कहिले सङ्गीतको तालमा खोजेँ
कहिले बाल्यकालमा खोजेँ
कहिले पात्रोको सालमा खोजेँ
कहिले बन्दुकको नालमा खोजेँ
खोजिहेरेँ धर्ती¸ खोजिहेरेँ आकाश
पाइन कहीँ खुशी शिवाय निराश ।
कहिले गाउँमा खोजेँ
कहिले दाउमा खोजेँ
कहिले शहरमा खोजेँ
कहिले नहरमा खोजेँ
कहिले देशमा खोजेँ
कहिले विदेशमा खोजेँ
कहिले परिवारमा खोजेँ
कहिले परिकारमा खोजेँ ।
खै किन हो…
डलरको नोटमा पाइनँ खुशी
मरुभूमिको चोतमा पाइनँ खुशी
झुपडीको ओतको झन् के कुरा
महलको कोतमा पाइनँ खुशी ।
खुशी खोज्न खै ! कहाँ जाउँ म
कुन जन्तुसँग मित लगाउँ म ।
कस्तो रूपधारण गरूँ
कि अर्को जुनी पाउन मरण गरूँ
मन भन्छ अझै खोज्नुपर्छ खुशी
जहाँसम्म पुग्छ दृष्टि
जहाँबाट सुरुवात भायो संसार सृष्टि
जहाँसम्म दुई खुट्टा हिन्छ
जहाँसम्म सासले साथ दिन्छ ।
त्यसैले त…
कहिले समुद्रको छालमा खोजेँ
कहिले क्षितिजपारिको तालमा खोजेँ
कहिले झरनाको छहरामा खोजेँ
कहिले लेकवेँशी, पहरामा खोजेँ ।
खोज्दै जाँदा अनेक
बल्ल पाएँ औषधि एक ।
जुन म आफैभित्र रहेछ
चित्रमा खोज्दै हिँड्नु मृगतृष्णा भएछ
अध्ययन गरी हेरेँ जन्मदेखि अन्त्यष्टि
खुशीको एकमात्र औषधि, केवल ‘सन्तुष्टि’ ।
०००
भुमे-१ लुगुम¸ रुकुमपूर्व
यो पनि पढ्नुहोस्ः
