अघि हाम्रा बाउहरूले
पाँचमोहर दाम सुर्केथैलीमा च्यापेर
नाङ्गो शरीर भारेडोको बोकेर
पिस्दै खुट्टाले गेग्य्राने बाटाहरू
नाघ्दै आफू बराबरका बुट्यान र पाटाहरू
चपाउँदै कँड्यानभित्रका काँडाहरू
धकेल्दै घाम छेक्ने डाँडाहरू
ऐश्वर्यको सितन नून बोक्नलाई
तिम्रो आँगनमा पुग्दा हाम्रा ‘पर्वतेहरू’
तिमी गजक्क फुलेका थियौ रे अहङ्कारले
छातीभरि नुन, गुड र सिद्राका दोकानहरू थापेर ।
तिमीले खोसेका थियौ रे
कलौटी बहिनीका हातबाट
टिनभरिको घ्यू
तिमीले लुटेका थियौ रे
जैमले राँहिलाको भारीबाट
टिमुर, मालागिरी र दालचिनीका सुगन्धहरू ।
सुक्का धार्नीको भाउमा नुन दिन्छु भनेर
एकखोची बिडी चुसाएर
मोहर धार्नीको दरले नून थपाउँदा
भारी नपुगेर
झारेको थियो रे नुनपानी आँखाबाट
माल्केनीको आधा सोली नुनको थैलो समाएर छन्चरे जेठो
कोइलाबास खोलाको रहलाई विरह सुनाउँदै ।
भुरैया थारुको राँगाले बोकेको भारीबाट
लुटेका थियौ रे तोरी र मसुराका पसिनाहरू
एकचिलिम माखुर र एकसेर गुरको भाउमा
रोएथ्यो रे भुरैया ठूलो ढुङ्गामा बसेर भुडी ठटाउँदै
धौले पुनको भारीबाट
खोसेका थियो रे चिराइते र पाँचऔंलेका मुठाहरू
‘अरे भैया तिमी त चिनारु बाजेका नाति हौ’ भनेर
बिचरो धौले रोएछ
रापतीमा अलिकति आँसु चढाएर ।
लुटेथ्यौ मुग्लानी बुधेको वर्षदिनको कमाइ
च्यातेर अस्कोटको गोजी
बयरी काँडाले झैं चिथरेर उसको गुराँसे अनुहार
त्यही शुद्धबार बुधबारमा
रित्तो बुधे रोएथ्यो रे
बुढो साजको रुखको बुटोलाई समातेर ।
नुन लिन ऊन लिएर झरेका पर्वत किन्नरीहरूलाई
जबरजस्ती लुटेका थियौ उनीहरूका सुन्दर छालाहरूलाई ।
कोइलाबास !
हिजो घमण्डले फुलेका थियौ
छातीभरि नुन थापेर, आजको सिंहदरबारको कुर्सीझैं
सम्झेनौ कहिले नुन पनि फुट्नुपर्छ भनेर
सम्झेनौ कहिले नुन पनि बिलाउनुपर्छ भनेर ।
हजारौं हटारु र बटुवा लुटिएको क्रन्दनलाई
कहिले सुन्न सकेनौ बहिरो कुर्सीले झैं
आज
आकाश छुने इरादाले
अग्लदै गरेका लुट र झुटका महलहरू हो !
सुत्केरी बिरालोले पाठा सारेझैं
लुटको कमाइ र झुटको जमाइलाई लुकाउन
सार्दैछौ अँध्यारा खोपीहरूमा ।
यादगर ! भोलि जनआक्रोशले
ढालिदिनेछ कुनै दिन
एउटा निर्जीव इतिहास बोकेको भग्न कोइलाबासजस्तै ।
०००
