म भदौरे भेल
उर्लिनु छ, कुर्लिनु छ,
देखाउनु छ– म कतिको शक्तिशाली छु भनेर
अरु महिना
कहाँ छ र मेरो महिमा ।
म तिर्तिरे धारो
कराउनु छ, हराउनु छ
सुनाउनु छ– म पानी हुँ भनेर
म बहिरो
समुन्द्रझैँ कहाँ छु र गहिरो ।
म मौसमी झारजङ्गल
आफ्नै शुभमङ्गल
रामिनु छ, ज्यामिनु छ
जनाउनु छ– आफ्नो प्रगतिको अङ्कगणित
म बुझ्दैनँ जीवनको कोमलता
म कहाँ खोज्छु र पिपलुवरको शितलता ।
मलाई लाग्छ–
दुनियाँ मलाई हेर्दै छ,
म मख्ख छु
तर दुनियाँ मलाई होइन
मेरो रमिता हेर्दै छ
म भने
गर्विलो हुँदै, इर्ष्यालु हुँदै
रवाफले उन्मादले
मेरा…. कन्तुरका ताला फोर्दैछु ।
०००
