गेथाती

भत्किएको देवल

दिलकर्ण बुढामगर
१७ कार्तिक २०८०, शुक्रबार

म तिम्रै छेउछाउमा छु देखेनौ
सायद हेर्नै मानेन तिम्रो आँखाले
आसपासमै छु छोइएलाझैँ पनि तर छोइएनौ
म एउटा रूखमुनि तप्केनी सहेर नसप्रेको बिरुवाजस्तै
तिमी खर्कको मलले हलहल बढेको ठेरुवाजस्तै

जसरी बिर्सियौ तिमीले मलाई
उकालो लाग्दा प्यास सेलाएको जरुवाको पानीजस्तै,
बाटोमा छोडिएका पाइलाका छापजस्तै,
जाडो धपाउन बालेको आगोको रापजस्तै,

वर्षाको भेल अनि बाढी सहेर नदिको किनारामा
फालिएको चिल्लो ढुङगाजस्तै म,
बासना दिँदै फुलेको भुँइपाती र नारासुगुन बोटबाट
चुँडिएको थुङ्गाजस्तै,
तार चुँडिएको सारङ्गी र टुङ्नाजस्तै,
कुनामा फालिएको पुरानो किताबको थाङ्नाजस्तै,

भत्किएको देवलमा पनि देवताको बास हुन्छ
आऊ पुज जहाँ भगवान्‍को आभास पाउनेछौ
धुलो टकटक्याई हेर यहाँ ज्ञानको कास पाउनेछौ
तार जोडेर सुम्सुम्याऊ सुमधुर स्वरको सास पाउनेछौ
चुडिएको फूल सदैव कोठामा सजाऊ बास पाउनेछौ
चिल्लो ढुङ्गालाई आकार देऊ जीवनको खास पाउनेछौ ।
०००
रुकुमपूर्व