अग्ला अग्ला छन् घरहरू
बुट्टेदार र बान्की परेका छन् झ्यालहरू
कालो र चिल्लो सडक आँगनबाटै बगेको छ ।
आँगनमा छ सेतो सफारी कार
छतमा फुलेका छन् रङ्गीविरङ्गी फूलहरू
सुन्दरताले भरिपूर्ण स्वर्गझैँ सजेको छ ।
सफा र चिरिच्याट्ट लगाएका छन् वस्त्रहरू
सुनझैँ महङ्गा छन् बोलीका लवजहरू
यत्ति त रहेछ साँचो सुख र समृद्धि भन्ने परेको छ ।
पुतलीझैँ छन् नानीबाबुहरू
अप्सराझैँ छन् घरका स्त्रीहरू
इन्द्रकोझैँ ठाँटमा देखिन्छन् लोग्ने मान्छेहरू
मानौँ स्वर्ग-गङ्गा घरको जग भएर बगेको छ ।
अग्ला घरमुनि ज्यामीका रगत र पसिना
बुट्टेदार झ्यालसँगै सिकर्मीका श्रम र सीप
कालै पोतेर श्रमिकको ज्यालामा सडक हाँसेको छ ।
पट्पट् फुटेका पैतालाले चम्काएको कार
र पेट धान्न धौधौ मालीले भोकै हुर्काएका फूलहरू
मात्र देखिन्छन् दृष्यमा, देखिँदैनन् तिनीहरू
र कसैले भन्दैन – यस्तो समय पनि टरेको छ
शहरले रहर मात्र उत्पादन गर्दैन
कहर पनि सँगसँगै बर्साउने गरेको छ ।
०००
