गेथाती

राङ्ख्या तिवारको छोटो चर्चा

असार सङ्क्रान्तिमा भू अथवा नामको पूजा र साउन सङ्क्रान्तिमा म्हेँ/राङ/राँहा अथवा आगोको पूजा गरेर मान्ने गरिन्छ । समग्रमा भन्नुपर्दा एक वर्षको भूम्हेँ/भूमे/भूम्या/नाम्क/बल्क परम्परागत चलनचल्तीअनुसार विधिगत रूपमा मान्दै अन्त्य गर्ने गरिन्छ । मगरहरूले मान्दै आएको दुई मास वा ऋतुमध्ये उभौलीको अन्त्यसँगै उधौलीको सुरुवात साउने सङ्क्रान्तिमा मनाइन्छ । असार सङ्क्रान्तिमा भू अर्थात् नाम/बलको पूजा गर्‍यो भने भेल बाढी, पहिरो जाँदैन भने साउन सङ्क्रान्तिमा म्हेँ/राँहा अथवा आगोको पूजा गरी घाट, गंगा, खोला पार गर्‍यो भने कालकुष्ठ¸ रोगव्यादी नौ ग्रह शान्ति हुन्छ, केही लाग्दैन भन्ने प्रचलन पनि छ । त्यसैले नै साउने सङ्क्रान्तिलाई राङ्ख्या/राँखे सङ्क्रान्ति वा तिवार सङ्क्रान्ति भन्ने गरेको गरिन्छ ।


म्हेँ/राङ्ख्या/राँखे तिवार ?

राङ्ख्या शब्द मगर खाममा राङ्खा/राङ्का (आगोलाई चिनाउने मुस्लो/भाङ नाम शब्द ।) र ख्या फाल (फाल्नका लागि गरिने आज्ञार्थक शब्द।)को संयोजनबाट भएको हो अथवा आगोको मुस्लो फाल्ने क्रियाबाट बनेको शब्द हो राङ्ख्या । म्हेँ/आगो पुजेर राङ्खा/राङ्का/भाङ फालेर मानिने भएकोले राङ्ख्या/राँखे तिवार भन्ने गरिन्छ । तर अहिले खशभाषाकरण गरेर राँके तिहार भन्न र लेख्न थालेको देख्दा दु:ख लाग्छ । किनकि हाम्रो ठेट शब्दहरूलाई हामीहरूले नै नामेट गर्दै लगिरहेको त छैनौं ? भन्ने कुरामा पनि महसुस हुन्छ । खासमा राङ्ख्या/राँखे तिवार नै हो । मगर खाममा तिवारको खास अर्थ त भेट्दिनँ तर पहिल्यैदेखि तिवार सङ्क्रान्ति भन्दै आइएकोले कतै साउन महिनाको नाम मगर खाममा तिवार त होइन भन्ने अनुमान भने गर्न सकिन्छ । किनकि रम्माहरूको सिरुङपारूङ सुल्क/धुर/खेतीमा (काना गोरह/गोपारूङ (मानव पुर्खा) र थुते सेपारुङ (सिमेभुमेको पुर्खा) को अंशबन्दा गर्न खोज्दा तिवारमासमा वारि जलजल हुन्छ पारि जलजल हुन्छ । खोली खहरे बढ्छ । भेलबाढी चल्छ । साँघु बग्छ । आगो पुज्ने मैना, ग्रह फाल्ने मैना । मन्जुत्याइँ/मानुवाहरू लागि कालोमास हो । अंश छुटाउन मिल्दैन भनेर गोपारूङले सेपारुङलाई तारेको हुन्छ ।) पनि तिवार मास भन्ने शब्दले कि साउन महिनाको नाम मगर खाममा तिवार हो भनेर अनुमान गर्न सकिन्छ तर माघ तिवार भन्ने शब्दले तिवार भन्ने शब्द पर्व या उत्सव हो कि भन्ने महशुस पनि हुन्छ । जे भए पनि मगर खाम शब्दमा उत्सवसँग जोडिएको अर्गानिक शब्द हो तिवार ।


राङ्ख्या तिवार किन र के के गरेर मानिन्छ ?

माथि नै भनिसकेको छु अठार मगरातका मगरहरूले वर्षमा दुई ऋतुहरू मान्ने गर्दछन् । साउने सङ्क्रान्तिदेखि पुस मसान्तसम्मको अवधिलाई उँदेली (उधौली) र माघ सङ्क्रान्तिदेखि असार मसान्तसम्मको अवधिलाई उभेली (उभौली)का रूपमा मान्ने गर्दछन्/गरिन्छ । साउने सङ्क्रान्तिमा आगोको पूजाका साथै उभेलीको विदाइ र उदेलीको स्वागतको रूपमा मानिन्छ । त्यसबाहेक तिवार सङ्क्रान्तिका दिन ओखला पूजा गर्दै माघ सङ्क्रान्तिबाट बन्द गरिएका नङ्गरा/दमाह र रिङ/ढ्याङ्ग्रो बाहेकका सम्पूर्ण गाजाबाजाहरू उदेलीमास अथवा पुस मसान्तसम्मको लागि फुकाइन्छ । असार महिनाका लागि र आफन्त मरेकाहरूले सिस्नो फुकाएर खाने गरिन्छ । असार सङ्क्रान्तिमा नफालिएका लाइलछिमी/बस्तुभाउहरूको ग्वालापित्रहरू फाल्ने/पुज्ने गरिन्छ । छोटकरीमा बुँदागत रूपमा यसरी राखिएको छ ।

  • आगोको पूजा रोगव्यादी काल ग्रह शान्त होस् भन्ने कामना गर्दै¸
  • ओखला पुज्दै माघ सङ्क्रान्तिबाट बन्द गरिएको नचारु बाजाहरू फेरि त्यही समयसम्मलाई फुकाउँदै¸
  • असार सङ्क्रान्तिबाट बन्द गरिएको सिस्नो खाने फुकाउँदै/घरका मान्छे वा आफन्तको मृत्युका कारण बन्द गरिएको भए पनि यही समयमा पनि फुकाएर खाने गर्दै¸
  • मगर संस्कारमा मानिने दुई ऋतुमा उभेलीको बिदाइ र उदेलीको स्वागत गर्दै¸
  • बस्तुभाउहरूको ग्वालापित्रहरूको पूजा गर्दै¸
  • टिम्बुर टिप्न र खान मिल्ने दिन (योभन्दा अगाडि टिपे र खाए चरिपै (बोलेको ठेगान नहुने) लाग्छ) को सुरुवात गर्दै ।

आगोको पूजा र राङ्ख्या कसरी फालिन्छ ?

तिवार सङ्क्रान्ति वा साउन एक गतेका दिन घरहरू लिपपोत गरी भाडाकुडाहरू सफा सुघर गर्ने गरिन्छ । भने जाँटो, ढेँकी, झलाकुना, गुरुङ (भण्डार) भारलगायतका काञ्चेकुञ्चे ठाउँहरू टक्टकाई सफाइ गरिन्छ । किनभने आँखा नदेख्ने, लुला लङ्गदो झे: असान मसान ग्रहहरू यस्तै कुनाहरूमा लुकेर बसेका हुन्छन् र तिनीहरूले मान्छेहरू सास्ती दिने गर्दछन् भन्ने मान्यताले सरसफाइमा विशेष ध्यान दिने गरिन्छ । बेलुकीपख चिल्लो रोटी हाल्दछन् । घरमा पित्रसक (मृतक कुल वा पुर्खाहरू जो चुलोमाथिको भारमा बस्छन् भन्ने मान्यता छ । र तिनीहरूलाई हरेक चाँडपर्वमा चढाउनका लागि पहिल्यै जार अथवा लिस पित्रसक पकाउने गरिन्छ र त्यही जाँडको निङ्घारलाई लिसको रूपमा र खानलाई पकाइसकेको चिल्लेरोटीलगायतका खाने कुराहरू नखाँदै पित्रहरूलाई चढाउने गरिन्छ ।) हाल्छन् । र, घरको मुख्य पुरुष वा कन्या केटाले नुहाइधुहाई गरेर चार ओटा भलायोको पात वा भलायोको दाउराको आगोको राँको बनाउँछन् भने कतै कतै खर्सुङ वा बाँझको अगुल्टो पनि बनाउने गर्दछन् । ओखतीको रूपमा प्रयोग हुने झारजङ्गलहरू कुरिलो, युमे (बाँदर पुच्छर), भलायो, कुच्चर, कारजुङ, दाङरू जम्मा गर्ने गरिन्छ । भने सबै तयार भइसकेपछि घरको बाहिर अग्लो ठाउँमा एउटा राँकोलाई बाँध्दछन् । त्यसको मुनि नौरेखी नौबाटी राखेर बाँधेर राखेको राँकोलाई सेतो र रोतो जुङली धजा बाँधेर धुपधुवाँरसँगै रोटी र रक्सी चढाई पुज्छन् र बाँकी तीन वटा राँकोलाई सल्काएर कराउँदै तिनै दिशा उत्तर, पश्चिम र दक्षिणतिर फालिन्छ । राँको जति सकिन्छ उति टाढा फाल्यो भने उति ग्रहहरू शान्ति हुन्छन् भन्ने विश्वास र मान्यताले जति सक्यो उति नै कसेर फाल्ने गर्दछन् । कोही कोहीले अगुल्टो पनि फाल्ने गर्दछन् । यस्तो गर्नाले रोगव्यादि, ग्रहदशा लाग्दैन भन्ने परम्परागत मान्यता छ । भने कतैकतै लुतो फाल्ने पनि गरेको पाइन्छ । राँको फाल्दा कोही कसरी कराउँछन् कोही कसरी तर धेरै जसो यसरी कराउँछन् । ‘काना झे:, दुन्डा झे:, असान मसान, जिनै देसान, कन्थाबरन, दंकी, कोरो, कुलकपत, नौग्रहसोरो, कालजम, पार दुब्द चौगंगा सगाब्द लाङ्के ओ हो हो हो ।’ भनेर फाल्दछन् ।
नेपालीमा ‘एउटा आँखा नभएको मान्छेलाई सताउने राक्षस स्वभावको अदृश्य शक्ति, अपाङ्ग रागस शक्ति, अकालमा मरेका मृत आत्माहरूले अदृश्य शक्तिको रूपमा जिवित मानवहरूलाई सताउन भएको शक्ति, रगत रगत दिशा गर्ने रोग र रुघाखोकी, क्यान्सर र दम, कुष्ठरोग, मान्छेलाई मार्न तम्सेका अदृश्य शक्तिहरू, अरूबाट गरिएको तान्त्रिक छलहरू नौग्रह, सबै जम्मा गरेर चारैगङ्गा काटेर लैजाऊ ।’

यो एउटा मगरहरूको प्रकृतिप्रतिको समर्पण र पुर्खौदेखिको सामाजिक संस्कार पनि हो । राङ्ख्या/राँखे तिवार भूम्हेँसँगै जोडिएकोले केही ठाउँमा साउने सङ्क्रान्ति पश्चात भूम्हेँमा नाचिने नाचहरू पनि यसै सङ्क्रान्तिसँगै गरिन्छ । एक वर्षको भूम्हेँको अन्त्य पनि यसै सङ्क्रान्तिसँगै गरिन्छ । विशेषगरी रुकुमको तकसेरामा राँखे जात्राका नामले मेला लाग्दछ भने रोल्पाको वाखोला, सेरम घुस्बाङ, ह्वामा र धाँसीधबाङतिर राँखेतिवार रामको नामले लोकोबाङगे नाचहरू नाच्ने मेलाहरू लाग्दछन् ।

तिवार ठाउँअनुसार फरक फरक ढङ्गले मेलाहरू गरिन्छ । रुकुमको लुगुममा एउटा चौतारो छ जहाँ सबै मगर थरका झाँक्रीहरूले वर्षको पालोगरी एक एक पठाइन्छ । त्यसपछि जम्मा भएका झाँक्रीहरूले मेला बनाउँदछन् । यस मेलामा झाँक्रीहरूका सामान बोक्ने (चुन्मे अथवा झाँक्रीहरूका चेली बिहे गर्ने मान्छे) हरूले र गाउँका सबै उमेरका मान्छेहरू मिलेर ङन्तिराम (सिस्नु मेला) बनाउँछन् । सिस्नुलाई जसलाई पायो उसैलाई हान्छन् । साथै हिलोले छेपाछेप गरी हिलो मेला गर्ने चलन पनि छ । यो मेला रुकुमको मगर खाम बोल्ने समुदायमा गर्ने गरिन्छ । यसरी असार र साउनको सङ्क्रान्तिहरूमा भूम्हेँ अथवा बन (नाम) जमिन र म्हेँ (आगो)को पूजा गरी एक वर्षको भूम्हेँ पर्वको अन्त्य गरिन्छ ।


भूम्हे/भूमे र तिवारमा नाचिने लोको/नोकोबाङगे नाच :

बाङ भनेको चउर हो र लोकोबाङ भनेको नाच्ने चउर हो । कतै नोको(त्यहाँ)बाङ पनि भन्ने गर्दछन् । लोको/लोकोबाङमा नाचिने भएकोले लोको/नोकोबाङगे नाच भनिन्छ । तर अन्यातिर जानकारी गराइँदा भूमे नाच भन्ने गरिएको पाइन्छ । अठार मगरातका मगरहरू प्रकृतिपूजक भएकोले पनि उनीहरूको कला, संस्कृति र जीवन दर्शन पनि प्रकृतिसँगै गाँसिएको हुन्छ/छ । किनकि लोकोबाङ्गे शब्द पनि प्रकृतिसँगै गाँसिएको छ । नाचको नाम मात्र लोको/नोकोबाङगे र यसभित्र पनि विभिन्न प्रकृतिसँगै जोडिएको मानव जीवन यापनका क्रियाकलापहरूलाई नाचको रूपमा नाच्ने गर्दछन् । केही नाचहरू लोप हुँदै गइसकेका छन् भने ठाउँअनुसार फरक फरक नाचहरू छन् । खास गरी लोकोबाङ्गे नाच बाइस चाला (ताल) हुन्छ भन्छन् अग्रज मगरहरू तर अहिलेको अवस्थामा एक गाउँ वा ठाउँमा त्यति चाला नाचहरू भेटिँदैनन् र नाचिदैनन् । तर सबै गाउँ ठाउँका लोकोबाङगे चालाहरूलाई जम्मा गर्ने हो भने बाईस चाला होइन बाईस तियाँ छैसठ्ठी चालाभन्दा बढी चालाहरू निस्कने कुरामा भने विश्वास गर्न सकिन्छ ।

लोको/नोकोबाङगे नाच नाच्न महिला एक लाइन र पुरुष एक लाइन गरी दुई लाइनमा हुन्छन् । पुरुष भित्रपट्टि र महिला दाहिने पङ्क्तिमा हुन्छन् । मुर्लालाई बीचमा पर्ने गरी गोलाकार दाइनेबाट घुम्दै नाच्दछन् । भने पुरुषहरू खुट्टामा पैजन(पउ+जाने अथवा खुट्टामा राख्ने बाजा), चौबन्दी, खाडी, लालपटुका, बाङ्ग्रा, टोपी, लगाई कोठीमोहरा भिरेर नाच्दछन् भने महिला पनि त्यस्तै गुन्यू, चोली, पटुका, सुर (गाडा) रुमाल, इत्यादि लगाई आफ्नो औकातले भ्याएको परम्परागत गरगहनाहरू लगाएर पछ्यौरीको फुर्का नचाएर नाच्दछन् ।

 
अन्तमा :

राङ्ख्या तिवारको बारेमा छोटकरीमा यतिको कुरा राखिरहँदा साँच्चै मगरहरूको पुर्खाहरूले अलिखित तर जिवित साँस्कृतिक र इतिहासहरूलाई पुस्ताहस्तान्तरण आएको देखिन्छ । तर पछिल्लो समयमा केही शिक्षित व्यक्तिहरूबाटै यस्ता जिवित साँस्कृतिक र ऐतिहासिक पहिचानका कुराहरूलाई रुढीवादीको संज्ञा दिएर नामेट गर्न खोजेको पाइन्छ भने कसैले हाकाहाकी यिनै कुराहरूलाई मिथ्या र अन्य कुनै धर्मको लेपन लगाएर मेटाउन खोजेको पाइन्छ । त्यसै त दशवर्षे जनयुद्धको समयमा माओवादीहरूबाट हामी पुरानो संस्कृति ध्वंसकारी र नयाँ जनवादी संस्कृतिको निर्माणकारी भनेर जानाजान हाम्रो यस्त किसिमको जिवित संस्कार संस्कृतिहरू माथि खेलबाड गरियो र झन् पछाडि पारियो । भने पछिल्लो समयमा सामाजिक सञ्जालहरूले गर्दा अगाडि आउन खोजिएको लोपोन्मुख हाम्रो संस्कार संस्कृतिहरूलाई कोही कोही (विज्ञ तथा प्राज्ञिक वर्ग) बाटै अझै पछाडि पार्न खोजिएको त होइन भन्न भान हुन्छ । तर यस्ता कुराहरूको हामी शिक्षित युवा पुस्ताले डटेर सामना गर्न सक्नु पर्दछ । हाम्रो अलिखित सांस्कृतिक र ऐतिहासिक कुराहरूलाई दस्तावेजीकरण गर्न अगाडि बढनु पर्दछ ।

जधो ! ०००