नेपालको विभिन्न जातीहरूमध्ये मगर जाती आफ्नै किसिमको भाषा¸ धर्म¸ संस्कृति बोकेको जाति हो । मगर जातले ठाउँ र भूगोल अनुसार धेरै प्रकारका संस्कृतिहरू मनाउँदै आएको छ । नाचगान¸ रमाइलो¸ मेला¸ धार्मिक पर्वदेखि लिएर पूजाआजाको कुराहरूमा मगर जातीले बेग्लै संस्कृतिको विकाश परापूर्वकालदेखि नै गर्दै आएको छ । यसमध्ये नेपालको मध्यपश्चिम अथार मगरात क्षेत्रअन्तर्गतका मगर समुदायमा ‘माघे सकराती पर्व’ आफ्नै तरिकाले मनाउने गरिन्छ । यस पर्वको विभिन्न पक्ष मिसरा बाड्ने (चेली पुज्ने)¸ तारो हान्ने¸ स्याम्भो गाउने, ज्यानादा बाने (वनभोज खान जाने) र लिसक बाँड्ने पर्छ ।
माघे सकराती पर्वको उत्पत्ति कसरी, किन भयो र पुतली किन जलाइन्छ ?

तस्वीर पत्रकार वर्षा मगरबाट
उहिले सत्ययुगमा माघे सकरातीको दिन लुगुम गाउँ छेउको खोला जहाँ समथर भागमा तलाउजस्तै बनेको थियो । त्यहीँबाट बालक रोइरहेको आवाज गाउँलेहरूले सुनेछन् । कसको बच्चा रहेछ ? किन रोइरहेछ? भनेर गाउँलेहरूले हेर्न जाँदा तलाउको बीच भागमा एउटी बालिका रोइरहेको देखेर तिमी को हौ? कसको बच्चा हौ? भनी सोध्दा बालिकाले म पुतलीरानी हुँ । म बिना आमाबाबु यही जलमा उत्पत्ति भएको हुँ । मेरो एक वर्षपछि मृत्यु हुनेछ भनेर भनिन् । गाउँलेहरू छक्क परेर बालिकालाइ पानीबाट निकाली गाउँतिर लगेछन् । बालिका देवत्व भएकाले छिटोछिटो हलक्कै बढ्न थालिन् । यसरी दिन हप्ता महिनाहरू बित्दै गए । माघे सकराती आउनै लाग्दा पुतलीरानीले म जन्मेको दिन अर्थात् माघे सकरातीको दिन बिहानै शुद्ध जलले स्थान गरी छोरीचेलीलाई माइतीले मिसरा (चामल, तरुल, फलफूल र दक्षिणा सहितको टपरीमा राखिएको कोसेली ।) दिएर पुजेमा पाप नष्ट भई धर्म¸ पुण्य प्राप्त हुनेछ । चेलीहरू पनि मिसरा सेवन गरेमा पापबाट छुटकारा पाई मुक्ति हुनेछ । तर मिसरा माइतीले सेवन गर्नु पाप हुनेछ भनेर सल्लाह दिइन् ।
पुतलीरानीको सल्लाहअनुसार माघे सकरातीमा बिहानै शुद्ध जलले स्नान गरी सबै चेलीहरूसहित पुतलीरानीलाई पनि मिसरा लगी गाउँका माइतीले पुजे । माघे सकरातीको दोस्रो दिन गाउँका सबै चेलीहरू साथै पुतलीरानी पनि माइतीले दिएको सामान लगी गाउँको छेउमा रहेको खोला किनारमा गएर मिठामिठा खानेकुराहरू पकाई नाचगान रमाइलो गर्दै खाए । जब बेलुका भयो घर फर्कने बेलामा अचानक पुतली रानी सिकिस्त बिरामी भई मर्न लागेपछि साथीहरू आत्तिएर दुःखी भई रोएर आलापविलाप गर्न लाग्दा पुतलीरानीले अब मेरो मृत्यु हुनेबेला भयो¸ चिन्ता नलिनू । बरु हरेक वर्ष यही समयमा कपडाबाट मेरो स्वरुप बनाई चलाइदिनु भनिसकेपछि उनको मृत्यु भयो । पुतलीरानीलाई खोलामा लगी जलाइयो । यसरी पुतलीरानीको सल्लाह अनुसार हरेक वर्ष माघे सकरातीको दिन बिहान चेलीहरू पुज्ने दिउँसो तारो हान्ने र स्याम्मु गाउने गरिन्छ ।
दोस्रो दिन पुतली रानीको सम्झनामा पुतली बनाई ज्यानादा बाने काम गरिन्छ । तेस्रो दिनदेखि माइती पक्षलाई विवाहित चेलीहरूले लिसक पुर्याउने चलन छ भने अविवाहित कन्या चेलीलाई । लिसक भनेको घरमा बनाएको रक्सी जो माइतीलाई बुझाइन्छ । यसरी माघे सकराती पर्वको उत्पत्ति भएको हो ।
ज्यानादा बाने : त्यसभित्रका धामा/क्रियाकलापहरू
माघे सकराती पर्वको विभिन्न क्रियाकलापहरू मिसरा बाड्ने (चेली पुज्ने)¸ तारो हान्ने¸ स्याम्भो गाउने, ज्यानादा बाने (बनभोज खान जाने) र लिसक बाँड्ने मध्ये ‘ज्यानादा बाने’ संस्कृतिमा मानवको जन्मदेखि अन्तमा मृत्यु हुने कुराको अथवा मानव जीवनचक्रसँग सम्बन्धित छ । यसमा मृत्यु संस्कारमा के कस्तो गरिन्छ सबै देखाइन्छ । अर्को कुरा माइती पक्ष र चेलीको बीचको माया ममता सम्मान कसरी गरिन्छ देख्न सकिन्छ ।
यस ज्यानादा बाने संस्कार सम्बन्धमा नयाँ पिढी प्रायः धेरैलाई रमाइलोको लागि मात्र सहभागी हुने थाहा छ । किन र कसरी सुरु भयो? भन्ने विषयमा थाहा छैन । यसैले मैले यस विषयमा चासो राखी धेरैजनासँग जिज्ञासा राख्दा दुई तीन जनाले मात्र भन्न सक्नुहुन्छ । यस्तै हो भने कालान्तरमा गएर यो ‘ज्यानादा बाने’ संस्कार पनि लोप भएर जाने सम्भावना छ । त्यसैले समयमै यसलाई अभिलेखिकरण गर्ने योजनामा छु । यसमा सम्पूर्ण मगर संस्कृतिप्रति चासो राख्ने विद्वान वर्गले साथ दिनुहुनेछ भन्ने आशा राख्दछु ।
‘ज्यानादा बाने’ क्रममा बिहान चेलीहरू आ-आफ्ना समूहमा खानेकुराहरू जम्मा गरेर खोलाको किनारमा जान्छ । त्यहाँ धेरै समूहरू भेला भएपछि मिठामिठा खानेकुराहरू जस्तै जानेको रोटी पकाउने¸ भात पकाउने¸ मुख्य त यस पर्वमा सुंगुरको मासु विशेष प्राथमिकतामा पारी कुण्डुले बनाउने चलन छ । साथै कुखुरा¸ राँगाको मासु पनि पकाइन्छ । यो कुण्डुले भने नचाहिनहुने परिकार हो । कुण्डुले भनेको सुँगुरको मासु जो करङसहित छाला मासुसहितको ठूलो टुक्रा हो । यसरी सबै परिकारहरू पकाइसकेपछि कसैले पुतलीरानीको स्वरुपलाई सजाउने गरिन्छ । जब सबै जनाले खानपिन गर्न थाल्छन्¸ गाउँबाट जोगीको भेषधारण गरी मुखमा मुकुण्डो लगाई ठटेउली पारामा आई खानेकुराहरू लुटेर खाइदिने साथै केही उच्छृङ्खल कार्यहरू गर्ने गरिन्छ ।
चेलीहरूले जोगीको मुख हर्न तथा चिन्नलाई प्रयास गर्छन् । तर जोगी बचेर आफ्ना क्रियाकलापहरू दोहोर्याइरहन्छ । जबसम्म जोगीको पहिचान हुँदैन तबसम्म यो काम भइरहन्छ तर जोगीको मुखको मुकुण्डो खोस्न सफल भएमा यो काम रोकिन्छ । अन्तमा सबैले खानपिन गरिसकेपछि पुतलीरानीको लासलाई रूवाउने काम गरिन्छ । यसमा दमाईहरू पनि बोलाइन्छ । बाजा बजाई मलामी गएर अन्तमा खोलामा लगी जलाइन्छ । यहाँ कुनै चेलीबेटीको आमाबाबा तथा आफन्तहरूको निधन भएको रहेछ भने आफ्ना मान्छेलाई सम्झेर बिलौना काटी रुने गर्छन् । उनीहरूलाई सम्हाल्न नै धेरै कठिन हुन्छ । यसरी यस वर्षको लागि ज्यानादा बाने काम सकिन्छ । र अन्तमा सबै आ-आफ्ना घर फर्कन्छन् ।
०००
यो पनि पढ्नुहोस्ः
