गेथाती

म मान्छे

याङो श्रो मगर
५ आश्विन २०८०, शुक्रबार

रिस आउँछ जान्छ
म पछुताउँछु,
धिक्कार्छु
सजाय हुन्छ
गाली झम्टिन्छ ।

जानीजानी अझसम्म कसैमाथि रिसाएको छैन
जानीजानी क्रोध जन्माउन सकेको दिन
म मान्छे हुनेछु
अहिलेसम्म त म रिसको चौकीदार मात्र हुँ
रिस म हैन, मेरो होइन।
खुसी आउँछ जान्छ
म कल्पिन्छु ,
बहकिन्छु
वा वा हुन्छ
ताली रन्किन्छ।


जानीजानी रमाउन अझसम्म सकेको छैन
जुन दिन आँसुको थोपामा मुस्कान फुलाउन सक्ने छु
त्यो दिन म मान्छे हुनेछु
अहिलेसम्म त खुसीको निधार मात्र हुँ,
आकाश पहाड जोडिने भ्रमको क्षितिजमय धार हुँ ।
खुसी म हैन, मेरो होइन
पलपलको धड्कन
हरपलको स्वास
मायाप्रेम, लालच, घृणा … मायामी मन
रजौता शरीर राजमस्तिष्क
मसँगै शून्यबाट शून्यमै पुग्ने
आफू खुसी हराउने बिलाउने
स्वतन्त्र स्वाधिनहरू त एक अर्कामा पराधिन भई
हराउँछन भने
म म होइन
म मेरोमा चार हात उफ्रिएर
गर्विलो हुनै सक्दैन भनी बुझ्नसके
त्यो दिन म मान्छे होइन,
मान्छे हुनेछु।

०००