गजल – एक
आफ्नै आँखाले आफैलाई आँसु पिलाएर गयो
याद छोडेर जाने विगतले विश्वास दिलाएर गयो
म कसरी बिर्सन सकुँला र त्यो बनावटी खोटहरू
सम्झनू यही कारण हाम्रो मित्रता बिलाएर गयो
खाली चोटमाथि चोट थपिरह्यौ तिमीले त खाली
एकदिन भेटेको साथीले फाटेको मन सिलाएर गयो
कुनामा लुकेर उभिको रहेछ ऊ मेरो विरुद्ध बोल्न
भेट भयौं मुसुक्क हास्यो आफै हात मिलाएर गयो
के जादु चलायो कुन्नि आजसम्म चिन्तन गर्न बाध्य छु
कहिलै भाङ खादैनँ भनेको एक सर्को खिलाएर गयो ।
गजल – दुई
खै के सुनाउँ सुनाउन पनि कठोर वचन परेको छ
र त यो छातीमाथि सहनै नसक्ने घन परेको छ
कस्तो सञ्जोक हो यो भगवान् बुझ्नै सकेको छैन
मेरो मृत्युसँगै उता प्रियको लगन परेको छ
घाउहरू चर्किन्छन् कहिलेकाहीँ किन यसरी
लाग्छ कि दुश्मनको हातमा मलम परेको छ
दुईतिर माया लाउनेहरूको भाषा फरक हुँदोरहेछ
बुझ्न सकिएन पहिले कसरी भुलूँ साह्रै मन परेको छ
यो दुनियाँ पनि कति विचित्रको रहेछ नि महोदय
हुँदै नभा’को कुराको गाउँमा कम्पन परेको छ
गजल – तीन
सारा भा’को सुनाउँ तिम्रो कहानी त्यति भए पुग्छ
सँगै बिताउने बाचा गरौं जिन्दगानी त्यति भए पुग्छ
मायाको आभाससँगै शिर राख्न पाउँ तिम्रै काखमा
भोको पेट भर्न दिनू बरू बाँचौला नि त्यति भए पुग्छ
अन्तिम दिनमा छट्पटाउँदै गर्दा तिम्रै हातले
खुवाउनू है एक अम्खोरा पानी त्यति भए पुग्छ
यति प्रगाढ माया हुँदाहुँदै बीचमै छुट्नुपर्यो भने
आउनू है म मरेको दिन मलामी त्यति भए पुग्छ ।
०००
रोल्पा न.पा. वडा नं. ९, लाटाबाङ, रोल्पा
