के हुन्थ्यो
पृथ्वीमा रगत नभएको भए ?
पृथ्वीमा अर्को समुद्र छ— रगतको
जो सबैभन्दा ठूलो छ
जो सबैभन्दा गहिरो छ
नुनिलो त यसै पनि छ— यो महासागर पनि ।
यसको मूल—मुहान
हिमालय शृङ्खलाका खोँचहरू होइनन्
तरल—सरल भएर पनि
बग्न जान्दैन कन्दरा, टार, फाँट र मैदान भएर
यो बाफ बनेर उड्न सक्दैन हावासँग ।
उद्विकासको क्रमभङ्गतामा
अनेकन् कालक्रमिकतामा
निरन्तरतामा
केवल निरन्तर निरन्तर
यो फुटिरहन्छ र फैलिरहन्छ गुणात्मकतामा ।
त्यसैले थाहा छैन के हुन्थ्यो
पृथ्वीमा रगत नभएको भए ?
रगत नभएको भए
जरुर आँसु हुने थिएन
पिसाब हुने थिएन
र हुने थिएन संसारमा दुःख ।
रगत नभएको भए
कुनै जातधर्म हुने थिएन
कुरुक्षेत्र, महाभारत, देवासुर सङ्ग्राम हुने थिएन ।
रगत नभएको भए
कुनै राज्य हुने थिएन
नक्सा, सिमाना र शासन रहने थिएन
र बन्ने थिएनन्— पुलिस, प्रशासन र कानुनहरू ।
रगत नभएको भए
मान्छे हुने थिएन
र मान्छे नै नभएको भए ?
मान्छे एक पदार्थ हो
अवधारणा र विचार हो एउटा
रगतको महासागरमा मात्र एउटा फोका हो
एउटा सानो कालखण्ड हो— एउटा मान्छेको आयु ।
तर यही कालखण्ड
इतिहासको एउटा अध्याय हो
जो लेखिन्छ
रगतकै मसीमा तरबार चोबेर ।
रगतको आलो गन्ध छ इतिहासमा
वर्तमानले रगतकै सिमाङ्कन गरिरहेछ
र चलाइरहेछ रगतकै कित्ताकाट ।
अवश्यम्भावी छ
कि भविष्य पानीविहीन हुनेछ ।
०००
यस कविता कवि प्रेमप्रकाशको हालै प्रकाशित ‘रगतको तर्पण’ कवितासङ्ग्रहमा छ । जम्मा ४२ वटा कविताहरू रहेको उक्त सङ्ग्रह १३६ पृष्ठको रहेको छ । ३३३ रूपैयाँ मूल्य रहेको यस कवितासङ्ग्रह बी. एन. पुस्तक संसारले प्रकाशन गरेको हो ।
