गेथाती

सर ! हामीलाई विदेश जाने कुरा सिकाउनुस्

खेमराज शर्मा
१८ जेष्ठ २०८१, शुक्रबार

रोल्पा जिल्लाको कुनै एक माध्यमिक विद्यालयमा पढाउने शिक्षक हुन् ‘उनी’ (यहाँ मैले नाम उल्लेख गरिनँ) । तीन विषयमा स्नातकोत्तर गरिसकेका उनी जिल्लाकै विशिष्ट विद्वान्‌ मा गनिन्छन् । सरल व्यवहारका एक कुशल शिक्षकका अतिरिक्त  उनी समाजशास्त्रका विज्ञ तथा घरेलु राजनीतिका अतिरिक्त अन्तर्राष्ट्रिय राजनीति र विश्व परिघटनाका ज्ञाता र कुशल लेखकसमेत् हुन् ।

तिनै शिक्षक एकदिन दश कक्षामा कृषि विषय पढाइरहेका हुन्छन् । उनको आकर्षक व्यक्तित्व, मीठो र विद्यार्थी केद्रित शैली हुँदाहुँदै पनि विद्यार्थीले ध्यान दिँदैनन्, उनको पढाइमा । उनी पढाइमा ध्यान नदिने विद्यार्थीलाई हकार्दैनन् र पिट्दैनन् पनि । तर विनम्रताका साथ विद्यार्थीको ध्यानाकर्षण गर्छन् । आफ्ना विद्यार्थीहरूले पढाइमा ध्यान नदिएकामा उनलाई रिस उठ्दैन बरु त्यसको कारण खोज्न थाल्छन् ।

‘नानीबाबुहरू ! पढाइमा ध्यान देऊ बा । तिमीहरूले पटक्कै ध्यान नदिएको देख्दा मलाई आश्चर्य लागिरहेको छ । बरु भन तिमीहरूलाई के कारणले पढाइप्रति वितृष्णा उत्पन्न भइरहेको छ ? म तिमीहरूलाई गाली गर्दिनँ, बरु कत्ति पनि नढाँटेर मलाई बताऊ ।’

शिक्षक विद्यार्थीको नजिक गएर मुस्कुराउँदै भन्छन् ।

‘सर ! कृषि पनि के पढ्नु र ! हाम्रा बाजे बाउले जीवनभर यही पेसा गरे । हाम्ले पनि अलिअलि काम गर्छम्, केही कुरो जान्या पनि छम् । जत्ति गरे नि वर्षदिन खान पुग्ने हैन, बेसाहा नबोकेर उपाय छैन ।’

एकजना विद्यार्थीले  पढाइमा ध्यान नजानुको कारणसहित शिक्षकको प्रश्नको उत्तर दिन खोज्छ ।

‘सर ! हामीलाई यो कृषिसिर्सी होइन, बरु विदेश कसरी गइन्छ ? कसरी कमाइकजाइ गर्न सकिन्छ ? त्यस बारेमा जानकारी दिनुस् हजुर । हामी ध्यान दिएर सुन्छौं र बुज्छौं सर ।’

पहिलो बेञ्चमा बसेको अलि टाठो जस्तो देखिने विद्यार्थी आफ्ना कुरा राख्छ ती शिक्षकका अगाडि ।

शिक्षक अवाक हुन्छन् । उनको हात भित्रको पाठ्यपुस्तक खस्नखस्न खोज्छ । आफ्नो हातको पुस्तकलाई दह्रोसँग समातेर उनी प्रत्येक विद्यार्थीको अनुहार पढ्न पुग्छन् । प्रत्येक अनुहारले बोलिरहेको पाउँछन् ,

यस्तो शिक्षा पढेर काम छैन ।

घरमा धेरै बसेर दाम छैन ।

पढाइ भनेको विदेश जान सिकाउने माध्यम मात्र हो । धेरै पढेका हाम्रा गाउँका मास्टर र नेताका छोरा छोरी  पनि विदेश त गएकै छन् ।

धेरै पढी छैन काम ।

विदेश गए धेरै दाम । जस्ता शब्दहरू प्रत्येक विद्यार्थीको निधारमा लेखिएको पाउँछन् ।

शिक्षक झट्ट उत्तर दिन सक्दैनन् । आजको देशको परिस्थितिले हिर्काउँछ उनको मथिङ्गलमा । उनको कल्पनाशिलता र भावुकताले प्रत्येक विद्यार्थीका आँखाहरूमा अरबको धुपभित्र पसिनाको रुप देख्नपुग्छ । प्रत्येक विद्यार्थीका हातमा पासपोर्ट झुण्डिएको देख्न पुग्छन् उनी । प्रत्येक विद्यार्थीको पारिवारिक जीवन सङ्कटग्रस्त, अस्तव्यस्त र विसर्जन उन्मुखका साथै सङ्का र बेमेलका शृङ्खलाहरूसमेत देख्नपुग्छन् उनी ।

‘बाबु नानीहरू ! विदेश जानलाई पनि त पढ्नुपर्छ राम्रोसित । विदेशीले पनि हामीलाई चिन्ने होइन, हाम्रो पढाइलाई चिन्ने र किन्ने हो । कत्ति पनि नपढेकोलाई उता पनि ठाउँ छैन हेर । जीवन र जगतलाई बुझ्नलाई पनि त राम्रोसित पढ्नुपर्‍यो बा !’

शिक्षक भन्न सक्दैनन्, राम्रोसँग पढ्यौ भने यहीं काम र दाम पाउँछौ । देशलाई पढेलेखेका मान्छेको खाँचो छ । परम्परागत कृषि प्रणालीलाई आधुनिक र व्यावसायिक गराउन सके यहीं सुन फलाउन सकिन्छ । हाम्रो जिम्मेवार राज्ययन्त्र छ, सुखदुःखमा साथ दिनलाई ।

शिक्षक भावनाको सागरमा तैरिन खोज्दैगर्दा घन्टी लाग्छ ।

ट्याङ ! ट्याङ !! ट्याङ !!!

०००

यसका लेखक खेमराज शर्मा निवृत्त शिक्षक तथा पूर्व स्रोतव्यक्ति हुन् ।