अब म तीन कक्षामा पढ्ने भएँ । दिदी सात कक्षामा पढ्छिन् । तर दिदी पढाइमा तेज छैनिन् । त्यसैमा पनि घरको सबै कामकाज दिदीको काँधमा परेको छ । बुबा घरमा नहुँदा दिदी नै खाना पकाउँछिन् । बुबा घरमा हुँदा भने भान्छा उहाँले नै सम्हाल्नुहुन्थ्यो ।
मलाई भने पढ्ने, खेल्ने, खाने र तलको पँधेराबाट चिसो पानी ल्याउने जिम्मेवारी छ । त्यो पँधेराको पानी साँच्चै शीतल लाग्छ—शिर चिस्याउने, आत्मासम्म शान्त पार्ने !
एक दिन स्कुलबाट फर्केपछि खाजा खाएँ । सानो हत्तर समाएर पँधेरातिर लागेँ । पँधेरामा धनचरीसँग भेट भयो ।
धनचरी एउटी बुहारी उमेर कटेकी, झिनो जीवन बाँचिरहेकी महिला हुन् । न आफ्नो भन्नु कोही छ, न टेकेर बस्ने घर । उनको घर पँधेराको छेउको त्यो पुरानो पिपलको रूख हो—आँधी, पानी, असिनापात, चिसो, घाम सबैको साक्षी बनेर उभिएको !
उनको सम्पत्ति ? एउटा रायडोको, जसमा जीवनका केही थन्क्याइएका सामान छन् । त्यहीँ डोको बोकेर गाउँ गाउँ डुल्छिन्—माग्दै, बाँच्दै । सिङ्गो गाउँले उनलाई चिन्छन्—केटाकेटीदेखि बुढाबुढीसम्म सबैकी प्रिय ‘धनचरी दिदी’ ।
“ए धनचरी दिदी, तिमी आज गाउँतिर गइनौ ?” म सोध्नै पुग्छु ।
“नानी, आँखा अति दुखेको छ । हिजोदेखि भोकै छु । उठेर जानै सकिरहेको छैन ।” उनको स्वर भिजेको, गला चिरिएको थियो ।
“लौ त, पानी खाऊ, आँखा पनि धोऊ ।”
उनले पुरानो भाँडो थापिन् । मैले हत्तरको पानी खन्याइदिएँ । उनले घटघटी पिइन् । कति तिर्खा लागेको रहेछ ! मुख धोएपछि थोरै ताजगी झल्कियो । तर थकित आँखाले अझै पीडाको रेखा बोकेको थियो ।
म घर फर्केँ । पाकेको खानेकुरा खोजेँ । खाली हात लाग्यो । पैसा पनि भेटिएन । साँझ बुबा आएपछि मात्र रोटी र तरकारी पकाउनुभयो । भोक त थियो, तर धनचरी दिदीको पीडाले मनै बुझेन । थोरै मात्र खाएँ । रातभर निद्रा लागेन । उहाँको अनुहार झल्झली आइरह्यो । उहाँको भोक, पीडा, आँखा दुखाई मेरो आँखामा घुमिरहे ।
भोलिपल्ट बिहानै बुबासँग एक रुपैयाँ मागेँ र नजिकैको पसलमा गएँ । त्यहीँ एक रुपैयाँको आँखाको औषधी लौकी किनेँ । हाम्रो आँखा दुख्दा आमाले यहीँ लगाइदिनुहुन्थ्यो ।
पिपलको रूखमुनि पुग्दा धनचरी लखतरान परेर सुतिरहेकी थिइन् ।
“ए धनचरी दिदी !”
“हजुर नानी ।”
“आँखा सन्चो भयो त ?”
“झन् धेरै दुखेको छ आज । भोक पनि बढेको छ नानी ।”
“लौ त, यो औषधी लगाऊ, सन्चो होला कि !” मैले लौकी राखिदिएँ । आशा गरेँ—यो औषधीले चमत्कार गरोस् । उनको आँखामा उज्यालो टल्कियोस् ।
साँझ फेरि पँधेरातिर जाँदा धनचरी दिदी देखापरिनन् । सायद गाउँतिर गइहुन् । मनमा खुल्दुली लागिरह्यो । आँखा सन्चो भयो कि नाइ भनेर तर भोलिपल्ट स्कुलमै आइपुगिन्, उनी !
“सारा केटाकेटी खुसी । मलाई त स्वर्गीय आनन्द !” अफिस कोठाको ढोकामा उभिएर भनिन् ।
विष्णु सर हाँस्दै भन्नुभयो—“लौ धनचरी त अब स्कुलै आउन लागिन् । स्कुलमा तिमीलाई दिने केही छैन हेर !”
हेडसर पनि बाहिर निस्कनुभयो ।
“के भयो धनचरी ? तिमीलाई कसैले जिस्कायो कि ?”
“हैन मास्टर बाबु, म त यहाँ केही कुरा भन्न आएकी ।” धारामा भएको सबै कुरा उनले भन्न थालिन् । मैले दिएको पानी, औषधी, माया सबै वर्णन गरिन् ।
सबै केटाकेटी बाहिर निस्किएर उनलाई घेरे । हेडसर मुसुमुसु हाँस्दै भन्नुभयो—“ए, तिमी त यहीँ भन्न आ’की रहिछौ ?”
“हो बाबु ! यी नानी त बडो ज्ञानी रहिछन् । बिचरीकी आमा छैनन् । यिनलाई त भगवान्ले ठूली बनाओस् भनेर आशीर्वाद दिन आएकी । मेरो आशिर्वाद लागोस्, भगवतीको कृपा होस् ।”
त्यसपछि धनचरी बिस्तारै हिँडिन् । उनको स्वर हावाजस्तै हलुका भएर गयो त्यो क्षण ।
चार बजे स्कुल छुट्टी भयो । म घर फर्केँ ।
अर्को दिनको प्रार्थनामा हेडसरले घोषणा गर्नुभयो,
“प्यारा भाइबहिनीहरू ! सीताले कति राम्रो काम गरिन् । हामी सबैले सुनेकै छौँ । कुनै पनि अशक्त, अनाथ, रोगी वा वृद्धप्रति घृणा होइन, माया गर्नुपर्छ । सीताजस्तै मेरो विश्वास छ, हाम्रा सबै विद्यार्थीहरूले पनि यस्तो सत्कर्म गर्नेछन् ।”
मलाई मन्चमा बोलाइयो । निधारमा रातो टीका लगाइयो । एउटा कापी र पेन्सिल दिइयो । हेडसरले मलाई एकचोटि उचालेर फुरुङ्ग बनाइदिनुभयो ।
म त धनचरी दिदीलाई सहयोग गर्न चाहन्थेँ मात्र । तर यो कार्यले यस्तो गहिरो प्रभाव छाड्न सक्छ भन्ने मलाई त्यस दिन थाहा भयो ।
यो कुरा त फूलको सुवासजस्तै गाउँभरि फैलियो । सबैले प्रशंसा गर्न थाले । म घर गएँ । बुबालाई मेरो पुरस्कार देखाएँ ।
बुबाले म्वाइँ खानुभयो, मलाई अँगालो हाल्नुभयो । केही नबोली आँखाबाट बर्र आँसु बगाउनुभयो ।
सबै हाँसिरहेका थिए तर बुबा किन रुन्दै हुनुहुन्थ्यो ? त्यो कुरा मैले अझै बुझ्न सकिनँ ।
राधा गौतमको हालै प्रकाशित ‘अभ्युदय’ उपन्यासभित्रबाट ।
