गेथाती

सरस्वती पौडेलका चार मुक्तकहरू

सरस्वती पौडेल
२० आश्विन २०८१, आईतवार

मुक्तक–एक

छिट्टै फर्की आफ्नै देशमा आउनू है
चट्ट काली लगाई केशमा आउनू है
पर्खी बसेकी छु बाटो हेरेर तिम्रै
लिन छिटो बेहुलाको भेषमा आउनू है ?

मुक्तक–दुई
सन्तान परदेशमा बाआमा रुँदै होलान्
कहिले आउँछन् भनी बाटो हेर्दै होलान्
कति दशैँ आएर जान्छ प्रदेशलाई थाहा हुन्न
घरमा बाआमा आँसुले आँखा धुँदै होलान् ।

मुक्तक–तीन
दशैँ आ’को बेला दशा नबनोस् यो साल
सबैसबैको उन्नति प्रगति होस् यो साल
घरघरमा सुख शान्ति समृद्धिले छाओस्
परदेशीले चाहेको हर कुरा पुगोस् यो साल ।

मुक्तक–चार
किन मेरा रहर सधैँ यसरी टुट्ने भए दिदी
अब पनि आँखामा मूल फुट्ने भए दिदी
जहिल्यै आउँछु भन्ने कहिल्यै आउनुहुन्न
सधैँ यसैगरी धेरैवटा दशैँ छुट्ने भए दिदी ।

०००
ओखलढुङ्गा

TAGS: नेपाली मुक्तक मुक्तक