी झाँक्रीमगर र जीवनप्रवेश रोकामगरको संयुक्त लेखनमा मगर खाम, मगर ढुट, नेपाली तथा अङ्ग्रेजी गरी चारै भाषाबाट मगर, नेपाली अङ्ग्रेजी बोलचाल किताब प्रकाशित भएको पाइन्छ । जसले मगर खाम सिक्न, सिकाउन तथा पढाउनको लागि निकै उपयोगी मानिन्छ । २०७९ सालमा मगर लेखक सङ्घ¸ केन्द्रको संयोजनमा डा. विष्णुकुमार सिंजाली, जिवनप्रवेश रोकामगर र जगबहादुर बुढामगरको लेखनमा मगर ढुट, मगर खाम र मगर काइके सिकाउने किताब ‘हाम्रो मगर भाषा’ मगर परिवार नेपाल (MPN) को प्रकाशनमा प्रकाशित भएको पाइन्छ ।

यसैगरी रूकुम कोलका लक्षिणकुमार पुनमगर (याङो श्रो मगर) ले बालबालिकाहरूको पठनपाठनलाई मध्यनजर गर्दै कक्षा नर्सरी, एल.के.जी. र यू.के.जी.मा निकै उपयोगी हुने मगर खाम, नेपाली र अङ्ग्रेजी तीन वटै भाषामा ‘नैमी-२०७६’ नामक अलइनओन पाठ्य सामग्री प्रकाशन गरेको पाइन्छ ।

विद्यालय शिक्षातर्फ मगर आदिवासी प्राज्ञिक प्रतिष्ठानको प्राज्ञिक संयोजनमा डा. विष्णुकुमार सिंजाली, बलबहादुर घर्तीमगर र जिवनप्रवेश रोकामगरको लेखनमा सुनछहरी गाउँपालिका¸ रोल्पाले मगर खामको पाठ्यक्रम कक्षा १ देखि ८ सम्म तयार गरी प्रकाशन गरेको छ । कक्षा १ देखि ३ कक्षासम्म पाठ्यपुस्तक ‘गेमी सुनछहरी’ निर्माण र प्रकाशन गरी कक्षा १ मा पठनपाठन शुरु गरेको पाइन्छ । थबाङ गाउँपालिका, रोल्पाले मगर खामबाट कक्षा ३ सम्मको पाठ्यक्रम निर्माण र कक्षा १ को पाठ्यपुस्तक ‘गेमी थबाङ’ तयार गरी प्रकाशनसँगै पठनपाठन पनि शुरु गरेको पाइन्छ । यसैगरी निसिखोला गाउँपालिका, बाग्लुङले कक्षा ३ सम्म पाठ्यक्रम र कक्षा १ को पाठ्यक्रम ‘गेमी निसिखोला’ निर्माण गरी पठनपाठनको तयारीमा रहेको पाइन्छ ।

यसैगरी पाठ्यक्रम विकास केन्द्र सानोठीमी¸ भक्तपुरले मगर खामबाट कक्षा ५ सम्म पाठ्यपुस्तक निर्माण गरेको पाइन्छ । तर कार्यान्वयन नभएको पाइन्छ ।

यसका साथै मगर खाम साहित्यको विकासका लागि २०५३ सालको रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र¸ सुर्खेतको स्थापना तथा ६० को दशकबाट नेपालमा एफ.एम. रेडियोको स्थापनासँगै केही रेडियोहरूले मगर खामको साहित्यमा गीत, गजल, मुक्तक, तथा अन्तर्वार्ताहरू प्रसारित गरी टेवा पुर्‍याएको पाइन्छ । जसअन्तर्गत हालसम्म काठमाडौंको गोरखा एफ.एम.¸ घोराही¸ दाङका रेडियो स्वर्गद्वारी, मध्यपश्चिम एफ.एम., रेडियो गणतन्त्र, इन्द्रेणी एफ.एम. तथा झरणा एफ.एम.ले समाचार तथा केही कार्यक्रमहरू प्रस्तुत गरिएको पाइन्छ भने रोल्पा लिबाङका जलजला एफ.एम., रेडियो रोल्पा तथा रूकुमका रेडियो सानीभेरीले पनि मगर खाम भाषामा समाचार र विभिन्न कार्यक्रमहरू प्रस्तुत गर्दै आएको पाइन्छ । यद्यपि यी एफ.एम. रेडियोहरूमा पनि मगर खामका साहित्यिक कार्यक्रमहरू प्रयाप्त देखिँदैनन् । अहिलेको यो सूचना प्रविधिको युगसँगै कामको सिलसिलामा विभिन्न विदेशमा रहने मगर खामभाषीहरू तथा नेपालका पनि इन्टरनेटको पहुँचसम्म रहेका मगर स्रष्टाहरूले सामाजिक सञ्जाल फेसबुक तथा मगर खाम साहित्यका नाममा विभिन्न पेजहरू खोली मगर खामबाट गीत, गजल, मुक्तक, तथा मनका भावनाहरूलाई सिर्जना गरी सबै साथीहरू समक्ष पोष्ट गरेर पनि मगर खामको विकासमा केही जागरण पैदा गरी भावनाको माध्यमबाट सम्पूर्ण मगर खामभाषीहरूलाई एकै ठाउँमा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको पाइन्छ ।

८. निष्कर्ष

मगर खाम नेपालको अठार मगराँत क्षेत्रमा बसोबास गर्ने मगरहरूको मातृभाषा हो । जुन अहिलेको बढ्दो आधुनिकीकरण, सञ्चारमाध्यमको विकासका कारण मानवीय जीवन सहज हुँदै गएतापनि भाषागत रूपमा अतिक्रमण हुँदै गइरहेको पाइन्छ । मगर खामको समग्र विकास गर्न मगर मातृभाषामा साहित्य लेखनका लागि नव स्रष्टाहरूलाई प्रोत्साहित गरी साहित्यका विभिन्न विधामा कलम चलाउने वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता देखिन्छ । मगर खामको संस्थागत विकासका लागि राज्यको तर्फबाट नीति भए पनि विद्यालय र विश्वविद्यालय तहसम्म पठनपाठन हुन नसक्नुले पनि भाषाको संस्थागत विकास हुन नसकेको पाइन्छ ।

त्यसैले मगर खाममा पठन पाठनका लागि सम्बन्धित सङ्घसंस्था र समुदायले राज्यलाई घचघच्याउनुपर्ने आवश्यक देखिन्छ । भाषा एक समुदायको व्यवहार चलाउने माध्यम भएतापनि समग्रमा राज्यकै सम्पतिका रूपमा चिनिने भएकाले नेपालका विविध समुदायका सम्पूर्ण भाषाहरूलाई संरक्षणका लागि राज्यले नै उपयुक्त भाषा नीतिको तय गरी संरक्षणमा लाग्नुपर्ने देखिन्छ । अन्यथा नेपालमा रहेका विभिन्न भाषाहरू लोप हुने खतरामा देखिन्छ । त्यसैले मगर खाम साहित्यको विकास गर्नको लागि साहित्यिक कृतिहरूको लेखन तथा प्रकाशनका साथै विभिन्न पत्रपत्रिकाको प्रकाशन, रेडियोहरूमा प्रयाप्त कार्यक्रमको प्रसारण तथा टेलिभिजनहरूमा पनि मगर खामको विभिन्न कार्यक्रमहरू प्रसारण गरी मगर मातृभाषा साहित्यको विकासका लागि चेतना फैलाउनु पर्ने आवश्यक देखिन्छ ।

सन्दर्भ सामग्री

  • घर्तीमगर, बलबहादुर (२०७१), मगर संस्कार, रोल्पाः आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् ।
  • थापामगर, लोकबहादुर, (२०७०), मगर भाषा-साहित्य, ललितपुरः आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ।
  • पुन, जुक्तिप्रसाद (२०६१), खाम मगर पाङ-नेपाली-अंग्रेजी शब्दकोष, काठमाडौं : मगर अध्ययन केन्द्र ।
  • बरालमगर, केशरजङ्ग (२०५०), पाल्पा, तनहुँ र स्याङ्जाका मगरहरूको संस्कृति, काठमाडौं : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
  • बुढामगर, कर्णबहादुर (२०६८), अ त्रिलिड्गुएज डिक्सनरी अफ द मगर ल्याङ्गुएज (अठार मगरात), काठमाडौः जीतमान पुनमगर ।
  • बुढामगर, तेजेन्द्र र अन्य (२०६७), मगराती खाम व्याकरण, काठमाडौं: ।
  • बुढामगर, बमकुमारी (२०६४), मडड्र पाडलन् पो लः मीन, काठमाडौः अथार मगरात मगर भाषा-संस्कृक्ति विकास प्रतिष्ठान ।
  • रोकामगर, जिवनप्रवेश (२०७७), रोल्पा, रुकुम र बाग्लुङका मगरहरुको भाषा, साहित्य र संस्कृति¸ रोल्पा समृद्ध रोल्पा फाउन्डेशन ।
  • सिङ्गाली, विष्णुकुमार (२०७१), आदिवासी मगरका विविध पक्षहरू, काठमाडौं : मगर अध्ययन केन्द्र ।
  • श्रीसमगर, मिन (२०६७), मगर जातिको चिनारी, काठमाडौं : आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र नेपाल मगर सङ्घ, केन्द्रीय कार्यालय ।
  • श्रीसमगर, मिन (२०७४), मगर संस्कृति, ललितपुर : आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ।
  • (२०६४), मगर (खाम) भाषा वर्णमाला तथा व्याकरणको प्रारुप, काठमाडौं : मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल, केन्द्रीय प्रकाशन विभाग ।

जर्नल तथा पत्रपत्रिका

  • पुनमगर, विपल (२०६८) (खाम पाङ) भाषिक नामाकरण विवाद एक दृष्टिकोण रोश’ वर्ष अङ्क ८, काठमाडौं: ने.म.वि.स.त्रि.वि.।
  • बुढामगर, कर्णबहादुर (२०७१) मगर भाषा अठार मगरातको मानकीकरण एवम् वर्तमान अवस्था र यसका चुनौतिहरू, रोमी
  • ल रोश’ अंक १०, काठमाडौं: ने.म.वि.स. त्रि.वि. । भाषा आयोगको वार्षिक प्रतिववेदन (२०७४), काठमाडौं: भाषा आयोग
  • मगर महिला सङ्घ, काठमाडौँद्वारा प्रकाशित (मगर खाम पाङ ला रोःर-२०७१)
  • मायालु, प्रेमप्रकाश (२०७०) ‘अठार मगरात र यहाँको साहित्य, मिर्मिर अङ्क १६, दाङ ने.म.वि.स.।
  • रोकामगर, जिवत्तप्रवेश (२०७७) मगर खामको भाषिक तथा साहित्यिक अवस्था, मगर अध्ययन, वर्ष १ अङ्क
  • रोकामगर, जिवनप्रवेश (सम्पादक), (२०६९) चाउ यम (नेपाल मगर लेखक सङ्घ¸ रोल्पाको बार्षिक मुखपत्र), रोल्पा ।
  • लाफामगर, सञ्जोग (२०७१), मगर भाषासम्बन्धी जानकारी, काठमाडौं: गोरखापत्र संस्थान ।

नेपाल प्रज्ञा प्रतिष्ठान मातृभाषा साहित्य विभाग) को आयोजनामा २०८० पौष २६ गते मातृभाषा साहित्य शृखला कार्यक्रममा प्रस्तुत कार्यपत्र